सम्पादकीय

भूटान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश हो । जोङ्खा भाषी भूटानीहरुको उद्गम स्थल तिब्बतलाई मानिन्छ भने साङ्ल्हाभाषी भूटानीहरुको उद्गम स्थल भारतको अरुणाचल प्रदेश र त्यसको आसपास क्षेत्रलाई मानिन्छ । नेपालीभाषी भूटानीको उद्गम स्थल भने नेपाललाई मानिन्छ । जोङ्खाभाषी भूटानीहरुलाई “ङालोङ्” भनिन्छ । साङ्ल्हाभाषीलाई “सार्छोक्पा” अथवा “सार्छोप्” र नेपाली भाषीलाई “ल्होछम्पा” भनिन्छ । जोङ्खा भाषामा “ल्हो”को अर्थ दक्षिण , “छम्”को अर्थ स्थान वा दिशा र “पा”को अर्थ मानिस भन्ने बुझिन्छ । यसरी “ल्होछम्पा”को अर्थ दक्षिणदिशामा बसोबास गर्ने मानिस भन्ने बुझिन्छ भने उनीहरुले बोल्ने भाषालाई “ल्होछम्खा” भनिन्छ । भूटानको दक्षिण भेकमा नेपाली भाषी मात्र नभएर हिन्दी, मेचे, आदि भाषा बोल्ने मानिसहरु पनि नगन्य संख्यामा बसेका छन् । दक्षिणक्षेत्रमा बस्ने सम्पूर्ण भूटानीहरुको मातृभाषा नेपाली होइन । वर्तमानमा आएर साङ्ल्हा, जोङ्खा, कुर्तेपा, खेङपा, आदि बोल्ने मानिसहरु पनि दक्षिण भूटानमा बस्ने गर्दछन् । नेपाली समुदायभित्र पनि नेपाली बोल्नै नजान्ने राई, लिम्बु, मगर, तामाङ, सेर्पा, आदि समुदाय छन् । त्यसकारण यी सम्पूर्ण समुदायलाई एकीकृत गरेर दक्षिणमा बस्ने मानिसहरुको भाषालाई “ल्होछम्खा” भनिनु कत्ति पनि सान्दर्भिक देखिदैन । सचेत समुदायमा यो कुरा स्वतन्त्ररुपमा बहस गर्न दिने हो भने यो विवादित विषय हुनेछ ।

“ल्होछम्पा” वा “ल्होछम्खा” वा “ल्होछम्” यी तिनैवटा शब्द विवादास्पद छन् । कुनै मानिस  साङ्ला बोल्दछ तर दक्षिण भूटानमा बस्दै आएको छ । उसलाई “ल्होछम्पा”भन्दा स्विकार्य होला ? अथवा कुनै नेपालीभाषी मानिस पारोमा बस्दै आएको छ । उसलाई “ङालोङ्” भनेर सम्बोधन गर्दा पाच्य होला ? अथवा जागिरको सिलसिलामा पूर्वी भूटानमा घरजम गरेर कोही नेपालीभाषी भूटानी नागरिक बसेको छ । ऊ नेपाली भाषा नै आफ्नो परिवारमा चलाउने गर्दछ । अब त्यो मानिस “सार्छोप” भनिन सक्ला ?

