शुभकामना, म फेरिँदै

राज बराल
पेन्सिल्भिनिया, अमेरिका

कयौँ भुल गरेँ
काँडाको अस्तित्वलाई बगैँचामा
स्वीकार गरेर,
दोषहरूलाई आँखाले आफू बन्द भएर
ज्योतिको विनाश गरिरहँदा
मेरो मनलाई लाग्थ्यो
जिउनु त काँडाले पनि छ, दोषले पनि छ
एकरत्ती सोचिन
यहाँ
काँडाले फूलमाथि शासन गर्दैछ
दोषले निस्कलंकता माथि………
अँह
कहिल्यै डाहा गरिनँ
न काँडाको न दोषको
२०१८ लाई बिदा गरिरहँदा
बल्ल मेरो अनुसन्धान टुंगियो

आफै स्वीकार गरेँ
म त साँच्चै निरीह रहेछ ।

काँडाका हिमायतीहरुले
मार्नु सम्म मारेछन् बुर्कुसी
मेरो निर्दोष टाउकामा
कुनै रङ्गशाला सम्झिएर
जसले जसरी पनि टेके हुने
कहिल्यै नबोल्ने बाटो सम्झेर ।

आज एउटा शपथ लिँदैछु
छातीमा हात राखेर
आफ्नै निरिहता विरुद्ध,
तलाउ त म हुँ
त्यसरी नै बाँच्नेछु
सुनसान….
तर
मेरो बाली नास्नेहरु विरुद्ध
प्रकोप बनेर गर्जनेछु ।

नव वर्षको शुभकामना
जसलाई प्रेम पाच्य छ

उनीहरूलाई पनि शुभकामना
जसलाई
प्रकोपले गाँज्दै छ २०१९ मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *