समाज र कवि
मधु घिमिरे
अमेरिका
साह्रै सुन्दर भावना मन भरी बोकेर हिँड्छन् कवि
नौलो देश समाज होस् भुवन होस् भन्छन् विवेकी कवि
देख्छन् जीव र जन्तुका हरघडी आत्मीय धर्ती मजा
लेख्छन् रात प्रभातमा प्रकृतिका नौला सुनौला कला
गर्छन् नित्य सुधारका प्रगतिका बाटाहरूका कुरा
भन्छन् जाग प्रभातमा दिन दिनै हिँड्दै पुगौं टाकुरा
इर्ष्या लालच या घमण्ड कविले त्याग्छन् सदा सर्वदा
राख्छन् सत्य र तथ्यको मगजमा तथ्यांक वा आंकडा
सादा जीवन बॉंच्दछन् हरघडी राखी महाभावना
लेख्छन् नित्य सुरम्य काव्य भरिला पोखी मिठा कल्पना
भर्छन् काव्य अनेक बिम्ब उपमा नौला अलंकारले
झुक्छन् नित्य ठुला बडा गुरुसँगै बेजोड सम्मानले
लेख्दैनन् कविले कदापि कविता सम्मानका खातिर
खोज्दैनन् कविले कदापि सुकिला ठेली पुरस्कारका
सच्चा जो कवि हो डटेर जहिलै लेख्दो छ संसार यो
सक्दो इज़्ज़त गर्नु पर्छ सबले यस्ता कलाकारको
डॉंडा खोँच र कन्दरा गिरि कुना डुल्छन् रमाई कवि
पुग्छन् बाग बगानमा कुसुममा पुग्दा नपुग्दै रवि
तारा सोम र मेघको गगनको वा सिन्धुको त्यो जल
पार्ने ती रचना सुशान्ति सुखका बुट्टा भरी झल्मल
शार्दूलविक्रिडित छन्द