सानो संसारका कुरा
सन्दर्भ: शरणार्थी सरोकार
बसाइसराइका अनेकौँ शृंखला पार गर्दै भूटान पुगेको हाम्रो सानो समाजले संचारसंग नजिक हुने मौका कहिल्यै पाएन। नब्बेको दशकअघिका कुराहरु नाटक जस्तै हुन थालेका छन् आज। सुरुका दिनहरुमा नेपालका शिविरहरुमा शरणार्थीका रुपमा बस्दा पनि हामी संचारसंग त्यति नजिक हुन सकेनौँ। बितेको एक दशकयता भूटानीहरुले आफैँलाई विभिन्न प्रकारले सुसेल्न थालेका छन्। यसै क्रममा जन्मिएको एउटा कार्यक्रम हो- शरणार्थी सरोकार।
उपत्यकाबाहिर त्यतिबेला घटना र बिचारलाई बिस्तारै विस्थापित गर्दैथ्यो कान्तिपुर डायरीको तरंगले। शिविरहरुमा सांग्रिला सन्देश, भूटान टाइम्स, सन्देश सप्ताहिक र भूटान जागरण बिस्तारै हुर्कँदै थिए। तर बिडम्बना, यी सबै एउटै कारणले बन्द भए- आर्थिक कठिनाइ। यसै समय सुरु भए हो- द भूटान रिपोर्टर। यो भने अनेकौँ चुनौतिहरु पार गर्दै बामे सरिरहेकै छ। थोरै पढ्ने बानी, कसैले गरेको असल कार्यको थोरै मात्र सही मूल्यांकन गर्ने रुग्ण मानसिकता र शरणर्थीजस्तो विकराल अवास्थाजस्ता प्रतिकूलता झेलिरहेको हाम्रो समाजले यी सबै चुनौतिपूर्ण कार्यहरुको उचित लेखाजोखा गरेको त पाइँदैन तर आज यही विकाशकालीन अवस्थाको संचार नै बिस्तारै सबैको आस्था पनि बन्दैछ। विभिन्न समस्याहरुसंग मुकाबिला गर्दै आवाजहीन शरणार्थीको भावना संप्रेषण गर्ने र उनीहरुका कुरा विभिन्न निकायसम्म पुर्याउने अद्वितीय कार्य गर्दैछ यही संचारले।
आज भूटानीहरुकातर्फबाट निकै धेरै कामहरु भएका छन्। तीन वर्षअघि सुरु भएको रेडियो कार्यक्रम शरणार्थी सरोकार यी तीनै वर्ष काठमाडौंस्थित नेपाल एफ्.एम् बाट अनवरत रुपमा प्रस्तुत भइरहेको छ। बिगत केही समयअघि दमकबाट पनि एकसाथ प्रसारणमा ल्याइएको उक्त कार्यक्रम आर्थिक कठिनाइका कारण बन्द हुन पुगेको थियो तर फेरि यसै महिनाबाट धरानस्थित गणतन्त्र एफ्.एम् बाट प्रसारण हुन थालेको छ।
भूटान मिडिया सोसाइटी (जो कार्यक्रम उत्पादक हो) द्वारा जारी विज्ञप्तीका अनुसार ९५.१ मेगाहर्ज गणतन्त्र एफएम धरानबाट गत अक्टोबर १८ देखि सो कार्यक्रम साप्ताहिक रुपमा बजाउन सुरु गरिएको हो । “नेपाल एफएम काठमाडौंबाट बज्ने शरणार्थी सरोकार अब स्याटलाइटको सहायतामा गणतन्त्र एफएम धरानबाट पनि सुन्न सकिन्छ,” विज्ञप्तीमा उल्लेख गरिएको छ । अब शरणार्थी सरोकार कार्यक्रम सबै शरणार्थी शिविर, भारतका केही जिल्ला र भूटान-भारत सिमानासम्म सुन्न सकिने भूटान मिडिया सोसाइटीले जनाएको छ। शरणार्थीका कथा-व्याथा अलावा भूटानी र भूटानी शरणार्थीसम्वन्धि ताजा गतिविधि, इतिहास, सुसासन, प्रेशको भूमिका र पुनर्वासपछिका विषयहरुलाई कार्यक्रमले समेट्ने सोसाइटीले जनाएको छ। नेपालबाहिरका श्रोताहरुलाई ध्यानमा राखेर भूटान मिडिया सोसाइटीले आफ्नो छुट्टै रेडियो वेबसाइट पनि बनाएको छ । सरोकारका सबै शृंखलाहरु इन्टरनेटको सहायतामा जहाँसुकैबाट पनि सुन्न सकिनेछ ।
तेश्रो देश पुनर्बास कार्यक्रम अन्तर्गत अमेरिका पुगेकी गंगा न्यौपानेको आर्थिक सहायतामा प्रसारण गरिनेछ यो कार्यक्रम। यद्यपि यो सहयोग पनि केवल छ महिनाकोलागि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शरणार्थीहरुको साझा आवाज संप्रेषण गर्ने र संसारका विभिन्न भागमा छरिएर रहेका भूटानीहरुका दैनिकी समेट्ने कार्यमा आर्थिक कठिनाइ फेरि तगारो नबनोस्, कामन गरौं।
गणतन्त्र एफ्.एम् बाट बजेको पहिलो शृंखला सुन्नुहोस्