सम्पादकीय

विगत केही दिनदेखि विश्वसंस्कृत दिवस मनाएपछि छिटपुट रूपमा संस्कृत भाषा र त्यस भाषामा भएको ज्ञानको चर्चा हुन थालेको देखिन्छ I यो सकारात्मक पक्ष हो I भारतमा सन् १९६९ देखि प्रत्येक बर्ष रक्षाबन्धनका दिन संस्कृत दिवस मनाइने गरिन्छ I उता नेपालमा पनि तीन बर्षदेखि जरोकिलो प्रतिष्ठानका आयोजनामा ‘विश्व’ शब्द थपेर यस दिवसलाई विश्वस्तरमा मनाइनुपर्छ भन्ने सन्देश प्रवाह गरिँदै आइएको देखिन्छ I

भूटानी समाजमा पनि अमेरिकामा यसपाली यस विषयको चर्चा आरम्भ भएको छ I गतवर्षदेखि केन्टकीबाट डा.लक्ष्मी नारायण ढकालले संस्कृत भाषाको अनलाईन कक्षा आरम्भ गरेका छन् I पुन: यसपालीको संस्कृत दिवसबाट साना बालबालिकाहरूलाई पनि यस भाषा र विषयमा जोड्न ‘बाल संस्कार केन्द्र’को आरम्भ गरेका छन् I उता हेरिश्वर्गमा पनि संस्कृत कक्षा चलाएको कुरो छिटपुट सुन्नमा आएको थियो I भूटानी समाजमा यसरी संस्कृत भाषा र विद्याप्रति जागरूकता देखिनाले मातृभाषा नेपालीलाई पनि टेवा पुग्ने संकेत देखिन्छ I किनकि नेपाली भाषा र संस्कृत भाषाको निकटतम सम्बन्ध रहेको छ I वास्तवमा भन्ने हो भने संस्कृत भाषा विना नेपाली भाषा अधुरो नै रहन्छ I

वस्तुत: नेपाली भाषीहरूले संस्कृत नपढी धरै छैन I नेपाली व्याकरण र साहित्यको मुहान पनि संस्कृत नै हो I भूटानी नेपाली साहित्यमा केही व्यक्ति वाहेक सबै लेखकहरू संस्कृत भाषा नपढेका छन् I यदि सबै लेखकहरूले संस्कृत भाषा र साहित्यको पनि अध्ययन गर्ने हो भने भूटानी नेपाली साहित्यमा गुणात्मक सुधार आउने कुराको विकल्प छैन I आजकल नेपाली लेखनका क्षेत्रमा हिज्जेगत त्रुटीहरू र शब्दहरूको शुद्धरूप विकृत भएको छ I यो बिरामीको एउटै मात्र औषधी संस्कृत भाषाको र व्याकरणको सामान्य ज्ञान हो I त्यसैले सबैले यस दिशामा ध्यान दिन आवश्यक छ I

संस्कृत शिक्षामा रहेको अर्को महत्वपूर्ण कुरो केछ भने आजको समाज धर्मभिरू, कर्मकाण्ड प्रधान र सम्प्रदायगत संकुचनमा डुबेको छ I यस परिस्थितिमा संस्कृत साहित्यमा रहेको ज्ञान विज्ञान,अध्यात्म विज्ञान,नैतिक शिक्षा र विश्वबन्धुत्वको भावना र व्यवहारलाई पुनस्थापन गर्न यस भाषामा लेखिएका उपनिषद्,गीता,योग, आयुर्वेद, खगोल विद्या जस्ता गम्भीर विषयहरूको अध्ययन अध्यापन जरुरी देखिन्छ I बाहुनहरूको र कर्मकाण्डको मात्र नभएर सम्पूर्ण मानव मात्रको भाषा र शिक्षालाई चेतनाको फराकिलो प्रांगणमा बिष्कुन लगाउन सबैले स्वयं अध्ययन गर्न आवश्यक छ I अत: यस अमूल्य ज्ञानको स्रोतमा प्रवेश गर्न संस्कृत भाषाको अध्ययन सबैले गर्नैपर्छ !

आजको वैश्वीकरणको युगमा जतिधेरै भाषाको ज्ञान छ त्यति धेरै रोजगारपरक सम्भावनाहरू खुल्दछन् I नासा र माइक्रोसफ्टको भनाइ र योजना सफल भएमा निकट भविष्यको संगणकीय युग संस्कृत भाषा विना अधुरो नै रहने सम्भावनाहरू देखिन्छन् I किनकि वैज्ञानिकहरू संस्कृतलाई कम्प्यूटरका लागि सबै भन्दा उपुक्त र सक्षम भाषा मान्न थालेका छन् I उता भौतिक दर्शनको परिणति र परमाणुको आधार पनि कुनै अदृश्य शक्ति नै हुनुपर्छ भन्दै पूर्वीय अध्यात्मवाद र योगलाई आत्मसात गर्न थालेका छन् I अत: संस्कृत भाषा पढेर कुनै पनि हानि न हुने र थप उर्जा र योग्यता प्राप्त हुने स्पष्ट छ I

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *