समयको झापड

कथाकार
कथाकार

गङ्गा लामिटारे
ओहायो, अमेरिका

 

समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट  पत्रकारिता सिक्न आएका विद्यार्थीहरू थिए । प्रशिक्षणको बिचमै दसैँ आयो । १५ दिनका लागि दसैँ बिदा भयो । दसैँमा घर जाने उत्सुकता बोकेर सबै प्रशिक्षार्थीहरू सौदा-पात गर्न थाले ।  म पनि नानीहरूलाई एक एक जोडी जुत्ता किन्नु पर्‍यो भनेर भ्रुकुटी मण्डप गएको थिएँ । भ्रृकुटीमण्डप मात्र एउटा त्यस्तो बजार हो जहाँ  निम्न आय हुनेहरूका लागि सहज र उपयोगी मानिन्थ्यो ।  अरूतिर हामी जस्ताका लागि आकाशको फल आँखातरि मर भनेझैँ हुन्थ्यो । मैले सौदा गरिसकेर चिया पिउनु पर्‍यो भनेर त्यहीँको एउटा सानु चिया-पसलभित्र पसेँ । अरू साथीहरू पनि बजार भरिसकेर त्यहाँ चिया पिउँदैथिए । मलाई पसलभित्र पसेको देखेर ‘गङ्गा दाइ, घरजाने टिकट काट्नु भो ? तिनीहरू मध्येकै एक जना दीपकले  सोध्यो । भाइ, भोलि बेलुका ४ बजेको लागि बुकिङ्ग गरेको छु, भन्ने जवाब दिएँ । पश्चिमतिर भन्दा पनि पूर्वतिर जाने गाडीको टिकट पाउन साह्रै ठुलो सङ्घर्ष गर्नुपर्दो रहेछ, बिक्रमले समस्या दर्सायो । विक्रम, रमेश र दीपक पत्रकारिताको प्रशिक्षणका लागि नेपालगञ्जबाट आएका थिए । तर यस बिदामा उनीहरू घर नगएर झापा जाने कुरा गर्दैथिए र आज बेलुकै ४ बजे हिँड्ने उनीहरूको कुरा चल्दैथियो । अचानक उनीहरूको झापा जाने निर्णय सुनेर मैले भने ‘भाइ किन हठात् निर्णय बद्लियो ? हिजोसम्म त घरैजाने हुटहुटी गर्‍या होइन र ? मेरो प्रश्न सुनेर झस्किँदै सुरेशले भन्यो ‘दाइ,यस पटकको बिदामा हामीले पूर्वीनेपालको भ्रमणमा जाने योजना बनायौँ । नेपालगञ्ज त घर हो । कोर्स सकिने बित्तिकै जाइहालिन्छ नि।’ त्यो त राम्रै हो भाइ । अनि पूर्व कहाँसम्म जाने योजना छ ? मैले सोधेँ । दीपकले थप्यो ‘दाइ,१०दिनसम्म दमकमा बस्ने । त्यहीँबाट सिल्गढी,दार्जिलिङ र कन्यामतिर घुम्ने हाम्रो योजना छ । उसले योजनाबारे भन्दै गयो । सुन्दै गएँ । १० रातको लागि दमकको देउराली हुटेल बुक पनि गरिसक्यो ।’उनीहरूको भ्रमण अझ सहज होस् भनेर सल्लाह दिँदै मैले भने ‘त्यसो हो भने भ्रमणलाई रमाइलो र फलदायी बनाउने हो भने दमकभन्दा काँकरभिट्टा बेस हुनेछ । त्यहाँबाट भाइहरूलाई तिनैतिरको भ्रमण सहजहुनेछ ।’ मेरो सुझाव सुनेर दीपकले प्याच्चै भन्यो ‘दाइ, खास हाम्रो उद्देश्य भनेको दमकमा बस्ने र यसो रमाइलो गर्ने हो ।’ उसको आशय नबुझेर मैले पनि प्याच्चै सोधेँ ‘भाइ, के काँकरभिट्टामा बस्दा चाहिँ रमाइलो हुँदैन र ? मेरो प्रश्न सुनेर झस्किँदै रमेशले रहस्य खोल्यो, ‘दमकमा चाहिँ नयाँ नयाँ माल पाइन्छ अरे भनेर नै हामीले दमकलाई रोजेका हौँ’, उसको नयाँ नयाँ माल भन्ने शब्दले मलाई झन् खुल्दुली जगायो र च्वास्स मनमा छोयो  पनि ! उमेर पुगेका लक्का जवानहरूले केटीका लागि प्रयोग गरिने त्यस बेलाको शब्द हो माल । म १० वर्षदेखि बेलडाँगीमा बसेको छु । र पनि दमकमा त्यस्तो माल पाइन्छ भनेर चाल पाएको थिइन । सायद त्यसप्रति खासै चासो नभएकले पनि  नजानेको हुनसक्छ भनेर मन बुझाएँ । तिनीहरूले पनि मलाई भुटानी भनेर जानेका थिएनन् । उनीहरूलाई म इटहरीको हुँ भनेको थिएँ । त्यसैले यो गफगाफबाट नयाँ रहस्यको उत्खनन हुनेछ भनेर म पनि उत्साहित हुदैथिएँ ।

अनि मालको बन्दोबस्त चाहिँ कसले मिलाइदिन्छ भाइ ? भनेर मैले  दीपकलाई जिज्ञासा राखेँ । दीपकले कुरो नघुमाई स्पष्ट भन्यो ‘माल खोज्ने बन्दोबस्त सबै होटेलको हो दाइ । हामीले सबै मिलाएर एकमुष्ट पैसा दिने मात्र हो । अरू सबै उसैले गर्ने हो।’ ‘ प्रत्येक रातका लागि नयाँ नयाँ हो कि एउटैसँग दश रात हो भाइ !‘ मैले भने । मेरो प्रश्न सुनेर परिहास गर्दै दीपकले भन्यो‘ हन, दाइ रिठ्ठो नबिराइ सोध्नु हुन्छ त ? विचार छ कि क्या हो ।‘ हैन, यसो दिल्लगी गरेको नि भाइहरूसँग !‘ मैले भने । अहिले दुई रातका लागि मात्र सम्झौता भा,छ । त्यसपछि माल हेरेर निर्णय गरिनेछ ।‘ मैले पुनः दीपकलाई भने ‘हन, त्यत्रोऔधि माल उत्पादन गर्दोरहेछ नि भाइ दमकले‘ । मेरो अज्ञानता बुझेर दीपकले त्यहीँको रैथानेले  झैँ भन्यो ‘  तपाईँलाई थाह छैन र दाइ, दमकै सिरानमा भूटानीहरूको क्याम्प छ रे नि ! माल त्यहीँ उत्पादन हुन्छ रे ! जसलाई जस्तो चाह्यो त्यस्तै ! त्यो पनि सस्तो दाममा दाइ !’  दीपकको उत्तर सुनेर म छाँगाबाट खसेजस्तो भएँ ! मलाई असाध्य लज्जा बोध भयो ! कुरी कुरी लागेर आयो । व्यर्थमा किन सोधेछु नि भनेर आफैलाई नमिठो लाग्यो । तिनीहरूका अगाडी उभिरहन मन लागेन । त्यसैले जान्छु पनि न भनी त्यहाँबाट हिँडेँ । मैले जुन समाजमा ४५ वर्ष बिताएँ ! जुन बालबालिकाहरूको भविष्य उज्जल गर्न २० वर्षदेखि शिक्षा र चेतानाको ज्योति छरिरहेँ । जसलाई आफ्नै छोरीहरू जस्तै गरेर पढाएँ । जसका भविष्यको लागि आफ्नो वर्तमानको तिलाञ्जली गरेँ । जसका लागि राज्यको चौथो अङ्ग मानिएको पत्रकारिताको जानकारी गराउने प्रतिबद्धता गरेर काडमाण्डौं आएँ । आज तिनै छोरी बुहारीहरू, दिदी बहिनीहरूको अस्मिता दमकका होटेलहरूमा मोल-तोल र बिक्रीबण्डा भइरहेको सुनेर म  लाज, सङ्कोच र हीनताबोधको सिम्सारमा भासिँदै गएँ । १२ वर्षकै अन्तरालमा म बसेको ठाँउ वेश्यालाय भइसकेछ ! त्यहाँका सबै छोरी-बुहारी जति सबै नकचरी र वेश्या भइसकेछन् भन्ने  चिन्ताबाट म चिमोटिइरहें । ती ठिटाहरूसँगको सम्बाद र निष्कर्ष पछि म  शिक्षक हुँ र एउटा असल समाजसेवी हुँ भन्ने मरो अभिमान सिसा जस्तै  चकनाचूर भएको पाएँ ।

यद्यपि दमकका टाउकामा एउटा सिङ्गो भूटान छ, त्यहाँ सामाजिक सङ्घ-संस्थाहरू छन् । शिक्षालायहरू छन् । समाज छ र समाज परिचालनका लागि नियम,विधि र प्रकृयाहरू छन् भन्ने ती बिचरा ठिटाहरूलाई के थाहा ? भूटानी सेनाको अन्याय र दुष्कर्मबाट बच्न १२ वर्ष अघि भूटानबाट लखेटिएका हुन् भन्ने उनीहरूलाई के थाहा ? फेरि सुरुमै उनीहरूलाई हाम्रो वास्तविकता बुझाउन सकेको भए उनीहरूको सोच अवश्य बद्लिने थियो ।  मैले पनि यस्तो सुन्नुपर्नै थिएन भन्ने पश्चाताप पनि भयो ।

यस्तै के के सोच्दै कोठामा पुगेँ । केही हराएको र केही गुमाएको जस्तो भइरह्यो । भोक पनि लागेको थिएन ।  तर पनि जबर्जस्ती एउटा चाउचाउ उमालेर खाएँ र ओछ्यानमा गएर सुतेँ । पटक्कै निदाउन सकिँन। ती ठिटा केटाहरूको  माल उत्पादन गर्ने भन्ने शब्दले मलाई रातभर घोचिरह्यो ।

१२ वर्षमै यति ठुलो परिवर्तन आइसकेछ ! कठैबरा, भूटानीहरूले दुःख पाए । उनीहरूलालई विनाकारण राज्यले खेदायो। मानवताका आधारमा उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने र सहानुभूति गर्नेहरूको सङ्ख्य दिनप्रतिदिन घट्दै गएछ । दिनले रातलाई र रातलाई दिनले विस्थापित गरे जस्तै शरणार्थीको व्यथा, मर्म र समस्याहरू बुझ्ने पुस्तालाई नबुझ्ने पुस्ताले विस्थापित गर्दै लगेछ। यो परिवर्तन र बद्लाव शिविर बाहिर मात्र होइन क्याम्पभित्रै पनि त्यही सिद्धान्तबाट अभिप्रेरित र प्रभावित हुँदैगएछ । गरिबीको प्रवाहमा कसैले अभाव र भोकसँग स्वाभिमान र प्रतिष्ठा साट्नु पर्‍यो होला । सुनौलो भविष्यका लागि सुन्दर शरीर दाउमा राख्नुपर्यो होला । यद्यपि त्यस्तो कार्य कसैले गर्‍यो भने त्यो रहरले थिएन । बाध्यताले थियो । अवश्य पनि समयको गतिशीलताले थियो होला ।

भौतिक परिवर्तनसँगै समयले मानसिक परिवर्तन गर्दो रहेछ ! मानिसहरूको सोच-व्यवहार र दृष्टकोणहरू सबै परिवर्तनशील रहेछ । स्थायी र अचल भन्ने वस्तु संसारमा केही पनि रहेनछ। यही समयको प्रवाहले राज्यबाट विस्थापित गरायो । दशकौँ लामो पीडा र कुण्ठामा बाँच्न र हाँस्न सिकायो । समयले नै आज शर्णार्थीलाई विभिन्न शक्तिसम्पन्न राष्ट्रहरूमा पुर्‍यायो । पुनर्बाससँगै उनीहरूको खुवाइ-प्याइ, रहन सहन बद्लियो । हिँड-डूल, जीवनशैली र अभ्यासहरू  बद्लिए। चिन्तन र सोचहरू बद्लिए समयको परिवर्तनसँगै स्थानीयहरूको शरणार्थीहरूलाई हेर्ने दृष्टिकोण र व्यवहार बद्लिदैगयो। हिजोसम्म चोर र फटाह भिनिनेहरू आज भलाद्मी मानिए । तिनै डाकाहरू कसैका ज्वाइँ, मित्र र आत्मीय हुँदै गए । कुनै समयका काबाहरू आज दाता भए तिनै फोहोरी र गन्धेहरू सुकिला र सुवासित हुँदैगए। यो सबै समयको चमत्कार  रहेछ र समयले कसैलाई पनि छाड्दो रहेनछ । प्रत्यक्ष वा अप्रत्यक्ष समयको झापड सबैलाई एक समानको हुँदोरेछ। समयभन्दा बलवान संसारमा अर्को शक्ति रहेनछ। समभाव र समदृष्टिमा पनि समय सबैभन्दा शक्तिशाली र अजय रहेछ भन्ने यस अकाट्य सत्यसँग मैले जीवनमा पहिलो पटक साक्षतकार गरेँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *