सम्पादकीय

पुनर्बास, समाज र साहित्य

तेश्रो देश पुनर्बास प्रक्रियाले भूटानीहरुबीच एउटा नयाँ समाजलाई जन्म दिएको छ। एउटा पृथक परिवेश, पृथक संस्कार र सायद पृथक समय बहावसंग पौंठेजोरी खेलिरहेछन् भूटानीहरु आज। भूटानीहरु आफूले यस अघि कहिल्यै साक्षात्कार नगरेको प्राविधिक उन्नति र विश्वीकृत संस्कृतिको आकाशगंगामा सयररत छन् ।

अन्तरजाल (इन्टरनेट) को सुबिधाले संसारलाई सबैको हातहातमा उभ्याइदिएको छ। आजको संसार सहजता तर्फको यात्रामा गतिशील छ र यही संसारमा बाँचिरहेछौं हामी। अनि यो बाँच्नुको नवीनतासंगै हामीसंग बाँचेर आएका संस्कारहरु विश्रृङ्खलित हुँदै छन्, मान्यताहरु विखण्डित हुँदै छन् । तर आफ्नोपनाको खोजीले त्यति नै छोएको छ। हाम्रो समाज यही धरातलमा उभिने चेष्टा गर्दैछ । यही समाजमा बसेर हामी साहित्य लेख्दैछौँ ।

हामीले अब लेख्ने साहित्यमा यही सामाजिक परिदृश्यले निर्माण गरेका अनुभूतिजन्य विविधताहरु लेखिने छन् ; यिनै परिस्थितिजन्य जटिलताहरु लेखिने छन् । थाहै नपाई विश्वीकरणको यो सघन जंगलमा छिरेका हामीहरु निश्चय पनि पृथक परिवेशमा बाँचिरहेका हुनेछौँ ।

यो समाजमा आज गतिशील जीवन बाँचिरहेका तमाम युवा हृदयहरुले आफ्नो भूमिका निर्वाह गर्नु परेको छ- सेतुको भूमिका, जसले हाम्रो समाज संचालनका समीकरणहरुको सन्तुलन कायम राखोस् ।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *