सम्पादकीय: डटकम बाह्रवर्षमा प्रवेश

Bhutaneseliterature.com आज बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बाह्रौँ वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा आदरणीय लेखक तथा पाठकवर्गलाई आभार व्यक्त गर्न चाहन्छौँ । हाम्रा लेखक तथा पाठकवर्गको अपार माया र सद्भाव नपाएको भए हामी साहित्यिक सेवा गर्ने क्रममा यस अवस्थासम्म आइपुग्ने थिएनौँ । लेख्नेहरू छैनन् भने सृजनाको जन्म नै हुँदैन । लेखेर पनि पढी दिने भएन भने लेखाइ निस्प्रयोजन हुन्छ । त्यस कारण साहित्य रचनामा पाठक र लेखक माझ एक किसिमको अविभाज्य सम्बन्ध रहेको हुन्छ ।

Bhutaneseliterature.com ले के कति भाषा–साहित्यको सेवा गर्न सक्यो, त्यसको लेखाजोखा हामीले गरिराख्नु पर्दैन, त्यो सबैका सामु जगजाहेर नै छ । यो वेबसाइट जुन बेला स्थापित भयो त्यो सहज किसिमको परिस्थिति थिएन । त्यो सङ्क्रमणकालीन अवस्था थियो । हाम्रो सिङ्गो समाज नै बसाइँ सर्दै थियो –एउटा भूखण्डदेखि अर्को भूखण्डतिर । हरेक व्यक्तिलाई नयाँ मुलुकमा जीवन यापन गर्ने उपायको खोजी गर्न आवश्यक थियो । यस्तो अवस्थामा साहित्यिक गतिविधिलाई निरन्तरता दिने सङ्कल्प गरेर परम्परागत प्रकाशनको विकल्पमा साइबर स्पेसमा जानु आफैमा चुनौतीपूर्ण कार्य थियो । त्यो यात्राले आज एघार वर्ष पूरा गर्नु गर्वको कुरा हो ।

Bhutaneseliterature.com को स्थापनादेखि हालसम्म कुल २९१९ रचनाहरू प्रकाशित भएका छन् । आजको प्रतिकूल परिस्थितिमा पनि हामीले वार्षिक अङ्क निकाल्ने जमर्को गरेका छौँ । महामारीको बेला हरेक व्यक्ति, परिवार र संस्थाले विभिन्न किसिमका चुनौतीहरूको सामना गर्नु परेको छ । त्यसमा पनि हाम्रो समाजमा महामारीको कारणले केही दुःखद घटनाहरू भएका छन् । अप्ठ्यारो परिस्थितिमा यस्ता अप्रिय घटनाहरू हुनुले हामी दुखित भएका छौँ । यस्ता घटना परेका परिवारजनमा आफ्ना प्रियजनको वियोग सहन गर्ने शक्ति मिलोस् र सङ्क्रमितहरूमा शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना व्यक्त गर्दछौँ ।

यो परिस्थिति सदा यस्तै रहँदैन । पक्कै पनि सहज दिनहरू फर्किने छन् । हामी साहित्यिक गतिविधिलाई निरन्तरता दिन र भाषा–साहित्यको सेवामार्फत समाजको सेवा गर्न प्रतिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *