सालिक बोल्दैछ

यहाँनेर एउटा सालिक चिच्याइरहेको छ । हो, यहाँनेर सालिकको विम्बमा एउटा कविहृदय बोलिरहेको छ । हामी यहाँनेर ‘सिमानाको सालिक’ नामक एउटा कविताकृतिका बारे चर्चा गर्न लाग्दैछौं ।

सरलरूपमा बुझ्न कवितालाई मिथक, सन्देश र लय गरी जम्मा तीनवटा पोयामा बाटिएको चुल्ठो (विक्रम सुब्बा- समकालीन साहित्य) अथवा डोरी झैं कलात्मक वस्तुको उपमा दिइएको छ । यी तीनवटा पक्षमध्ये स्रष्टाले आफ्नो सिर्जनामा एउटै मात्र पक्ष छुटाएमा कुनै सिर्जना कविता बन्न नसक्ने कविता आदर्शका सिद्धान्तकारहरु बताउँदछन् । तर, कतिपय परिस्थितिमा मिथक र आदर्शहरुले छोपिदिएर कवितालाई भुइँमा पोखिएको बिस्कुनजस्तो क्षतविक्षत पनि बनाएका छन् । कवितामा यथार्थवादी जीवनको झलक नभएर मिथक बढी भए वा लयबद्ध कलात्मकता नभएमा त्यो त कुनै दन्तेकथा वा आख्यान जस्तो हुन पुग्दछ भन्ने मतले शदियौंदेखि आजसम्म नै कविता साहित्यको पक्षमा वकालत गरिरहेको छ ।

यी त भए शास्त्रीय कुरा, अब अभ्यासगत व्यवहारका कुरा गरौं ।

सर्जक वा स्रष्टाहरुका पनि प्रवृत्तिगत वर्ग हुन्छन् ।  कविताका नाममा भावनाका केही हरफहरु असरल्ल पोखिदिएर कृतिको ग्राह्यताभन्दा अधिक लगानी गरी ठूल्ठूला मञ्चहरुमा चढ्दै एकदमै भयंकर कवि भएको स्वाङ गर्नेहरु प्रशस्तै छन् । तर शान्त, सौम्य र धैर्यतापूर्वक शब्दहरु गुथेर आफ्नो कला पस्कने क्रममा अन्जानमै कवि- साहित्यकार बनिसकेका सर्जकमात्र दीर्घकालसम्म टिक्छन् । मलाई लाग्छ गीता पुडासैनी यो दोस्रो वर्गमा परेकी छन् । किनभने उनका कवितालाई ‘अर्ग्यानिक फ्रेश’ भन्ने केही पाठकहरु मैले पनि भेटेको छु । साँच्चै उनका कविताहरु बजारको ‘फ्रोजन बक्स’मा राखिएको पुरानो सब्जीजस्ता छैनन् । उनका कवितामा देशको जल्दोबल्दो स्थिति बोलेको छ । समाजका ताजा अवयवहरु बोलेका छन् ।

सामान्यतः मानिस आफ्ना भावना-विचार वा व्यवहारलाई सार्थकता दिन अरुको भावनासित सन्तुलित हुन खोज्दछ । अनि यही सन्तुलनको व्यावहारिकतालाई जिन्दगी वा जीवन भनिन्छ । आफ्ना भावनाहरु जति धेरै मानिसहरुलाई बुझाउन सक्यो अथवा जति धेरैको भावना आफूले बुझ्यो, त्यही व्यक्तिले आफ्नो जीवन सहजतापूर्वक बाँच्न सक्दछ…! यो मेरो निजी धारणा हैन, मानवशास्त्रको सिद्धान्त हो । जीवन र जगतलाई बुझ्ने, व्याख्या गर्ने र त्यसकै आडमा सहज रूपले जीवन भोग्ने अभिलाषाको यो मानवीय प्रवृत्तिलाई निरन्तर गराउँदा गराउँदै अनेकन शास्त्रीय सिद्धान्तहरु बनेका छन् ।

जब एकजना व्यक्तिले आफ्नो जीवनलाई आफ्नैमात्र लाभ-हानी, नाफा-नोक्शान, सुख-दुःखको निदान गर्ने निजी सत्ताको आधार ठान्न छोड्छ अथवा उसको जन्म आफूजस्तै अरु मनुष्यका सरोकारका लागि पनि भएको हो भनेर महसूस गर्दछ; तब ऊ कवि बन्दछ । जसरी मानवीय सम्बन्धको व्यावहारिक पक्षलाई शास्त्रले ज्ञानदशा भनेको छ त्यसरी नै भावनात्मक विशालताको अभिव्यक्तिलाई रसदशा भनिएको छ । यसरी मान्छेले आफ्नो सोचाईको वृत्तलाई फराकिलो बनाउँदै त्यसलाई वाणी र शब्दको माध्यमबाट अभिव्यक्त गर्ने एउटा शास्त्रीय विधानलाई नै कविता भनिएको हो ।

सबै सर्जकहरुले आफ्नो साहित्यिक यात्राको उद्घाटनविन्दुमा कवितै लेखेका छन् । यतिमात्र के भनौं, लिखित साहित्यको सर्वप्रथम अभिव्यक्ति कवितामै भएको थियो भनिन्छ । अतः समष्टिमा यति कुरा भन्नुपर्छ कि कविता पनि पहिले स्रष्टाले अरु धेरैका भावना बुझेर त्यसबाट बनेको आफ्नो धारणा अरुलाई बुझाउने मनाशयमा सिर्जिएका शब्दहारहरु नै हुन् ।

यहाँनेर हामी गीता पुडासैनीको कविताकृति ‘सिमानाको सालिक’ का सन्दर्भमा चर्चा गर्दैछौं ।

‘सगरमाथाको सम्बोधन’ शीर्षकीय कवितामार्फत उनी शुरुमै हिमालको उचाइ र समुद्रको गहिराइसँग मानवीय संवेदनाहरुलाई जोडिदिन्छिन् । यसरी नै ‘आइमाई, आमा र पत्नी’ शीर्षकमा उनको अर्को सशक्त कविता बगेको छ ।

नेपाली भूगोलको इतिहासमा सामेल नालापानीको युद्धको झलक झैं लाग्ने निम्न प्रस्तुतिले वीरतापूर्ण आर्यसभ्यताको चर्चा पनि उठाएको छ ।

“आइमाई हुनुको पर्याय
चुरा बजाउनुमात्र हैन…!”
…………………….
“यदि पढिरहेका छौ भने
आर्य सभ्यताको इतिहास
तिमीले
त्यो पनि पढेको हुनुपर्छ
सन्तानको गर्धन
छातीमा च्यापेर
तरबार उठाएकी आइमाई…!”          (कविता शीर्षक आइमाई, आमा र पत्नी)

 कविताको लक्षणा वा आर्यसभ्यताको प्रसंग जहिलेको, जहाँको भए पनि नारी जीवनलाई अवहेलित नोकर-चाकरको दर्जामा राख्ने हाम्रो समाजलाई ललकारेको छ कविताले । आर्यसभ्यतामा आइमाईहरु कमजोर थिएनन्, अहिले पनि आइमाईहरु कमजोर बन्नु हुँदैन भन्ने मूल सन्देशसहित आइमाईको हैसियत दबाउन चाहने पुरुष प्रवृत्तिसमक्ष चुनौती बनेर उनी उभिन्छिन्-

“आइमाईको अबोधपनभित्र
आइमाई मात्र हुँदैन
यति तिमीले बिर्सिएका छैनौ भने
हिजोमात्र हो तिमीलाई
आइमाईको गर्भबाट जन्माइएको !”

सोही कवितामा आग्रह, याचना र गुनासोको रूपमा विपरित लिंगीय अवधारणाहरुलाई सम्झाउँदै स्रष्टा समन्वयकारी भूमिकामा भन्छिन्-

“पत्नी हुनुको पर्याय
पराजित हुनु हुँदै हैन
किन बुझ्दैनन् मेरा पिता?
मेरा दाजुभाइ ?

किन बुझ्दैनन् मेरो प्रेमी–
जसले युगदेखि पर्खिरहेको एक झुल्को प्रकाश
पत्नी हृदयको
प्रेम आँचलबाटै
प्राप्त गर्छन् ?”

आइमाई, आमा र पत्नीमा के फरक छ ? भन्दै प्रश्नको चुनौती दिएर समाजलाई सोच्न बाध्य पार्ने स्रष्टा पुडासैनी स्वयं नारी भएर आफ्नो अस्तित्वको मात्र चिन्तन गरिरहेकी छैनन् । यहाँ समाज, देश, समग्र जीवन र जगतको चिन्तन समेटिएको छ ।

“भयानक प्रलयको शुरुवात
आकाशमा मडारिइरहेको बादल
कम्पित भएझैं आफैं उभिएको धर्ती
किन माछाहरु खोला छाडेर बगर नियालिरहेछन् ?”      (कविता शीर्षक मेरो अवशानपछि)

एउटा निर्जीव सालिक भावनात्मक देशको सिमानामा ठिंग उभिएर यसो भनिरहेको छ ।  हो, यहाँ एउटा सालिक बोलिरहेछ । ‘मेरो  अवसानपछि’ शीर्षक दिएर  स्रष्टा गीता पुडासैनीको भावनामार्फत त्यो सालिक हरेक युवा हृदयहरुलाई सपनाको विदेश बिर्सन र विपनाको स्वदेश सम्झन झक्झक्याइरहेको छ । आज सुख-सयल र सम्पत्तिका लागि देश छोडेर बिदेशतिर दौडिँदा दौडिँदै देशकै अस्तित्व गुम्यो भने भोलि पछुताउनु शिवाय केही रहँदैन । स्वयं देशको प्रतिविम्ब बनेर बोलिरहेको एउटा सालिक कवितामार्फत त्यही सन्देश दिइरहेको छ ।

भावनाको देशबाट ग्वारग्वार्ती मानवसागर विदेशतिर बगेको यथार्थले दिने पीडालाई मत्थर पार्दै सालिक फेरि भन्छः

“फेरि
खुल्नेछ आकाश
उदाउनेछ सूर्य
रंगिन हुनेछ सपना
तिमी आफ्नै काखमा जीवन खेलाइरहेका हुनेछौ…!” (कविता शीर्षक मेरो अवशानपछि)

‘गाउँको सडक’ हुँदै हुइँकिरहेको त्यो ‘सिमानाको सालिक’ देशको परिभाषा दिँदै भन्छः

“महाशय !
देश भनेको ढुंगा र माटोमात्र होइन
तिमीलाई थाहा नहोला…!”                         (कविता शीर्षक गाउँको सडक)

आजको जगजाहेर यथार्थ हो, गाउँमा देश छैन वा देशमा गाउँ छैन ! अथवा गाउँका आदर्श, इमान, सद्भावना, आदरार्थ र मैत्रित्व सबै व्यापारका वस्तु भइसकेका छन् । त्यो निर्जीव सालिकबाहेक हृदय भएका जीवित सबै मानिसहरु सबैथोक बेचेर सम्पत्ति आर्जन गर्न उद्यत छन् । कुन दिन त्यही सालिक पनि बेचिन बेर छैन ! ‘गाउँको सडक’ मै उभिएर सालिक भन्दैछः

तिमीले सबथोक बेचेर गएपछि
देश किन्नेले तिमीलाई पनि
विस्थापित बनाइदिएछन्
र, त फर्किएर आएछौ गाउँमा
बाँकी सुनको दाँत पनि बेचेर …!”            (कविता शीर्षक गाउँको सडक)

देशको गाडी हाँक्न पारंगत चालकहरु चाहिन्छ । तर, ‘सहचालक’ (खलासी)-हरुले हाँकिरहेका कारण जताततै विवेकहीनता छ । देशै दुर्घटना सम्मुख हुँदै गएको छ । घूसपेशको आडमा लाइसेन्स चोरेर चालक बनेकाहरुले देशको गाडीलाई ‘त्रिशुली नदीमा’ हाल्दैछन् । ‘सहचालक’ को विम्बमा घटनाविवरण पेश गर्दै सिमानाको सालिक बोल्छः

“इटहरीबाट छुटेको एउटा रात्रिबस्
नेपालगञ्जबाट छुटेको मालवाहक ट्रकसँग
ओभरटेक गर्न खोज्दा
मुंलिङनजिकै दुर्घटित
बस त्रिशुली नदीमा
हाम फालेर
चालीसको मृत्यु, चालीस बेपत्ता !”             (कविता शीर्षक सहचालक)

एउटा ‘कवि’ आफ्नो अभिशप्त सपनालाई चुरोटसितै सल्काएर धुवाँ फुकिरहेको छ । चुरोटको धुवाँले कविको जीवनलाई घटाएर आधा बनाएजस्तो देश पनि अर्धकद बनिरहेको छ । आकाशतिर अनुहार फर्काएर धुवाँ फुक्ता फुक्तै कविका आँखा एउटा झण्डामाथि परे । हत्तपत्त त्यो झण्डाले बुझाउने भुगोलको नक्शा कविले पल्टाई हेऱ्यो । त्यो भूगोल ग्यास च्याम्बरमा गुम्सिरहेको थियो । ग्यास च्याम्बरको चिम्नेबाट उडिरहेको धुवाँ हेर्दै बगेका कविका आँखाहरु गन्तव्यहीन बनेर टहलिए, जसरीः

“प्रत्येक वर्षामा
देश रुँदैरुँदै कोशी ब्यारेजमा
पुगेर अड्किएको हुन्छ ।”                  (कविता शीर्षक कवि)

सिर्जनक्षमताकै आधारमा कुरा गर्ने हो भने म कुनै ख्यातिप्राप्त साहित्यकार होइन । ख्यातिको लोभ पनि छैन ।  तर, साहित्यका आधारभूत पक्षहरुको अध्ययनमा कर्मशील छु । मेरो साहित्यिक अध्ययनको पहुँचसम्म विश्लेषण गरिरहँदा सोझै सिर्जना गर्नुभन्दा कसैको सिर्जनाको समीक्षा गर्नु अझ गहन दायित्व हो । अतः जिम्मेवारीपूर्ण कर्तव्यबोध अँगालेर स्रष्टा पुडासैनीको कृतिप्रति केही टिप्पणी गर्ने जमर्को गरें । म कतिको न्याय गर्नसक्छु, मलाई थाहा छैन । यद्यपि, समालोचकको काम कविका कविताहरु देख्नु वा पढ्नुमात्र होइन भन्ने मलाई राम्ररी थाहा छ । कविताको संरचनामा निहित वर्ण र शब्दहरु त सबै पाठकहरुले पढेकै हुन्छन् । त्यसबाहेक समालोचकले तिनमा अंतर्निहित लक्ष्यणा र भावपक्षका साथै अन्य तत्वहरुलाई पाठकहरुका सामु राखेर सिर्जनाले पस्किएको दृष्टिकोणसित परिचित गराउँदै कृतिको मूल्य निर्धारण गर्नु पनि हो ।

वर्तमान समयमा क्षणिक मनोरञ्जनको लोभमा परेर स्रष्टाहरु ताली र वाह-वाहको भोक मेट्न आफ्ना सिर्जनामा त्यस्तै खाले उत्ताउला शब्द र वाक्यहरु जोडिदिने गर्दछन् । यतिबेला साहित्यमा कृतिको मूल्यबोध भन्दा पनि व्यक्तिको सस्तो लोकप्रियतालाई अधिक महत्व दिने फुस्रो आडम्बर बढिरहेको छ । साहित्यका नाममा व्यक्तिवाद वा व्यक्तिगत महत्वाकांक्षा पूरा नहुँदाका कुण्ठित अभिव्यक्तिहरु पनि कविताकै नक्शा र प्लेकार्ड बोकेर सडकमा जुलूस लाउँदै उफ्रिरहेको समय हो यो । यो विशेष कारणले असली जीवनवादी कविहरु सिर्जनातर्फ निराश बनिरहेका छन् । यस्ता तमाम विषयहरुले गर्दा सर्जकको भन्दा पनि समालोचकहरुको दायित्व अझ गहन बनिरहेको छ ।

