शान्ति कहिल्यै आउँदैन

पूर्ण गिरी-मेचिगन/अमेरिका

कवि

त्यहाँ शान्ति कहिल्यै आउँदैन
जहाँ पितालाई पर खेदी
मातालाई मिली चुस्छन्
अनि प्रेतहरूसित मिली
देवतालाई मास्न जुट्छन् !

जहाँ पिताको गाथा मेटी
पुत्रको वीरता लेखिन्छ
अनि पुत्रका ती नेत्रहरूमा
पिताको अपशेष मेटिन्छ !

जहाँ सबैको साझा उखेली
कसैको निजी रोपिन्छ
अनि एकताको प्रतीक मासी
दून्दको प्रतीक रोपिन्छ !

जहाँ अनुशासित हुन छोडी
स्वतन्त्र बन्न खोजिन्छ
अनि रगतको कर्तव्य नबुझी
रगतको हक खोजिन्छ !

जहाँ भ्रष्टको भाषण सुनेर
देवताको शासन छोडिन्छ
अनि आमाको रगत चुसेर
भ्रष्टको गोडा मोलिन्छ !

जहाँ एउटा सम्राट् मासेर
सयौँ बाषा जन्मिन्छ
अनि सिङ्गो राज्य टुक्रिएर
अनेकौँ टुक्रा बनिन्छन् !

जहाँ उद्योग धन्दा भुली
राजनीति मात्र गरिन्छ
अनि परोपकार गर्छु भन्दै
आफ्नै उपकार गरिन्छ !

जहाँ अबोधको धर्म लुटी
निर्मम हत्या गरिन्छ
अनि प्रमाण नष्ट गरी
विजय उत्सव गरिन्छ !

जहाँ भन्दा एउटा भनिन्छ
गर्दा अर्कै गरिन्छ
अनि केवल कुर्सी जोगाउन
झुटो प्रचार गरिन्छ !

जहाँ प्रकृति बाँझो राखी
स्रोत बाहिर बेचिन्छ
अनि मुखमा मिठा नारा
पारा अर्कै देखिन्छ !

जहाँ आमाको माया गर्दा
स्तनको लागि गरिन्छ
अनि मौसमी माया गरी
मायाको नाटक गरिन्छ !

जहाँ लेखमा मात्र फेरिन्छ
स्थलमा केही फेरिन्न
अनि गगनले दिए रोपिन्छ
गगनले नदिए रोपिन्न !

जहाँ राजनीति शुद्ध हुँदैन
राज्यको धर्म रहँदैन
अनि धर्मको मियो नरहे
राष्ट्रको प्रभुत्व रहँदैन !

जहाँ प्रकृतिको नियम मिची
भौतिकवाद लाद्न खोजिन्छ
अनि रामको सालिक झिकी
मार्क्सको राख्न खोजिन्छ !

जहाँ अर्काको कुरा सुनेर
आमालाई बोक्सी भनिन्छ
अनि बाबुलाई बेग्लै थुनेर
आमाको बलात्कार गरिन्छ !

जहाँ घरका बाऊ छोरा
केवल भित्र कराउँछन्
अनि सँदेरीले घर लुट्दा
बोल्न खुट्टा कमाउँछन् !

जहाँ धर्ती उजाड बनाई
आफू हरियो बनिन्छन्
अनि आमा रोगी बनाई
आफू बलियो बनिन्छ !

जहाँ देशको स्वस्थय शिक्षा
सबै व्यापारीकरण गरिन्छ
अनि निजीकरण गर्ने रोवरमा
प्रत्यक्ष भेदभाव गरिन्छ !

जहाँ विवेक नियत छैन
विचारले केही हुँदैन
अनि जति प्रयास गरोस्
शान्ति कहिल्यै हुँदैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *