सम्पादकीय: भानु जयन्ती र हाम्रो सन्दर्भ

भूटानी साहित्यिक सन्दर्भमा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइने गरेको सन्दर्भ नयाँ होइन। हामी नेपालका शिविरहरूमा हुँदा प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू हुने गर्दथे। सन् २००९ मा Bhutaneseliterature.com को स्थापना भएपछि यसरी मनाइने कार्यक्रमहरूले फरक रूप धारण गर्न थाले। हामीले २००९ र २०१०  मा अनलाइनमै गीति प्रस्तुति, रचना वाचन, विचार-विमर्श अनि विशेषाङ्क प्रकाशन गरेका थियौँ। त्यसपछिका केही वर्ष हामीले भानु जयन्तीका यस्ता विशेषाङ्कहरू प्रकाशन गर्न सकेनौँ तथापि आज फेरि यसै अवसरमा विशेषाङ्क प्रकाशित गर्ने जमर्को गरेका छौँ।

सन् १८८४ सालमा “सुन्दरकाण्ड” र १८९१ मा “जीवनी: कवि भानुभक्तको” प्रकाशित गरी कवि मोतीराम भट्टले पहिलो चोटि कवि भानुभक्तको सन्दर्भ उल्लेख गरेका हुन्। भानुभक्तलाई नेपाली समाजमा स्थापित गराउने उनको पहलमा नेपालबाहिर सिक्किम र दार्जिलिङबाट विशेष सहयोग प्राप्त भएपछि कुनै औपचारिक घोषणाबिनै भानुभक्तलाई आदिकविको उपमा दिएको सन्दर्भ इतिहासमा उल्लेख छ। आजका अनुसन्धाताहरू भानुभक्तलाई आदिकवि भनिनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने विषयमा विभाजित देखिन्छन्।

यस विषयको निर्क्योल गर्ने जिम्मा अनुसन्धाताहरूलाई नै छोडेर हामीले लामो समयदेखि महत्वकासाथ मनाउँदै आएको एउटा भाषिक तथा साहित्यिक पर्वलाई निरन्तरता दिने जमर्को गरेका छौँ। हाम्रा निम्ति वर्तमान परिप्रेक्ष्यमा भानुभक्तका सन्दर्भमा आउने गरेका विवादित विषयहरू गौण कुरा हुन्। महत्त्वपूर्ण कुरा के हो भने यसरी एउटा विशेष पर्वमार्फत भाषा र साहित्यको उन्नतिकालागि हाम्रा कलमहरू चल्नु र साहित्यिक कार्यक्रमहरू आयोजना हुनुको खास औचित्य छ। हामी यति बेला एउटा विशेष परिस्थिति बाँचिरहेका छौँ। हाम्रा बालबच्चाहरूले आफूहरू जाने स्कुलमा औपचारिकरुपमा नेपाली भाषा सिक्दैनन्। अनौपचारिकरुपमा सामाजिक संघसंस्थाहरुको मार्फत सञ्चालन हुने गरेका नेपाली स्कुलहरू पनि उति धेरै व्यवस्थित हुन सकेका  छैनन्। यस्तो अवस्थामा नेपाली भाषाका लागि गरिने यी र यस्तै कार्यक्रमहरूले हाम्रा बच्चाहरूकालागि भाषा सिकाइका खुराक तथा उत्प्रेरणा मिल्न सक्यो भने हामीले यस्ता कार्यक्रमहरू सफल भएको मान्नुपर्ने अवस्था छ।

खुसीको कुरा जसरी भानु जयन्तीको सुरुवात विदेशी भूमिबाट भयो त्यसरी नै यसलाई विश्वका विभिन्न कुनामा पुर्‍याउने कार्यमा पनि विदेशी नेपालीहरूले ठुलो भूमिका निर्वाह गरिरहेका छन्। यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्न सके हाम्रो सन्दर्भको साहित्यको उन्नति हुनुका साथै नेपाली भाषा सिकाइकालागि स्रोतसामग्री निर्माण हुने कुरामा दुई मत नहोला !   

सम्पादक
Bhutaneseliterature.com
साहित्य परिषद भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *