सात समुद्रपारि ‘अम्रिका’
सुशील पोखरेल
दक्षिण अष्ट्रेलिया
अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । दुवैजना अनितासित सारमा सार मिलाउँदै आ-आफ्नो नाङ्लाको चामल केलाउन थाल्छन् । सधैँ जस्तै आज पनि उनीहरुबीच निकै बेरसम्म बातचित हुन्छ । देउका र सीताको कुरामा हो मा हो मिलाउँछिन् अनिता । “यो बगडा पनि कति साह्रै कालो मिसाएको , छान्दा छान्दै एकपावा भइसक्यो , कनिका उत्तिकै छ । सकिँदैन त, कुनै पाली पनि राम्रो चामल आएन हौ…….. ”, चामल केलाउने क्रममा सीता र देउकाको कुराको लहरो लम्बिएरै जान्छ । भूटान छोड्दादेखि लिएर शिविरसम्मका भोगेका दुःख–सुखका कुरा एकैचोटि उकेल्ने प्रयास गर्छन् उनीहरू । निकै बेरदेखि दुवैका कुरा सुनिरहेकी अनितालाई हेर्दै देउका कुरो केट्याउँछे–“एई दिदी, यत्तिका बेरसम्म तपाईँ चैँ किन चुपचाप, हाम्रो मात्र सुन्ने कि आफ्नो पनि भन्ने?”
“खोइ के भन्नु, कुरो नै छैन ” अनिता छोटो जवाफ दिन्छिन् । सधैँ जस्तै आज पनि घण्टौंसम्म बगडाको कालो छान्ने क्रम चल्छ उनीहरूको । यही समय हो भेला भएर कुरो केलाउने र मन हलुको पार्ने पनि । दिनभरि प्रायः सुनसान रहेको छाप्रो अगाडिको सडकमा अहिले आएर मानिसको चहल–पहल बढेको छ । “ए…. गफै गफमा तीन बजी सकेछ”, यसो भन्दै सबै जर्याक्जुरुक उठ्छन् नाङलाको चामल बोकेर । नानीहरू स्कुलबाट आउने बेला भयो । दुवै एक–एक गर्दै आ–आफ्नो छाप्रोतिर लाग्छन् । “कसलाई सुनाउनु र ती विदीर्ण दिनका कुराहरू……..”– अनितालाई लाग्छ । सीता र देउका गएको हेर्दै, “बिचरीहरुलाई सुनिदिए पुग्छ” मनमनै भन्छिन् उनी । केलाएका चामल छाप्रोभित्र पुर्यार्इ उनी फेरि बाहिर आउँछिन् । आँगनको डिलमा टुसुक्क बस्छिन्, कुन्नि के सोचाई परेकोछ मनमा आज । के भन्नु र ! दुःख बाँड्नु बाहेक अरू के नै पो हुने हो र, जो भोग्न लेखेको थियो भोगियो, अझै कति हो । भूटानबाट निस्कनेबित्तिकै श्रीमान् औलो लागेर थला परे । आसामको द्मौसुरेमा एक महिना बिरामी स्याहारेर बसियो अर्काको घरमा । पछि बल्ल बल्ल शिविरमा त ल्याइयो, बिरामी झन् झन् साह्रै भए । पछि मात्रै थाहा भयो, उनलाई जन्डिस पनि भएको रहेछ । समयमा औषधी गर्न पाइएन । एकरात उनी कहिल्यै नआउने बाटो गए आफूलाई एक्लै पारेर । धेरै दिनसम्म उनी रोएकी हुन् शिविर भित्रको एकान्त छाप्रोमा । नियति नै यस्तै रहेछ । रोहन पेटमा भएको बेला यो विधिको प्रहार खप्नुपरेको हो उनले । श्रीमान् बितेको अर्को महिना छोरो रोहन जन्मियो । अहिले रोहनले एक्काईस वर्ष पार गरिसकेको छ । कति छिटो दिन बित्दो रहेछ । दिनपछिको रात गर्दै एउटा जुग बितिसकेछ । त्यस ताकका ससाना नानीहरू यतिखेर लक्का जवान भइसके । भूटान फर्कने सपना बोकेका धेरै बूडाबूडी यहीँ बित्दैछन् । नयाँ पिँडी अघि आउन थाल्यो । ससाना नानीहरू बढेर ठुला देखिन थाले । कतिको यहीँ बिहे भइसक्यो । उमेर अनुसार रोहनलाई पनि छोरी दिने प्रस्ताउ निकै ठाउँबाट आएका हुन् । पढ्दै गरेको छोरालाई थप भार किन बोकाउने ? अनितालाई ती प्रस्ताउ स्वीकार भएनन् । उनलाई लाग्थ्यो सानै छ छोरो । रोहनले पनि बिहे गर्न चाहेन । अनिताले यहाँ आइकन परिवर्तनका अनेक लहर देखेकी छन् । अनेक आरोह अवरोहबीच उनले पनि बाँच्न सिकेकी छन् । शिविर आएको समयमा उनी हट्टाकठ्ठा थिइन्, दिनभरि परिश्रम गर्नसक्ने शरीर थियो । अचेल त्यो बल छैन । चेस्मा नलाई पढ्नै सकिन्न । आँखाले झिनो– झानो देख्न छोडेको छ । पहिला पहिला चामल केलाउँदा चेस्मा चाहिँदैनथ्यो उनलाई । अचेल चेस्माबिना झिनो मसिनो देख्नै सकिन्न । बिस्तारै अनुहार चाउरिन थालेको छ । घट्दो शरीर । झर्झराउँदा काला केशराशि अचेल कता कता सेता हुन थाले । रातीको छोटो निद्रा तर बिहान छिटो उठ्न सकिँदैन । बुड्यौलीको लक्षण हो यो । उमेरले पनि दुईकोरी पाँच पार गर्दैछ । उनलाई आफ्नो शरीरले जवाफ दिन थालेको छ जस्तो लाग्छ । तर, शिविरकै हिलो–धुलोमा हुर्के बढेको रोहनमा नयाँ जोस र जाँगर पलाएको छ । कल्कलाउँदो उमेरसँगै अब त उसका कुरा पनि छिप्पिन थालेका छन् । उ सेक्टर स्कुल र सेकेण्डरीको पढाई सकेर दमकको एउटा कलेजमा अन्तिम वर्षको छात्र हो । भूटान फर्कने आशा मरिसकेको छ उसको । दौंतरी साथीहरुसित निकै दिन पार्टीको दौडाहामा पनि नलागेको होइन ऊ । पहिला पहिला त कुरो सुन्नै मान्दैनथ्यो । अचेल उसको विचार पनि आन्दोलन जस्तै थाकिसकेको छ । के को पार्टी र राजनीति ! पार नलाग्ने काममा किन समय खेर फाल्ने ? राजनीति छोडेर केही पैसा कमाउने तरखरमा लाग्नु उचित होला । एउटा बाध्यता बिचको कुरो थियो उसको यो । आफूसँगैका कतिपय साथीहरू शिविर बाहिरका स्कुलमा पढाउन गइसके । एक्ली आमा छोडेर टाढा जान पनि त सकेन उसले । छुट्टीको समयमा दमकमा रोजगारीको काम गरेको हो उसले महिनौं दिनसम्म । सीमेण्ट, ढुङ्गा, गिटी र बलुवा बोक्ने काम । शिविरबाट धाएर शरणार्थीले गर्ने यी खाले कामको कतैबाट विरोध हुने गर्दैन ।
बस्ती र बजारका गल्ली– चोक छेउछाउमा शरणार्थीले गर्न पाउने सस्तो काम हो यो । शिविर स्थापना भएपछि बस्तीका कतिपय घर उँभो लागेका हुन् । धान काट्ने, दाउरा बोक्ने, खेतबारीमा खनजोत र रोपाईँ गर्ने जस्ता बाह्रै कालका काम शरणार्थीकै भरमा चल्ने गर्छन् अचेल । यस्तै कामबाट गैर–शरणार्थीले प्रशस्तै फाइदा उठाएका छन् । स्थानीय मजदुरले पाउने दैनिक रोजगारीभन्दा सरदर तीन चौथाई कम दैनिकी शरणार्थीले पाउने गरेका छन् । तै पनि काम गर्नैपर्यो । सयौँ शरणार्थीले जस्तै आफ्नो आधारभूत खाँचो पूरा गर्न रोजगारी गरेको हो रोहनले पनि । यो खटाइबाट कमाएका रुपियाँले एउटा मोबाइल, साइकल र केही जोडी लुगा किनेको छ उसले । अचेल आफ्नो साइकलबाट बेलडाँगीदेखि दमक कलेज आईजाई गर्ने गरेको छ उसले । अनिता पनि पहिला पहिला त देश फर्कन पाउने आशामा थिइन् । तेस्रो देश पुनर्वाशमा आफन्त जति धमाधम जान थालेपछि त्यो झिनो आशा मरिसकेको छ । मन अलमल्ल भएको छ । छोराको विचार भने जसरी पनि अमेरिका जाने छ । धेरैपल्ट यसै विषयमा आमा छोराको तर्क चलेको हो । “आमा ! शिविरमा कुनै भविष्य छैन, अर्काले दिएको भरमा कति दिन बाँच्ने, सबै धमाधम जाँदैछन्, पथरीबाट मामा र गोलधापबाट काकाको परिवार अघिल्लो साता अमेरिका उडिसक्यो ”, छोराका यस्तै सधैँ जिद्दी कुरा सुनेर अनिता रुन्थिन् । सँगैका दौंतरी साथी शिविरबाट तेस्रो देश पुनर्वाशमा गएपछि रोहनको मन पनि नरोकिएको हो । ऊ आमालाई मनाउने प्रयासमा छ । “नानी, यस माटोमा बिस वर्षदेखि मेरो माया गाडिएको छ, शिविर त हो, हाम्रो कुनै दर्जा पनि छैन यहाँ, हामीलाई स्थानीय मानिसले पशुभन्दा उपल्लो दर्जाको मान्दैनन् भन्ने कुरो मलाई थाहा छ , तर, पनि बसुञ्जेल र बाँचुञ्जेल यो छाप्रो मेरो लागि भूटानकै घरसरह भएको छ । यसै छाप्रोबाट तिम्रा बाबाको अन्तिम बिदाइ गरेकी छु मैले, तिमी जन्मिएकै थिएनौ त्यतिखेर ! आज पनि तिम्रा बाबाको आत्मा यतै उतै छ जस्तो लाग्छ, सपनामा पनि देखि रहन्छु”, अनिताका आँखाभरि आँसु हुन्छन् । “भावनामा बग्न छोडेर वास्तविकतामा बाँच्न सक्नुपर्छ आमा, मरेर गएको मान्छे कहिले फर्केर आउँदैन, मात्र उसको सम्झना रहने हो । बाबा मैले कहिले देखिन, यसो फोटो हेर्छु, जीवित नदेखे पनि अनुहार देख्छु फोटोमा । त्यतिमै चित्त बुझाएको छु । अब शोक–सुर्ता रुवाई–धुवाई छोड्नुपर्छ । भूटान फर्कन नपाउने भएपछि यस ठाउँमा बस्ने कुनै अर्थ पनि त रहेन, तेस्रो देश पुनर्वाश नै आजको विकल्प हो र यसलाई हामीले स्वीकार्नैपर्छ ।” निकै दिनको तर्क वितर्कपछि अन्ततःआमा छोराको अमेरिका जाने निर्णय हुन्छ । सोधखोज भएको दश दिनपछि आज दमक आइओएमको कार्यालयमा बोलाइएको छ उनीहरूलाई । फाइनल अन्तर्वार्ता हो आज । शिविर छेवैको सडकमा शरणार्थी ओसार्ने बसहरु सधैँ झैँ आज पनि लाम लस्कर लागेर रोकिएका छन् । आफ् आफ्ना झोला बोकेर बसभित्र चढ्न व्यस्त छन् मानिस । आज कसैको उड्ने दिन छ भने कोही अन्तर्वार्तामा जाने । कोही चैँ निवेदन हाल्ने तरखरमा छन् । वर्षौंदेखिको यो क्रम आज पनि जारी रहेको छ ।
बिदाइ । एउटा तितो अनुभवको क्षण । नचाहेर पनि आँखाबाट आँसु झरिहाल्छ । सबैसितको अन्तिम भेटघाट । वर्षौंदखि पालेको मनको मैलो धुने– पखाल्ने समय । साइनो र माया मोहको डोरीले खिँचेको छ कतिलाई । निधारमा रातो टीका अनि गलामा सयपत्रीको माला । भिजेका आँखा । रोकिएको बोली । वाक्य बन्दैनन् बोल्ने । मनका कुरा मनभित्रै रोकिन्छन् । हुक्का र रुवाई छुट्छ । बिदाइमा अरू रोएको देखेर अनिताका आँखाबाट पनि आँसु खस्छन् । “छि, यी निर्दयी आँसु पनि कति छिटो…….”.मझेत्रोको छेउले आँखा पुछ्दै मन कठोर पार्ने प्रयास गर्छिन् उनी । यो कस्तो बाध्यता ……, यसलाई बिदाइ भन्ने कि बिछोड……, मुखबाट निस्कन्छ । बसको झ्याल बाहिरबाट भित्र नियालेर कसैले कसैलाई भन्छ, “काठमाडौँ पुगेर फोन गर्नु है नानी ..? हुन्छ…..बा, .राम्रो बस्नुहोस् है…गाडीभित्रबाट उत्तर दिन्छ कसैले । ….ए झोला त बिर्सिएन, हेर है ?” कसैले कसैलाई अह्राउँछ । तर एकले अर्काको सुन्ने फुर्सद छैन त्यहाँ । हतारको समय । कस्तो वियोग ! “सबै तयार भयौ, ल..ल…..है त, आ–आफ्नो सिटमा बस्ने ……” गाडीका कर्मचारीको आदेश हुन्छ । केही क्षणमै गाडीले बाङ्गे बजार छिचोली सक्दासम्म हात हल्लाई रहेका छन् आफन्तजन आँखाभरि आँसु लिएर । वर्षौंदेखिको यो क्रम आज पनि त्यत्तिकै छ । हिजोका कतिपय छिमेकी आज अमेरिका, अष्ट्रेलिया, नर्वे र नेदरल्याण्ड पुगिसकेका छन् ।
सधैँ खाली भएजस्तै आज पनि दुई दशकदेखि स्याहार सुसार गरिल्याएका कतिवटा छाप्रा खाली भएका छन् शिविरभित्र । एकैछिनमा यी खाली छाप्राका बाँस र चित्राहरुमा तानातान हुनेछ छिमेकी छिमेकीहरुबीच । यो लुटाईको काम हो भन्ने लाग्छ कतिलाई । अन्ततः कसैको सब्जीबारी हुनेछन् यी घडेरीहरु । भूटान फर्कने दशकौं लामो प्रतीक्षा र सपनाको अन्त हो यो । यहाँ प्रत्येक दिन कसै न कसैको सपनाको अन्त्य हुने गर्छ । वर्षौंदेखि यस्तै असफल इतिहास दोहोरिँदै आएका छन् भूटानीहरुबीच । निराशा शरणार्थीहरुले बिरासतमा पाएको जस्तो छ । न शरणार्थी फर्कन पाए न त राजनीतिक सुधार नै भयो भूटानमा । एकएक गरेर पुग्दैछन् सात समुद्र पारिका देशहरूमा सदा सदाका लागि । एक चूडान्त पराजय । यस्तै पराजयका भागिदार बनेका छन् आज अनिता र रोहन पनि । शिविरमा अन्तिम दिन हो आज उनीहरूको । आजदेखि यहाँबाट उनीहरूको रसोबासो उठ्दैछ । आज पाँचौँ दिन डीएचएस र मेडिकल सकिएको । आवश्यक सबै प्रक्रिया पूरा भइसकेका छन् । चारदिन अघि बाटो लाग्ने पुर्जी पाइसकेका हुन् उनीहरूले । तयारीको चौथो दिन आज उनीहरूको । बिस बिस केजीका झोला र सानो हाते व्याग । यति नै हुन् उनीहरूका श्रीसम्पत्ति । हजारौँ हजार माइल टाढा देशको सफर । दुइदशक पछिको बसाइँ सराई हो यो । एउटा अथाह देशमा डेरा जमाउन गइरहिएको छ । बिहानको पहिलो प्रहरदेखि नै उनीहरू तयारीमा लागेका छन् ।
छिमेकीहरूको आउने र जाने क्रम जारी छ । “ल है बहिनी ! राम्रोसित जानू”– छिमेकीहरूको यो भनाइ नै उनीहरूको आशीर्वाद हो । एकखेप फेरि आँसु बगाउने समय आएको छ । सबैको अनुहार गम्भीर छ । आजको खाना पनि छिमेकी सान्दाइको घरमा खाए उनीहरूले । सान्दाइ, वर्षौंदेखिका दाजु हुन् अनिताको । साइनो छैन । मनले मानेका दाजु । तिहारमा टिको लाउन थालेको पनि एघार वर्ष पुगेछ उनलाई । दुःख–सुखमा सोध्ने दाजु । अचेल उनी प्रतिनिधि पनि हुन् आफ्नो युनिटका । आफू बस्तीमा काम गर्न गएको बेला उनैले साग–सब्जी, तेल, कोइला र राशिन ल्याइदिने गरेका छन् । अनलोडिङ्मा चामलको बोह्रा बोक्न आजसम्म जानु परेको छैन आफूले । दाइसितको बिछोड पनि असह्य भएको छ अनिता र रोहनलाई । हिड्ने बेलामा सबैथोक अजीव जस्तो लाग्छ । के के नमिलेको जस्तो । केही बिर्सँदै पो छु कि जस्तो पनि लाग्छ । वर्षौंदेखिको यो सानो छाप्रो आज बिरानो देखिन थालेको छ । छ्याङ्ग उज्यालो हुन्छ । प्रत्येक बिहानीको जस्तै आज पनि सिसौका रुखमा चराहरुको चिरिबिरिको आवाज छ । सँगै छाप्रो अगाडिको सडकमा घाँस दाउरा गर्न जङ्गल जानेहरुको दौडाहा छ । घामको ज्योतिले छाप्राको बारबाट छिरेर “एई…. हिड्ने बेला भयो”, भने जस्तो लाग्छ उनलाई । वरपरका छिमेकी पनि आ–आफ्नै दौडाहामा छन् । कोही भन्छन् मेरो त तीन महिना ढिलो हुने पर्यो, कोही मलाई त खोकायो हौ भन्दै प्रक्रियाका कागजपत्र बोकेर हिड्छन् । कोही भने मेरो त मागेकै ठाउँमा परेछ भनेर खुसी भएका छन् । कोही परिवार नछोड्ने छन् भने कोही आपसी मनमुटावका कारण एक्लै अर्को देशमा जाने तरखरमा छन् । आफ् आफ्नै समस्या र गुनासा । अनिता र रोहनलाई आफ्नै सासु–आमैको परिवारसित परामर्श गर्ने कुनै आवश्यकता अनुभव हुँदैन । किन सोधखोज गर्ने, एउटै सेक्टरमा बसेर पनि आई–जाई नै छैन हाम्रो । यो घरको बाटो हिड्नसम्म छोडेका छन् उनीहरू । हामीले के बिजाईँ गरेका थियौँ र ! नमिठो अनुभव हुन्छ अनितालाई । उनलाई राम्रो थाहा छ त्यसदिन बिहान पानीको जर्किन लाइनमा राख्न जाँदा सासु आमैले भनेका काँडाजस्ता तिखा वचन । “बोलाएको बेला आउन छोडिस् होकि, निकै ठूली भइस् कि क्या हो……. मैया ?” “हैन आमई, त्यो दिन म बस्तीतिर काम गर्न गएकी थिएँ, यसो केही पैसा नकमाए अर्को उपाय छैन, रोहनलाई एकसरो लुगा र केही खर्च पनि त जुटाउनु थियो ”, उनले सो दिन आफू आउन नसकेको कारण जनाएकी थिइन् । “तँलाई थाहा छ ! दशजना पाहुनालाई एक्लै खाना पकाएर खुवाउनु पर्यो मैले, परेका बेला नसघाए कहिले सघाउने, आफ्नै मात्र कुरो गर्छेस् । एई…आफू नआए पनि नातिलाई जा है भन्नु नि, एक्लै दौडाहा गर्न खुब रमाइलो लाग्छ हो कि, मति राम्रो भएको भए पोइलाई अघि लाउने नै थिइनस्”, आमईका काँडा जस्ता तिखा वचन सुनेर अनितालाई सही नसक्नु हुन्छ । यस्ता वचन उसले यसअघि नसुनेकी होइन, नसहेकी पनि होइन । आमईको बानी नै यस्तै हो भनेर उसले टारिदिने गरेकी थिई । तर अब अति भयो, आज उसलाई जवाफ दिन मनलाग्छ । “आमई त्यति साह्रै नभन्नु होस्, मैलेभन्दा पहिला तपाईँले ससुरालाई भूटान मै अघि लाईसक्नु भएको छ ! मलाई के दोष दिनुहुन्छ, छोराको चिन्हा हेरेर नै मलाई बिहे गर्नु भएको थियो होला ?” अनिताको कुरो भुइँमा झर्न नपाउँदै, “ए….. अझ कड्केर जवाफ लाउँछेस्, नकच्चरी……..तेरो ढाड भाँचिदिऊँ……”, सासु आमई रिसले रन्किँदै आफ्नी छिमेकी लिम्बुनी बोजूको छाप्रो बारेको बारबाट एउटा भाटो तान्न खोज्छिन् । हो..हल्ला सुनेर वरिपरिका मानिस “ए के भयो” भन्दै जम्मा हुन थालिसकेका थिए । “ए आमई यो के को फौजदारी गरेको”, भन्दै सेक्टरका प्रतिनिधि र अरू मानिस पनि त्यहीँ आइपुगेका थिए । सबैले आमई, तपाईँ चुप लागेर घरतिर जानु होस्, दिदी पनि पानी भरेर फर्कनु होस्, यो फौजदारी गर्ने ठाउँ होइन–भनेपछि मामिला शान्त भएको थियो । त्यस दिनदेखि कहिले पनि आमईको परिवार अनिताको घरको बाटो हिँडेन । आई–जाई नै बन्द भएको हो । अब जाने भइयो, सात समुद्र पारी, कहिले नदेखेको नसुनेको ठाउँ…., भाषा संकृति नै फरक, चालचलन नै अलग……, रहन सहननै भिन्न छ रे..उता त…, अनिता मनमनै विचार गर्छिन् । हो त नि, अब हामीले किन सोधखोज गर्न जाने । एकथोक प्याच्च भनिदेलान् । मन मात्र अमिलो हुन्छ । हिड्ने बेलामा किन मन बिगार्ने । जसलाई जता मनपर्छ उतै जाने । जहाँ गए पनि निर्णय आफ्नै हो । साइनोले मात्र आफ्नो भएर पुग्दैन, मन आफ्नो हुनुपर्छ । उनीहरू मनले कहिले आफ्नो भएनन् । “एई ! तँलाई के दुःख छ भनेर कुनै दिन एकबात सोधे र मलाई !’’ हामी अमेरिका उड्ने निधो भएको थाहा पाएपछि मेरो घरको ताँबाको गाग्री चैँ उनकोमा पठाइदिनु भनेर खबर गरिछिन्, बुढीलाई लोभ चैँ कति लागेको नि ! कहिले कुनै चीजले पुग्ने होइन । लोभ किन गर्ने । भूटानबाट निस्कँदा के थियो र हाम्रो साथमा । रित्तै आएका थियौँ, आज पनि रित्तै जाँदैछौं । बुहारी भएको नाताले मैले जहिले पनि त्यस घरमा काम न गरेकी छैन । दसैँ होस् वा तिहार, पाठ–पूजाको समय होस् अथवा श्राद्ध कर्मको बेला । मैले नै त्यस घरमा लिपपोत गर्दै आएकी छु । काम धन्धा सबै मेरै हातबाट उत्रन्छन् अझै पनि । उनीहरू मेरो छाप्रोमा नआए के फरक पर्छ र ! मैले ठुला घरको काम गरेर इज्जत राखेकै थिएँ । एउटी बुहारीले त्योभन्दा अधिक के गर्नसक्ने ।
यत्तिकैमा बाहिर कोही आएजस्तो लाग्छ अनितालाई । “के छ बहिनी, गहिरो चिन्तामा परेजस्तै छौ त, म देख्दैछु एक घण्टा भयो तिमी घरबाट बाहिर निस्केकी छैनौ, किन घोरिएर बसेकी……. ” सान्दाइ दैलोबाट ह्वात्त भित्र पस्छन् । “केही चिन्ता परेको छैन, बस्…. अब जानु छ टाढा…., धेरै टाढा, …….अथाह बाटो, बिरानो मुलुक, मनलाई तयार पार्ने प्रयास गर्दैछु । दाइ ! तपाईँलाई एउटा दायित्व दिएर जान मन लागेको थियो तर, भन्न पो सकिरहेकी छुइनँ”, अनिता अक्मकिन्छिन् । “के दायित्व दिँदैछौ बहिनी, भन केही अप्ठ्यारो मान्नु पर्दैन”, उनी आश्वस्त पार्छन् अनितालाई । “भरोसा लिएको छु, दाइ, तपाईँले एउटा काम गरिदिनु हुन्छ भनेर । कुरो के हो भने हामी हिँडेपछि यो मेरो खाट, टेबल, यी भाँडा, झर्के थाल, बटुका, यो ताँबाको गाग्रो, यी ओड्ने लुगा, रोहनको साइकल अनि यी दुई हजार भारु मेरी सासु–आमाको घरमा पुर्याई दिनुपर्यो, दाइ ! यो काम म आफैँ पनि गर्नसक्ने थिएँ तर, हाम्रो आई–जाई र बोलचालै छैन”, रुपियाँ सान्दाइको हातमा थमाउँदै अनिता एकैचोटि भन्ने कुरो सिद्घयाउँछिन् । अचम्म मान्दै, “माया लाग्छ सासु आमाको ….?” निधार खुम्चिन्छ सान्दाइको । “अँ त दाइ, चुल्ठो जोडेकी सासु हुन्, जे जसो भने पनि माया त लाग्छ नै, अब देख्न पाइने हो वा होइन, कुन देश जाने तयारीमा छन्, त्यो पनि थाहा छैन, मसित स्पष्ट कुरो गर्ने होइनन् ।” अनिता भावुक हुन्छिन् । “सामान त दियौ ठिकै छ तर, यत्रो रुपियाँ किन, परदेशमा चाहिँदैन तिमीलाई ?” उनी जिज्ञासा गर्छन् ।” पैसाको खाँचो त उनीहरूलाई पनि छ, मैले यतिका वर्षसम्म बस्तीमा रोजगारी गरेर जोहो गरेका जम्मा अरू पाँच हजार नेरु छन् मसित, यति भए पुग्ला”, उनी भन्छिन् । “लौ कुरो बुझेँ, साह्रै दया– मायाको काम गर्यौ है बहिनी, अबगुनिलाई गुनले जित्नु भनेको नै यही हो । जसो तिमीले भन्यौ त्यसै गरिदिउँला”, सान्दाइ अनिताले भनेका सामग्री हेर्न थाल्छन् ।
पल्ला छाप्रोमा बस्ने केटाहरुलाई बोलाउँदै “रमेश,तिमी र शोभन मिलेर अनिता दिदीका यी सामान पर ठुला घर आमईकोमा पुर्याइदेऊ है अहिले नै, एकैछिनमा म आउँदैछु ल…” सान्दाइ छिमेकी केटाहरुलाई अह्राउँछन् । केही बेरपछि, “लौ हेर गाडी आइसक्यो ढिलो नगरौं”, भन्दै उनी अनिता र रोहनको ब्याग साइकलमा झुण्ड्याउँछन् । “लौ त बहिनी बाटो लागौं है” साइकल लिएर उनी अघि बढ्छन् । अनिता र रोहन आँगनमा के निस्किएका मात्रै थिए सीता र देउका हातमा थाली बोकेर आइपुग्छन् । अहिले सम्ममा केही छिमेकीहरूको समेत जमघट भइसकेको हुन्छ त्यहाँ । “एई दिदी यो बिदाइको टीका”, भन्दै दुवैले रातो टीका अनिता र रोहनको निधारमा लाइदिन्छन् । “लौ दिदी बाँचिरहिएछ भने भेट होला, यतिका वर्षसम्म सँगै बसियो, केही भनी बिराइएको छ भने माफ गर्नुहोला”, सीता र देउका अगाडि बोल्न सक्दैनन् । उनीहरू रुँदै आफ्नो छाप्रोतिर लाग्छन् । अनिता र रोहनका पनि आँखा भरिन्छन् । “मलाई पनि आफ्नै बहिनीहरुसित बिछोड भएजस्तो लागि रहेको छ”, उनी बोल्छिन् । एकै छिनमा दुवै आमा छोरा आईओएमको बसमा चढिसकेका हुन्छन् । उही बिदाइ, मानिसको भिडभाड, रुने धुने क्रम पनि उही । आशीर्वाद दिने र लिने पनि उत्तिकै छन् । आज वातावरण अलिक गम्भीर बनेको छ । “लौ त बहिनी राम्रोसित जानू, म ठुला घरमा सासु आमालाई अघिको त्यो सामान र पैसा जिम्मा लाउन जाँदैछु है…” भन्दै सान्दाइ त्यहाँबाट बिदा हुन्छन् । “दाइ ! अर्को तिहारको टीका अमेरिका मै लाउने है, म पर्खिरहन्छु, प्रक्रिया सकेर छिट्टै आउनुहोला”, अनिताका आँखा आँसुले भरिन्छन् । योभन्दा अधिक उनी बोल्न सक्दिनन् । केही समयपछि, “लौ त सबैजना बसिसक्नु भयो ?” उही पहिलाको जस्तो एकैखाले सोधाई । “हजुर हामी बसिसक्यौं”, पुनर्वाशमा जानेहरु एकसाथ बोल्छन् । बसको दैलो बन्द गर्छ कसैले झ्याम्म ….। एकै छिनमा बस बाङ्गे बजार छिचोलेर फरेष्ट अफिस अगाडिको सडक पार हुँदै दमकतिर लागिसकेको हुन्छ । सडकसितै जोडिएको लिम्बुनी बोज्यूको पल्लो छाप्राको सानो झ्यालबाट एकजोडी आँखाले अघिदेखि बिदाइको यो दृश्य चियाइरहेको हुन्छ । बस गुडेपछि अब त्यहाँ मानिसको आईजाई घट्दै जान्छ । बिदाइको त्यो रमिता हेरिरहेकी लिम्बुनी बोज्यू पनि आफ्नो आँगनमा कुखुराका चल्लालाई चारो हाल्नपट्टि लाग्छिन् । त्यो सानो झ्यालबाट अहिले सुँक्क सुँक्कको आवाज मात्र आउँछ । लिम्बुनी बोज्यूका आँखा त्यस झ्यालतिर पर्छन् । “के गर्छौ र बज्यै अहिले रुएर….., बेलामा बुहारी चिनेन तिमीले, स्वर्गाको परी जस्तो गुनी बुहारी पाएको थियौ, बैरी सम्झिपठायौ, छोरा मरिगए पनि बुहारी त बाँचेकै थियो नि, एक वचन मिठो बोल्नु सकेन तिमीले, अहिले उन्हारुले जित्यो तिमी हार्यौ बज्यै, भएको जेथो मेथो सबै तिमीलाई नै दिएर गयो त परैहरु सात समुद्र पारी, “अमरिका !” यति भनिसक्दा नसक्दा लिम्बुनी बोज्यूका आँखा पनि आँसुले भरिइसकेका थिए ।
यो पढ्दा मेरो आँखाबाट बरर आँसु बगे, मैले आफूलाई रोक्नै सकिनँ, आँसुसरि नै यो प्रतिक्रिया पनि लेख्दैछु। यो कथा होइन, न यो एउटा लेख मात्र हो, यो त पीडाले उकुस-मुकुस भएको एउटा सामूहिक अभिव्यक्ति हो। सुशील सर तपाईंको त्यो हँसिलो अनुहारमा यति पीडा पनि समेटिएको रहेछ, मैले लक्ष्यै काट्न सकिनँ, क्षमा चाहन्छु कति बिझाएँ होला…..
लेख्नुहोस् सर लेख्नुहोस्, ती मनका सम्पूर्ण पीडाहरू अक्षर बनिएर लेख, कथा, कविता, उपन्यासहरूमा समेटिउन- तपाईंको कलम नथामियोस् अन्तिम पीडासम्म।
पदम पराजुली
चम्पासरी, भारत
२ अगस्त २०११
सौराज राई,
३ अगस्त २०११ गान्तोक, सिक्किम, भारत
सुशील दाईद्वारा लिखित लेख सरसर्ती पढदा यो कथा होइन, तर उनीभित्र विगत २१ वर्षदेखि १ लाख १० हजार व्यक्तिभित्र उकुशमुकुश अवस्थामा रहेको दमित पीडाको अभिव्यक्ति जस्तो लाग्यो… म वहाँलाई सिलगढीबाट प्रकाशित हुने हाम्रो पहाड नेपाली दैनिकमा छँदा जुन दृष्टिले चिन्थे आज यो लेख पढेर मलाई लाग्यो वहाँलाई मैले राम्ररी चिन्न भ्याइन रहेछु…..
मलाई लाग्छ………समयले जति गुल्चे खेल्नु थियो खेलिसक्यो…….अब तपाईहरूको आँगनमा नयाँ बिहानी आएको छ…………….त्यसलाई सहृदय अंकमाल गर्नुहोस्…………… हुस्न मुबारक……कर्णेल मुअम्मर गद्दाफी जस्ताहरू बेरिया बिस्तार कस्नमा व्यस्त छन् भने नाथे त्यसको कति दिन पो चल्छ र………पाप धुरीबाट कराउँछ…………
तपाईको कलम निरन्तर चलिरहोस भन्ने शुभकामना चाहन्छु…………………..
सात समुद्र पारीको अमेरिका एउटा सिद्दहस्त कथाकारको कलमको सिर्जना. मानवीय पीडा र समबेदनाको यथार्थ चित्रण. आमोई, अनिता, रोहण, सान्दाईहरु केवल प्रतिनिधि पात्र. सासु बुहारीको बेमेल समाजको संस्कृतिक विसंगतिको नमूना फेरि पनि सामाजिक यथार्थ. बसाईं आफैंमा पीडादायी क्षण फेरि ‘आलो घाउमा नून नाछार काम्छा मो आधाम हो’ भन्ने गुमाने कै सम्झना यो कथा पड्दा झल्को आउछ ; जीवन एउटा यात्रा हो जहा विसंगतिका अनगिन्ति मोडहरु आउछन ; शुख त केवल विजुलीको पलक मात्र हो सबै जिन्दगी दुख कै सागर न हो भनी आत्मसात गरी एकाकार हुन चाहन्छन कथाकार ; ठेट शब्दको प्रयोगले पाठक कथा पडिरहेको होइन आफैले भोगिरहेको/ तय गरिरहेको यात्राको यात्री महसुस गर्दछ ; अनिताको श्रीमानको मृत्यु अन्तिम विसंगति होइन एउटा अनन्त यात्राको सुरुवात हो, जो कहाँ गएर यात्राको डोको बिसाउने हो र बाकि अतिरिक्त जीवन कसरी व्यवस्थापन गर्ने हो सबै अन्धकारको गर्तमा जिम्मा लगाएको छ ; इओम को बस, आँसु, भाबुकता, बिदाइका भावनाहरुको साटासाट एउटा अव्यक्त पीडाबोधको प्रतीकात्मक प्रस्तुति ; आमा पुराना कुरा अब विर्स , जीवन नयाँ पाराले बाँच्नु पर्छ भन्ने रोहनको अभिव्यक्ति सम्भावनाको खोजी र रात पछिको बिहानीको संकेत गर्छन कथाकार; ………. का दिन जान्छन ……. का दिन फर्कन्छनलाई पनि कथाकार आशाको दियो देख्छन ; यो कथा हो कि यथार्थ हो पाठक आफैले निरुपण गर्न लेखकले जिम्मा लगाएको मैले महसुस गरेको छु; भोगिसकेको कुरा त कथा नै त हुन्छ नि भोलिका लागि; यो त्यस्तै कथा हो भन्ने मलाई लाग्छ ; लेखकले आफ्नो अनुभूति व्यवस्थित रुपमा राख्दा यहाँ यो कथा हुनगयो तर यो सम्पुर्ण भुटानीहरुको साझा जीवनी हो, यो कथा पड्दा सबैले आफैलाई अनुभूत गर्छन, अस्तु ; तमसोमा जोतिर्गामय;
कृष्ण पोखरेल, इलाम, नाम्सालिंग ,नेपाल