सम्पादकीय
सर्जकको मन जब विभोर भएर उठ्छ, जाँगर चल्छ, जीउलाई हलुङ्गो अनुभव हुन्छ, नेत्रज्योति जगमगाउँछन्, नौनारी सल्बलाउँछन् तब साहित्यको जन्म हुन्छ ।
सुप्रभातमा कोपिला फक्रन्छन्, रानी चरी पिपिरा गाउँछे, खोला नालाहरु सुसेली खेल्छन्, धान, सामा, गहुँ, जौँ र कोदाको बालाले वयली खेल्छन् सोही अनुरुप साहित्यको जन्म हुन्छ । जब जन्म–जन्मान्तरका भेदले, कल्प–कल्पान्तरको भेदले दैवीप्रकोप हुन्छ, अल्प मत–मतान्तरको लेखाजोखा हुँदैन, मुख बोल्दैन, मात्र ह्रदय बोल्छ अनि साहित्यको जन्म हुन्छ । साहित्यको जन्म हुन मनको श्रोत चाहिन्छ । पारस्परिक उन्नति, अवनतिका खिचातानी, होडबाजी, ठोकाठोक, मारामार, शस्त्रास्त्रको हानाहान, सामाजिक असमानताका श्रोतहरु र समय सापेक्षित श्रोतहरु भनेका सबै तदर्थ रहन्छन् । हामीलाई अहिले प्रगति उन्मूख श्रोतहरुको आवश्यकता छ । अल्पविकसित मुलुकहरुका लेखकहरुलाई सदैव विभिन्न श्रोत सामाग्रीको जरुरत पर्दछ । जसबाट शब्दावलीको प्रस्फुटन हुन सकोस् । किन भने प्राकृतिक वनस्पतिको श्रोत विनाको माहुरीको मह केवल गुलियोमात्र हुन सक्तछ । औषधीयुक्त नहुन सक्तछ । शब्दहरु र श्रोत सामाग्रीहरु भनेको काँचो सुन हो । जसबाट सुनारेहरुले तत् तत् औजाररुपी श्रोतले नै सुहाउँदिला गहनाहरुको निर्माण गर्न सकेको हुन्छ ।
यथार्थ र कल्पनाहरुलाई मन्थन गरेर मात्र नौनीरुप प्रतिभा बटुलिन्छ । होहरेमा दगुर्दा कहिले काहीँ गोरेटो टुङ्गिन सक्तछ र काँढा पन्छाएर बाटो पहिल्याउन गाह्रो पर्छ । मात्र लहराहरुको सङ्कलनले पालेको गाई पनि पग्रन नसक्ने हुन सक्छ । जसमा पात डुकु हुन पर्दछ । दही मन्थन गर्छु भनेर मात्र कल्पना ग-यौं भने केवल मौखिक मन्थनमात्र हुन सक्तछ । दारकै ठेकी खिर्राकै सरो मदानी, लिपेको नेती, अंगारेको कोइला र पिप्लीकै घुर्रा भएमात्र दही मन्थनमा गोठालो खुशी हुन सक्छ । त्यसको विकल्पमा कुनै काठ भए पनि वा कृत्रिम श्रोतको भए पनि नौनीको मात्र आवाश्यकता भए झैं लेख्य भाषाका शब्दावलीलाई सिंगारेर साहित्य आकासमा फरफराउन नसके पनि सर्जकहरुले कलमलाई सिरक नओढाइ कथ्य भाषाका शब्दावलीलाई भए पनि चुल्ठो लगाएर छन्द, रस वा भावरुपी रिवनले टुइँक्क कसेर साहित्य आँगनमा छोडिदिनु भए कविता वा लेखरुपी कपाल सनक्क सफा हुन्छ कि भन्ने आजको समयले अपेक्षा गरेको देखिन्छ होइन र? स्वभाविकरुपले आफ्नो प्रतिभालाई मूर्तरुप दिन सर्जक अघि सर्नु पर्दछ । कलमी प्रतिभा पछि सार्नुलाई साहित्यिक सरस्वती आमा र जन्म भू-आमाले वरदानको पात्रो पल्टाउन बिर्सिन सक्तछिन् । भिखारीको झोलामा पनि सास अड्याउने अन्नको दानो रहेको हुन सक्छ । यसर्थ शब्द ब्रह्म हो । कलमले ब्रह्म ब्रह्माण्डको साहित्यिक प्रतिपादन गर्दछ । त्यो आकासझैं व्यापक हुन्छ । त्यही आकासीय पिण्डमा कल्पनापुञ्जको प्राकृतिक भण्डार हुन्छ । त्यही भण्डारभित्र सर्जकले शब्दान्वित पराल छिरोलेर साहित्यिक दाईँ गरी मूर्तरुपी राशि ठड्याएको हुन्छ ।
सम्पादक