सपना
हेमन्ता अधिकारी
अमेरिका
अमेरिका
बाल्यकालमा
चकले कोरी
स्कुलको वरिपरि
कसैले रोक्यो भने पनि
रङ्ग मिसाएर चित्र
कोर्न छोड्दैनौ
टाढा रहे नि
गाढा भए नि
वर्तमान अति गति छाडा
भए नि
कल्पनाको संसार भर्न छोड्दैनौ
लुकी लुकी धागोहरू चुनेर
डोरीले बुनेर
सियोले उनेर
बनाउँछौ एउटा सपना
जहाँ गए पनि
जुनै ठाउँ भए पनि
लाखौँ भीडमा नि टल्किन्छ
त्यही एउटा सपना ।
कहिल्यै रोक्दैनौ
टाउको ठोक्दैनौ
रोजी रहन्छौ
खोजी रहन्छौ
त्यही एउटा सपना
” सपना भनेको के हो ? “
सपना भनेको
सुकेको रूख को
ठूट्टोको जरामा पलाएको
कलिलो मुना जस्तो हो
सपना भनेको अन्धकारमा
धिप धिपी जुनकिरीको बत्ती
बाले जस्तो हो
सपना एउटा आशा हो
हिम्मत दिने भास हो
सपना
कस्तो सानु शब्द
तर यसलाई पुरा गर्न
बाल्यकाल देखि काल सम्म
जीवनको चक्रमा घुमी रहन
कसले सक्छ र ?
कसै कसैले मन्त्र पुरा
गर्न सक्छन्
बाँकी त सपनालाई सपना
भन्दै बस्छन्
पिढिँमा बसेर
आफ्नो टाउको धसेर
आरोप दुनियाँलाई लाउँछन्
भन्छन् कि –
” यो दुनियाँ मान्दैन
मान्छेले के भन्छन्
समाज मान्दैन
मलाई के ठान्छन्
यसले के भन्छ
त्यसले के गन्छ “
यो भन्दा भन्दै सपना
आफैँ भित्र सधैँ रहन्छ
मरी रहन्छ ।
कैले सोच्नु भको छ ?
कि जब तपाईँ आफ्नो
अन्तिम सास फेरी रहनुभको हुन्छ
आफैँलाई के भन्नु हुन्छ ?
के भन्नुहुन्छ ?
कि समाज मानेन त्यही भएर
मैले छोडेँ
दुनियाँ मानेन त्यही भएर
आफ्नो सपना तोडेँ
यो भन्नु हुन्छ ?
महासय तपाई के भन्नु हुन्छ
तपाईँ के बन्नु हुन्छ ?