संगीत पारखी डम्बर खापुङसंग शिवलाल दाहाल

( पुनर्बासका क्रममा नेपाल छोडी अमेरिका हिड्न लागेका संगीत पारखी डम्बर खापुङसंग  शिवलाल दाहालले लिएको एक विशेष अन्तरवार्ता– सं. )

संगीतकार डम्बर खापुङको जन्म भूटानको साम्ची जिल्ला अन्तर्गत घुमाउने ब्लक, खरवन्दी गाउँमा ३ जुलाई १९७४ मा भएको हो । उनले ३ वर्षको कलिलो उमेरमा नै पितृशोकको पीडा भोग्नुपर्‍यो । बाबु दलबहादुरको मृत्युपछि आमा फोराङमाया सुब्बाले अनेक दुःख कष्ट गरेर छोरालाई हुर्काइन् । उनले प्राथमिक शिक्षा भूटानको घुमाउने जुनियर हाई स्कूलमा आर्जन गरेका हुन् । सन् १९९० को भूटानको प्रजातान्त्रिक आन्दोलनमा होमिएपछि किशोर अवस्थामै उनले देश छोड्नु पर्‍यो । त्यसपछि पनि उनले आफ्नो शिक्षालाई अगाडि बढाइरहे । सन् १९९९ मा परिमल मित्र स्मृति महाविद्यालयबाट उनले अंग्रेजीमा स्नातक उत्तीर्ण गरेपछि सिक्किमको लोयोला कलेज फर एजुकेशनबाट बी. एड. अध्ययन सम्पन्न गरे । यसै बीच १९९४ देखि १९९९ सम्म खुदुनावारी स्थित सनराइज  विद्यालयमा शिक्षक तथा स्रोत शिक्षकको रुपमा ६ वर्ष आफूलाई समाजसेवामा समर्पित गरे । सन् २००० मा सर्माङ लेउपानेकी तुला राईसँग विवाह बन्धनमा बाँधिएका खापुङ हाल एक सुपुत्रीका धनी रहेका छन् ।
मृदुभाषी, विनोदप्रिय खापुङको जीवनको अर्को एउटा महत्वपूर्ण पाटो हो संगीत । खापुङ भूटानका थोरै संगीतकारहरु मध्येका एक हुन् । झण्डै बीस वर्ष जति संगीत अभ्यासमा आफूलाई समर्पित गरेका खापुङसँग पूर्वीय तथा पाश्चात्य शास्त्रीय संगीतको राम्रो दख्खल छ । ‘भूटानी चित्कार’, ‘उजाड’ र ‘पल्सफोर’ जस्ता एल्बम मार्फत आफ्नो स्वर र संगीत दिंदै माथि उठेका खापुङ भूटानी समाजमा कुशल संगीतकार र गायकका रुपमा सुपरिचित छन् । १७ वर्षको लामो शरणार्थी जीवनपछि अमेरिकाको नर्थ डेकोटामा पुनर्वास हुन लागेका खापुङसँग गएको असार ३२ गते मैंले विशेष अन्तरवार्ता लिने अवसर पाएको थिएँ जसको केही अंश निम्न अनुसार छ:

  • तपाईंले संगीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म ६–७ वर्षको हुँदो हुँ, दाजुले नजिकैको भारतीय बजार केरनबाट अढाइ सयमा हार्मोनियम किनेर ल्याउनु भएको थियो । उहाँहरुले हार्मोनियम बजाउँदा कसरी बजाउनु पर्दो रहेछ भनेर नियालेर हेर्ने गर्थें । दाजुहरु कता कता गएका बेलामा मौका छोपेर हार्मोनियम बजाउन सिक्थें । विस्तारै मेरो हात बस्दै गयो । यो नै मेरो संगीत यात्राको पहिलो खुड्किलो हो । हाम्री भाउजु “सम्झेर बुझेर दिईहाल यो जोवन” भन्ने गीत साह्रै मन पराउनु हुन्थ्यो र बार बार त्यही गीतमा हार्मोनियम बजाउन लगाउनु हुन्थ्यो । त्यसबाट पनि मलाई अभ्यास   भयो । भूटानमा त्यो समयमा विहा–बटुलो, पूजा–आजामा भेला भएर गीत गाउने, वाद्यवादन बजाउने, नाच्ने र रमाइलो गर्ने चलन थियो । फेरि हाम्रो गाउँमा एउटा सानो क्लब पनि थियो जहाँ कङ्गो, दुकी तबला र हार्मोनियम जस्ता वाद्यवादन पनि थिए । त्यो क्लबमा म र दाजु जाने गर्थ्यौँ । म सानो भएको हुँदा टेबल मुनिबाट हात पुग्दैन थियो, टेबल माथि नै बसेर हार्मोनियम बजाउँथें । सवै खुशी हुन्थे, ताली मार्थे,मलाई बोकेर घुमाउने गर्थे । म धेरै उत्साहित हुन्थें । त्यो समयमा मैंले बजाउने धुन भनेको ‘मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रंगी इन्द्रेनी रानी ….’ हो ।

  • भण्डै ३० वर्ष अघिको कुरा होला । अहिले ३० वर्ष अघिको कुरालाई सम्झँदा कस्तो लाग्छ ?

त्यतिखेर म सानै थिएँ, संगीत साधनालाई निरन्तरता दिन्छु होला जस्तो लाग्दैन थियो । त्यो समयमा संगीतलाई मैँले रमाइलोको रुपमा बुझेको थिएँ । त्यो क्षण सम्झँदा एक किसिमको रमाइलो पनि लाग्छ, एक किसिम दुःख पनि लाग्छ । त्यो पललाई निरन्तरता पनि दिन सकिएन, देशबाट विच्छेदित हुनुपर्‍यो । देशभित्र भएको भए अझ धेरै गर्न सकिन्थ्यो कि ?

  • तपाईं स्कूलका कार्यक्रममा पनि भाग लिनुहुन्थ्यो ?

भूटानमा चाहिं लिइन  । भारतमा अध्ययनका सिलसिलामा भने सहभागी भएँ ।

  • तपाईंले भूटान कुन सालमा छोड्नु भयो ?

सन् १९९० मा दक्षिण भूटानका अधिकांश विद्यालय बन्द भए । त्यसपछि अध्ययनका लागि भारत लागें । शरणार्थी क्याम्पमा भने सन् १९९३ मा मात्रै दर्ता भएको हो ।

  • शरणार्थी क्याम्पमा तपाईंले सांगीतिक क्रियाकलापलाई कसरी बढाउनुभयो ?

संगीतमा एक चोटी लागिसकेपछि संगीतको नसा छोड्न सकिंदैन भन्ने सुनेको थिएँ । मेरो जीवनको गतिविधि हेर्दा त्यस्तै लाग्छ । रहर भनेको नमर्दो  रहेछ । शरणार्थी क्याम्पमा, संगीत कसरी सिक्ने भन्ने कुराले म पिरोलिइरहेको थिएँ । दाजु दिलिप भूजेलसँग भेट भयो । दिलिप दाइ दुकी तबला बजाउनु  हुन्थ्यो । हामीले सांगीतिक क्रियाकलापलाई अगाडि बढाउन सन् १९९४ मा ‘संगीत प्रयास क्लब’ को स्थापना गर्‍यौँ जसको सचिव पदमा मैँले काम गरें । त्यो समयमा संगीतप्रेमीहरुका लागि क्याम्प व्यवस्थापन समितिले पनि केही सुविधा उपलब्ध गराउँथ्यो । बेलुका बेलुका क्याम्प व्यवस्थापन समितिको एउटा कोठामा संगीत सिक्ने र गीत गाउने गर्न लाग्यौं । संगीत प्रयास क्लबमा धेरै संगीतप्रेमी साथीहरु थिए – कुमार गुरुङ, चित्र राई, पूर्ण विश्वा, सञ्चमान राई, बलराम गुरुङ, भरत विष्ट आदि ।

  • संगीत प्रयास क्लबले गरेका मुख्य काम के के हुन् ?

संगीत प्रयास क्लबले संगीत सिक्ने माहोल चाहिं निर्माण गरे जस्तो लाग्छ मलाई । त्यो समयमा भूटानबाट मानिसहरु धेरै पीडाहरु बोकेर आएका थिए, व्यथाहरुले छाति भत्भती पोलिरहेको   थियो । त्यो पीडा र व्यथाबाट एक छिन भए पनि बाहिर निस्केर संगीतको रमाइलोमा भुलिने अवसर मिल्यो । चाडवाडमा सांगीतिक कार्यक्रम आयोजना गरेर सांस्कृतिक जागरण गथ्र्यौं । नयाँ पिंढीलाई संगीत सिक्ने वातावरण प्रदान गर्‍यौँ । संगीतको अभ्यासले कुसंगति र कुबाटामा लाग्नबाट भाइबहिनीलाई जोगायो ।

  • तपाईंले कहाँ कहाँ गएर कस्तो कस्तो संगीत सिक्नुभयो ?

शुरुमा मैँले बिर्तामोडको ‘सृजना कला केन्द्र’ बाट पाश्चात्य शास्त्रीय संगीत (गिटार) र भोकल   सिकें । यो सन् १९९४ को कुरा हो । त्यसपछि बिर्तामोडकै ‘सनलाइट म्युजिक’ बाट भोकल र किबोर्ड सिकें । त्यहाँ सिकाउने गुरु हुन् – भीम केरुङ । समयक्रममा (सन् २००० मा) बी. एड. अध्ययनका लागि सिक्किमको लोयोला कलेज फर एजुकेशनमा भर्ना भएँ । संयोगले त्यहाँ संगीतका दुई मर्मज्ञसँग भेट भयो – फादर मेथ्यु र फादर हरि । वहाँहरु दुवैबाट एक वर्ष पूर्वीय शास्त्रीय संगीत सिक्ने सौभाग्य पाएँ । पछि जनकपुरमा गएपछि राजेशश्री संगीत महाविद्यालयबाट गुरु गोपालको सान्निध्यमा रहेर पूर्वीय संगीतको अध्ययनलाई फराकिलो पार्दै लगें ।

  • तपाईंलाई संगीतको महत्वपूर्ण पक्ष ९नष्कत० कोबाट पाए जस्तो लाग्छ ?

जनकपुरमा गोपाल गुरुबाट चाहिं संगीतको महत्वपूर्ण पक्ष सिकेको जस्तो लाग्छ । यद्यपि फादर मेथ्यु, फादर हरि,  विरेन्द्र सर खरसाङ र किरण रसाइलीप्रति पनि उत्तिकै अनुगृहित छु ।

  • तपाईंले वजाउने वाद्यवादनमा सवैभन्दा प्रिय चाहिं कुन हो ?

गिटार र हार्मोनियम दुवै राम्रो लाग्छ । तर हार्मोनियम पहिला सिकेको हुँदा मेरो पहिलो प्रेम त्यतैपट्टि छ ।

  • शुरुमा तपाईंले कु्न गीत गाउनुहुन्थ्यो ? तपाईंले आफैँ पनि रचना गर्नुभएको छ ?

शुरु शुरुमा मैंले रचना गरिनँ । अरुकै गीत गाउँथें ।
‘जुनि भरिलाई पीर सँगालेर, अब टाढा टाढा हुँदैछु,
काँडामाथि पाइला राखी विदा हुँदैछु …….’
यो गीत म धेरै गाउँथें ।

  • यो एउटा दुःख व्यक्त गर्ने गीत छ नि, होइन ?

हो । यसका पछाडि एउटा कथा छ । (त्यो पनि भनिहालूँ हगि) मेरा एकजना साथी थिए छत्र राई । एकै ठाउँ खाने बस्ने, तर एक दिन छुट्टिने बेला आयो । उनी अध्ययनका लागि दार्जिलिङ जाने भए म दिदी भेनाका तिर आलेपुर जानुपर्ने भयो । चेङमारीबाट लुक्सानसम्म बस स्ट्याण्डमा आउँदा उनले यो गीत गाएका थिए । उनकै सम्झनामा यो गीत गाइरहन्थें ।

  • क्याम्पमा भएका प्रोग्राम सम्झिनु पर्दा ?

‘अनि देउराली रुन्छ’ नाटकको मञ्चन अति रमाइलो लाग्छ । त्यो कार्यक्रम धेरैले मन पराएका थिए ।

  • शरणार्थी क्याम्पमा हुने प्रोग्राममा तपाईंको सहभागिता कस्तो रह्यो ?

संगीत प्रयास क्लबको स्थापना पछि हामीले धेरै कार्यक्रम गर्‍यौँ, त्यसमा मेरो प्रत्यक्ष संलग्नता थियो । शरणार्थी दिवस, अन्तर्राष्ट्रिय संगीत दिवस र बीच–बीचमा थुप्रै कार्यक्रमहरु आयोजना गर्‍यौँ । खुदुनावारी बाहेक टीमाई र बेलडाँगीमा पनि कार्यक्रम गरेका छौं ।

  • भूटानी गायक-संगीतकारहरुलाई कसरी सम्झनुहुन्छ ?

भूटानी संगीतकर्मीहरुमा प्रताप सुब्बा दाइ र किरण रसाइलीलाई लिन्छु । प्रताप दाइको गीत ‘बन्धनको चिनो . . . ’ अति मन पर्छ । प्रताप सुब्बा र किरण रसाइलीलाई अग्रज सम्झिन्छु र आदर पनि गर्छु । अरु पनि थुप्रै संगीतकर्मी मित्रहरु हुनुहुन्छ – एकराज घले, जीवन गुरुङ, डि. बी. रसाइली, विकास थुलुङ, बि. एम. थुलुङ, विष्णु मगर, आर. बी. घले, आइतराज तुम्बापो आदि ।

  • अहिले सम्ममा धेरै भूटानी गायकहरुका एल्बम निस्किएका छन् । तपाईंलाई मन पर्ने कुन होला ?

सवै एल्बमहरु राम्रै छन् । हामी आर्थिक रुपले कमजोर भएको हुँदा चाहे जति स्तर दिन सकिएको छैन । गीत-संगीत क्षेत्रमा उदाएका थुप्रै प्रतिभाहरु छन् – प्रताप सुब्बा, जोगेन गजमेर, बी. एम. थुलुङ, महेश थुलुङ, सुवास क्षेत्री, गोविन्द फुयल, राम गुरुङ, मनोज राई, वलराम गुरुङ, कुमार गुरुङ, मनमाया सुब्बा, कान्छीमाया सुब्बा, पवित्र रसाइली, रेश्मा राई आदि । यी सवैको उपस्थिति देख्दा खुशी लाग्छ ।

  • तपाईंको विचारमा संगीत भनेको के हो ?

मलाई संगीत भनेको जीवन (जन्म) देखि मरणसम्म चलिरहने प्रक्रिया हो जस्तो लाग्छ । मानिस जन्मँदा न्वारन आदि गरिन्छ । त्यहाँ पनि सांगीतिक माहोल नै हुन्छ । जवान भएपछि विवाह बन्धनमा बाँधिदा पनि संगीत कै प्रयोग हुन्छ । मानिस मरेर जाँदा शंख बजाइन्छ । प्राचीन कालमा शंखलाई पनि एउटा वाद्यवादनकै रुपमा लिइन्थ्यो । त्यसो भएको हुँदा संगीत जीवनभरि बगिरहने प्रक्रिया जस्तो लाग्छ ।

  • तपाईंको पहिलो रेकर्डेड गीत कुन हो ?

‘भूटानी चित्कार’ एल्बममा मैँले तीनवटा गीत गाएको छु । तीनै गीतहरु मेरा पहिलो रेकर्डेड गीतहरु हुन् ।

  • त्यसपछि तपाईंले निकालेका एल्बमहरु ?

‘उजाड’ र ‘पल्सफोर’ । उजाडमा सातवटा र पल्सफोरमा छ वटा गीतहरु गाएको छु ।

  • तपाईंले कतिवटा जति गीतमा संगीत भर्नुभएको छ ?

भूटानी चित्कारमा २ वटा, उजाडमा ५ वटा, पल्सफोरमा ७ वटा र अन्य ३ वटा ।

  • तपाईं आफैँले कतिवटा गीत रचना गर्नुभएको छ ? कुन गीत चाहिँ आफ्नै जीवनको प्रतिबिम्व हो जस्तो लाग्छ ?

मैँले रचना गरेका गीतहरुमा– उजाडमा रहेका ‘मानिसको जीवन हो यो’ र ‘धेरै चोटी मरी सकें’ अनि पल्सफोरमा रहेका ‘अँधेरी रात’ र ‘ . . . . . . ’ हुन् । ‘धेरै चोटी मरी सकें’ भन्ने गीतमा म आफ्नै जीवनको प्रतिबिम्वन भएको पाउँछु ।

  • तपाईंलाई मन पर्ने नेपाली-हिन्दी गायकहरु को को हुन् ?

नारायण गोपाल, प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, नरेन्द्र प्यासी, स्वरुपराज आचार्य, राजेशपायल राई, मधुकर लोहनी, दीप श्रेष्ठ, शम्भु राई, महेश बुढाथोकी आदि । हिन्दीमा राहत फत्ते अली खान, कैलाश खैर, सफत अली खान, सोनु निगम आदि ।

  • अहिलेसम्म गरेको संगीतबाट सन्तुष्ट हुनुहुन्छ ?

केही हदसम्म सन्तुष्ट छु । पहिला पहिला गरेका संगीत हेर्दा अझ राम्रो गर्न सकिन्छ जस्तो लाग्छ ।

  • तपाईंले लामो समयसम्म संगीत साधना गर्नुभयो, धेरै गीतहरुमा संगीत दिनुभयो । मूल्याङ्कन भए जस्तो लाग्छ ?

मूल्याङ्कन त के भयो भन्ने ? तपाईं नै पहिलो चोटि अन्तरवार्ता लिन आउनुभएको छ !

  • अहिले के गर्दै हुनुहुन्छ ?

अव मेरो अमेरिका हिंड्ने समय हुँदैछ। बिर्तामोडमा दुईवटा गीत रेकर्ड गर्न लागेको छु । त्यत्ति नै होला । घरमा चाहिं प्रत्येक दिन ३ देखि ४ घण्टा संगीत अभ्यास गर्छु ।

  • तपाईंको ईच्छा ?

पुनर्वास पछि पनि संगीत यात्रालाई निरन्तरता दिने । मैँले जानेको (सिकेको) संगीत यहाँका भाइ बहिनीलाई छोडेर जाने । त्यसका लागि साउन २ र ३ गते खुदुनावारीमा संगीत सम्बन्धि वर्कशप गराउन लागिरहेको छु ।

  • अरु केही भन्नु छ कि ?

सवैले संगीतलाई माया गरुन् र संगीत के हो भन्ने बुझुन् । यही भन्न चाहन्छु । मलाई सम्झेर तपाईं आइदिनु भयो । तपाईंलाई धेरै धेरै धन्यवाद ।

संगीतकार खापुङले ठूलो संघर्ष गरेर गीत संगीत क्षेत्रलाई माथि उठाउने प्रयत्न गरेका छन् । गायक-संगीतकार खापुङको मात्रै होइन भूटानी नेपाली गीत संगीत क्षेत्रमा उदाएका व्यक्तित्वहरुको अझैसम्म सही मूल्याङ्कन हुन सकेको छैन । शरणार्थी जस्तो विकल अवस्थामा पनि सांगीतिक क्षेत्रमा लागेर दुई –तीनवटा गीति एल्बमहरु प्रकाशन गर्नु सामान्य कुरा होइन । खापुङ संगीतकार मात्रै होइनन्, उनले आफैँ पनि शब्द रचना गरेका छन्, स्वर दिएका छन् । उनका गीतहरुमा काहीं न काहीं पीडा र दुःखको चेतना व्याप्त रहेको पाइन्छ । स्रष्टाहरुको सम्मान गर्न सकेन भने समाजले पनि उन्नति गर्न सक्दैन । खापुङसँग मैँले यो अन्तरवार्ता लिंदा उनी निकै दुःखी र खुशी पनि देखिन्थे । यत्ति लामो संगीत सृजनाको यात्रा गरिसक्दा पनि उनका बारेमा सोध्ने र बुझ्ने कोही नआएको उनी बताउँछन् । यो दुःख लाग्दो कुरा नै हो । यो पीडा उनीसँग मात्रै छैन, सवै भूटानी संगीतकर्मीसँग विद्यमान छ ।

अस्तु !
असार ३२ गते,२०६७

(द्रष्टव्य :– उनले रचना गरेका गीतहरु पछि सम्प्रेषण गरिनेछ ।)

2 Replies to “संगीत पारखी डम्बर खापुङसंग शिवलाल दाहाल”

  1. Debendra Khapung

    सम्पादक ज्यू
    अन्तर्वार्ता पढ् । धेरै राम्रो लाग्यो । शरणार्थीको संघर्षको पीडाले मलाई पनि छोयो । म डम्बर जी सँग फोनमै कुराकानी गर्न चाहन्छु । सम्पर्क गर्न सकिएला सकिन्त भने कृपया मेरो इमेलमा उहाँको सम्पर्क नं। छोड्नुहोला ।
    धन्यवाद ।

    Debendra Khapung Surkeli
    Kathmandu
    desunone@yahoo.com
    9804025775

Leave a Reply

Your email address will not be published. Required fields are marked *