समय र मान्छेहरू
समयको गतिशीलता । मान्छेहरूको दौडधूप । प्रतिस्पर्धै प्रतिस्पर्धा । अहो! समय र मान्छे, कति व्यस्त भएका होलान् । समय र मान्छेमा के भिन्नता छ भन्नु जस्तो ? धर्तीलाई जति हतार हुन्छ अक्षयरेखामा परिभ्रमण गर्न त्यति नै हतार हुन्छ, मान्छेलाई पनि दिनचर्याको वरिपरि फन्को मार्न । सोचेर सोच्नै नसकिने एकरूपता । समयसंग संगै निरन्तर हिँडिरहेको हुन्छ, जीवन पनि । हिँड्ने क्रममा अवरूद्ध कदापि हुँदैन समय । एकपल रोकियोस् न धर्ती, के हाल हुन्छ होला ? धर्ती प्रलयग्निको संघारमा क्षत विक्षात हुन पुग्छ । मान्छेको जीवन पनि त त्यही नै त हो नि, जब हरेक इन्द्रिय र ज्ञानेन्द्रियहरूले विश्राम लिन्छन् तब जीवनको महाप्रलय हुन्छ । जीवनको यात्रा अन्तिम हुन्छ । श्वास प्रश्वासको ढोका बन्द हुन्छ । भनौं मान्छे जीवनको अन्त हुन्छ । यो सबै समयको करतूत त हो नि । अझ आधुनिक युगको अस्त व्यस्तताप्रति सोचनीय दृष्टिकोण राखिनु अति आवश्यक देखिन्छ । एकापटि शोषण, दमन, अन्याय, अत्याचारले सीमा नाघेको छ भने अर्कोतिर समयले निम्त्याएको विध्वांसकारी अस्त्र अनि एटम बमको दुर्दशाले छोड्न सकेको छैन कसैलाई पनि । दिन छिप्पिदै गएपछि रातको संकेत हुन्छ । रात सकिन नपाउँदै अन्योलताले भरिपूर्ण हुन्छ । फसाद पर्छ मान्छेलाई समयसंग पौंठेजोरी खेल्न । हतोत्साहित हुन्छन् मानव मनहरू । अति क्षुव्ध हुन्छन् मानव बस्तीहरू । यसरी उक्लिदै गरेका हुन्छन्, जिन्दगीहरू, समयका सिँडीहरूमा । खोई कुन् गन्तव्य ताकेका होलान् ? साँच्चै, समय र मान्छेहरू एकार्कालाई प्रेम गर्छन् । संगै हिँड्नु दुवैको धर्म हो तर फरक भने छँदैछ । जीवन र मृत्यु पनि त संगै हुन्छन् यसरी समयसंग हिँड्यो भने ।
हुन पनि समय एकलकाँटे हुन्छ । समयसंग हरेक कुराको आयु रित्तिँदै जान्छ । यो त सरासर दुर्भाग्य हो । मान्छेहरूको दूरदशा हो अनि सशक्त अभिशाप हो । समयको अगाडि निडर बन्नै सक्दैन । भन्नै पर्दा मान्छे त समयको दास हो । हरेक पाइलामा समयले मान्छेलाई डो-याँउदै गरेको भेट्छौँ । समयको महायुद्धमा मृत्युले मान्छेलाई निमोठ्दै गरेको पाउँछौँ । वास्तवमा, समयसंगै अन्त हुन्छ मान्छेको आयु पनि । हिँड्ने क्रमलाई निरन्तरता दिन समयको खाँचो भइरहेको हुन्छ । जब समयले आँखा चिम्लिन्छ तब हरेक मानव मनहरू उजाड भइसकेका हुन्छन् । समुद्रका ती ज्वारभाटाहरू शिथिल भइसकेका हुन्छन् अनि सूर्यका किरणहरूलाई बादलले छोपिसकेको हुन्छ । यही बेला, जीवनको अन्तिम पाइला रोकिन्छ । कालन्तरसम्म बिउँझिनै नसक्ने गरेर । भविष्यको सुनौलो बिहानी देख्न नपाउँदै समाप्त हुन्छ मानव चोला । समयको गहिराइमा डुबिसकेको हुन्छ, मान्छेको हक, अधिकार अनि मुक्तिको आकाश फाटिसकेको हुन्छ । यस बखत, मान्छेले समयलाई र समयले मान्छेलाई चिन्न सकेको हुँदैन । यसरी सम्बन्ध विच्छेद हुन्छ समय र मान्छे बीचको ।
हामी राम्ररी जान्दछौं, समय अति मूल्यवान् चीज पनि हो । समयको सही प्रयोगमा मान्छेको जीवन पनि अति मूल्यवान् बन्न सक्छ । त्यसैले समय मान्छेको जीवनको मार्गदर्शक हो । समयले हिँडाएको सही बाटोमा पाइला चाल्यो भने गन्तव्यमा पु-याएर नै छोड्छ । यो त समयको असल पक्ष हो । मानव जीवन पनि कम मूल्यवान् त हुनै सक्दैन । इतिहासमा, हरेक कुराको आविष्कार गरेका हुनाले मान्छेहरू पनि भगवान् सरह मानिन थालेका छन् । भगवान् त सर्वशक्तिमान हो । त्यसैले मान्छेहरूले पनि समयको पाठ सिकेर हजारौं पाइला अघि बडिसकेको पाइन्छ । वास्तवमा, समयले मान्छेलाई कहिले हँसाउँछ अनि कहिले गजबले रूवाउँछ । यो समयको घिनलाग्दो व्यवहार मात्र नभएर मान्छेको जीवनको अलौकिकता अनि विधिको विधान हो भनेर पुष्टि गर्छन् कति विद्वान्हरू । मान्छेलाई धेरै ठूलो काम गर्न, महान् बन्न अनि सही बाटोतर्फ पाइला चाल्न सिकाउने पनि समय नै हो । सम्पूर्ण मान्छेको आवश्यकता पूरा गर्न मद्दत गर्ने पनि निश्चितरूपमा समय नै हो । मान्छेलाई परिश्रम, मेहनत, लगन गर्न सिकाउने, आइलाग्ने माथि जाइलाग्न सिकाउने पनि त समय हो ।
अन्ततोगत्व, हामीले हाम्रो जीवन असल एवं मूल्यवान् बनाउनु छ भने मूल्यवान् समयसंग हिँड्न, व्यवहार गर्न सिकौं तथापि हाम्रो जीवनले हारको सामना गर्नू नपरोस् अनि सफलताका शिखरहरू चुम्न सकोस्, जीवानले । वश, समय र मान्छेबीचको सम्बन्ध प्रगाढ बनोस् अनि मान्छेहरूले समयबाट भाइचारा, वन्धुत्व, एकता, मानवता एवं समानताको पाठ सिक्न सकून् ।।
हाल: सिलिगुडी, भारत
Whoever it is ,you have done a great job of making the reader feel the real essence of value of time.It is pleasant and adorned with decorative parts of speech that creats intrest among the readers.All the best for further creation of such outstanding art of literature.
i love your article…keep on writing Smile ji,……
USA