ङालोङ् जातीको मातृभाषा जसरी जोङ्खा हुन गयो अथवा सार्छोपको मातृभाषा  साङ्ल्हा रहन गयो, त्यसरी नै नेपालीमूलका भूटानीले बोल्ने मातृभाषा पनि नेपाली हो । “ल्होछम्खा” वा “ल्होछम्” होइन । यो शब्द त सरकारले जबरजस्ती हामी नेपालीभाषी भूटानीहरुमा लादिएको शब्द हो । एउटा राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा भूटान र राष्टीय रुपमा “ड्रुकगेल्खाप” भनिन सक्छ तर एउटा जाति विभिन्न नामले चिनिन सायद नसक्ला । भाषिकरुपमा भएभरका सरसामान एउटा बोरामा हालेर एउटै नाम दिनु ती ठोस सामाग्रीप्रति न्याय नहोला । मान्नुहोस् दक्षिण एसियामा हिन्दी भाषाको प्रभाव राम्रो छ । अबको जमानामा “दक्षिण एसियाली भाषा” भनेर कसैले हिन्दीलाई विश्वजगतमा चिनाउन खोज्छ भने दक्षिण एसिया भित्रै पर्ने भूटान, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स्, पाकिस्तान र अफ्गानिस्तानको मन दुख्नेछ । त्यो हिन्दी अभाषीहरुलाई कदापि स्विकार्य हुन सक्तैन । त्यसैगरी सम्पूर्ण दक्षिण भूटानमा बसोबास गर्ने मानिसहरुलाई एउटै बोरामा हालेर एउटै नाम दिनु पनि पाच्य हुँदैन । भूटानमा नेपालीमूलका भूटानीहरुलाई भाषिक लौरो टेकेर सबैलाई एउटै नाम दिनु पनि पक्षपात हुन जान्छ । नेपालीमूलका भूटानी नागरिकहरुबीच भएका विभिन्न भाषिकाहरु जस्तै मगर, राई, तामाङ, सेर्पा, आदिको मन दुख्छ । भूटानमा नेपाली बोल्ने सबै मानिसहरुको मातृभाषा नेपाली होइन । विभिन्न मातृभाषीहरुले भूटानमा नेपाली भाषा बोल्दछन् । स्पष्टसँग भन्नुपर्दा अंग्रेजी र जोङ्खावक्ता बराबरको संख्यामा नेपालीभाषा बोल्नेको संख्या छ । भाषा भनेको देशको सम्पत्ति हो । राज्यमा जे जति भाषा छन् त्यसमाथि बन्देज नलगाएर मलजल गरिनु पर्दछ । भाषिक स्वतन्त्रता सम्पूर्ण नागरिकलाई दिनु पर्दछ । मातृभाषाको संरक्षण र संवद्र्धन गर्नु हरेक नागरिकको मौलिक अधिकार हो । भाषालाई चिनाउने चिनारीको शब्द जन्मदिवसको उपहार वा विवाहमा छोरीलाई दिएको दाइजो अवथा राष्ट्रप्रमूखले दिएको पगरी हुन सक्तैन ।

भूटानमा नेपालीमूलका भूटानी नागरिकलाई प्रयोग गरिने यस शब्दलाई केलाएर हेर्ने हो भने प्रश्नै प्रश्नले पाना भरिन्छ । “ल्होछम्” अर्थात “दक्षिण दिसा”को परिधि कति हो ? कहाँसम्मको क्षेत्रलाई दक्षिण मान्ने ? के भारतको आसाम राज्य, बंगलादेश आदिलाई पनि “ल्होछम्” मान्ने ? अथवा भूटानभित्र “ल्होछम्” नामको स्थान कहाँ छ ? अथवा “ल्होछम्” नाम गरेको जाति कहाँ बसोबास गर्दछ ? यदि भूटानभित्र “ल्होछम्” नामको कुनै जिल्ला पनि छैन, स्थान पनि छैन र जाति पनि छैन भने “ल्होछम्” के लाई अथवा कसलाई भनिएको हो?

यसरी यो “ल्होछम्” शब्द परिधिको आधारमा मापनयोग्य पनि छैन । स्थान, वस्तु, जाति, व्यवहार, भाषा, संस्कृति— कुनै आधारमा पनि यो शब्द अर्थपूर्ण छैन । अर्थविज्ञानको परिधिबाट यो शब्दलाई अथ्र्याउने हो भने यो त दक्षिण भूटानमा बसोबास गर्ने नेपालीभाषी भूटानीहरुलाई हिंस्याएर, होच्याएर दिएको तिरस्कारपूर्ण शाब्दिक उपहार हो । यसरी “ल्होछम्” शब्दभित्रको यथार्थता स्पष्टसँग बुझेर पनि चुपचाप असह्य शब्दको पगरी गुथेर बस्नु एक्काइसौं शताब्दीका विद्वत भूटानीहरुलाई कत्तिको शोभा देला ?

विगतमा जे जस्तो भए पनि हामी नेपालीभाषी भूटानीहरुले अब “ल्होछम्खा” वा “ल्होछम”को ठाउँमा “नेपाली”नै प्रयोग गर्नु पर्दछ । यसो गर्दा गलत अर्थ लगाएर नेपाली शब्दको वकालत गरेको अथवा नेपालका नागरिकसँग साँठ गाँठमा वकालत गरेको आरोप लगाईन सक्तछ । तर आफ्नो पहिचानलाई स्पष्ट राख्दा नेपालका नेपालीसँगको झूठो साइनो भिराउनु गलत हुने छ । जसरी अमेरिकामा बस्ने भारतीय मूलको अमेरिकीले हिन्दी बोल्दा ऊ भारतीय नागरिक बन्न सक्तैन, त्यसरी नै नेपालीभाषी हुँ अथवा मेरो मातृभाषा नेपाली हो भन्दैमा कोही पनि नेपालको नागरिक बन्न सक्तैन । नागरिक्ता जबरजस्ति भिराईने वस्तु पनि होइन । नेपालीमूलका भूटानीले आफूलाई र आफ्नो बोलचालको भाषालाई नेपाली भनेर चिनाउनु “ल्होछम” शब्द भन्दा धेरै सान्दर्भिक, तार्किक र अर्थपूर्ण रहन्छ । किन भने “ल्होछम्खा” वा “ल्होछम” भाषा विश्वमा काहीँ पनि छैन । यसको लिपी पनि छैन र साहित्य पनि छैन । भाषा नै विनाको नाममात्र राख्नुको औचित्य पनि छैन । हामीले बोल्ने, पढ्ने वा लेख्ने मातृभाषा भनेको नेपाली नै हो । जहाँ ब्राह्मी लिपिबाट विकसित देवनागरी लिपि प्रयोग गरेर नेपाली शब्द लेखिन्छ वा ती शब्दहरु बोलिन्छन्, त्यो भाषा नेपाली नै हुन्छ, “ल्होछम्खा” बन्दैन । भूटानमा बसियो भनेर भूटानी नेपालीले आफ्नो मातृभाषालाई भूपाली, अथवा भारतमा बस्ने नेपालीले आफ्नो भाषालाई भारपेली भन्नु अत्युक्ति नभए झैँ नेपालीभाषी भूटानीलाई “ल्होछम्पा” वा “ल्होछम्” भन्नु पनि अर्थपूर्ण हुँदैन । अब हामी सम्पूर्ण नेपालीभाषी भूटानीहरुले हामीलाई सम्बोधन गरिने शब्द “ल्होछम्पा” वा “ल्होछम्खा” वा “ल्होछम” को स्थानमा “नेपाली”लाई प्रतिस्थापन गर्नुपर्दछ । भूटान अब प्रजातन्त्र र अन्तर्राष्ट्रिय जगतमा मानव अधिकार संरक्षणको वकालत गर्ने मुलुक भएको छ । भूटानमा साँचो अर्थमा प्रजातन्त्र स्थापना भएको हो, मानव अधिकारको स्वतन्त्रता भएको हो भने प्रजातान्त्रिक मुलुकका जनताले सरकार समक्ष आफ्नो गुनासो स्पष्ट राखेर परिवर्तन ल्याउन सक्नु पर्दछ । आफूलाई तिरस्कृतरुपमा प्रयोग गरिएको शब्दमा परिमार्जन गराउन सक्नु पर्दछ र भन्नु पर्दछ— हामी “ल्होछम्पा” होइनौं– नेपाली भाषी भूटानी हौं ।

सम्पादक

One Reply to “सम्पादकीय”

  1. Devendra Gautam

    The persons who are after BHUPALI should read this article with sound mind for their better reference.

Leave a Reply

Your email address will not be published. Required fields are marked *