यद्यपि यति नै बेला समालोचकका टिपोटहरुलाई कुनै महत्व नदिएर सर्जकहरु केवल व्यक्तिप्रशंसामा केन्द्रित बनिरहेका पनि देखिएकै छन् ।

यथार्थमा कुनै पनि रचनाले समीक्षाका तीनवटा चरणहरु पार गर्नुपर्दछ । सबैभन्दा पहिले रचनाकार स्वयंले त्यसको आलोचनात्मक पक्ष केलाउनु पर्दछ । तर प्रकाशनको हतार र अव्यवस्थाले गर्दा उसले आफ्नै रचनामाथि न्याय गर्न भ्याउँदैन । त्यसपछि पाठकले अर्को चरणमा सिर्जनाको सामान्य टिप्पणी गरेर छोडिदिन्छन् । यसबाहेक पाठकमध्ये कोही कवि वा सर्जक नै परेछन् भने तिनीहरुमध्ये कसैले कि त ‘सारै स्तरीय’ भनेर अतिरञ्जना गरिदिन्छन् अथवा कोही व्यक्तिवादी इर्ष्याको वशमा परेका भए ‘तल्लो स्तरको’ सिर्जना भनेर अनावश्यक लाञ्छना पनि लगाइदिन्छन् । यो अवस्थामा त अझ तेस्रो समालोचकद्वारा कृतिको न्यायिक समीक्षा हुनु झन् अनिवार्य हुन्छ ।

वर्तमान परिवेशको मानवीय जीवनयात्रामा आधुनिक यन्त्रप्रविधिले प्रवेश गरेको छ । यसले अधिकांश युवा-उर्जालाई यान्त्रिक बनाउँदै लगेको छ ।  सो अवस्थामा कसैले कसैको भावनाहरुको पैरवी गर्ने कुरै भएन । यसका अतिरिक्त अहिले सामाजिक जीवनको गति नै तितर-बितर छ । व्यक्ति, परिवार, समाज, समुदाय, क्षेत्र हुँदै समग्र देशको पहिचान बन्ने प्रक्रिया अहिले भंग भइसकेको छ । यतिबेला उपार्जनको लक्ष्यले मान्छेहरुलाई परिवार र समाजबाट फुटाइसकेको छ । चालीस वर्ष कटेपछिको बुढ्यौलीमा मात्रै जीवनको उमंग र रसपूर्ण सहचर्य भोग्नसकिने अर्थमा ‘साइँली’ बोलको गीतै बनेको कुरा कसैलाई मैले बुझाइरहनु पर्नेछैन । यो परिवेशमा युवापुस्ता कला, साहित्य, सामाजिक, नैतिक अनुशासनका आधारहरुबाट पूर्णतः विमुख भइरहेको छ । यो बेला साहित्यका उत्पादक, शब्दका कृषकहरुले एकदमै संवेदनशील बनेर आफ्नो खेती बढाउनु जरुरी भएको छ ।

यो दिशाको भावचेतना मैले गीता पुडासैनीका कविताहरुमा पाएको छु ।

हुन त  कवि गीता पुडासैनीका कवितामा पनि केही तलमाथिहरु नभएकै भन्ने होइन । तर, एउटा साहित्यिक स्रष्टामात्र होइन, यस मानवीय जगतमा कोही पनि दोषमुक्त रहन सक्तैन । खोज्नथाल्यो भने ‘सृष्टिको विधाता’मा पनि अनेकौं कमजोरीहरु भेटिन्छन् भन्ने त सबैले मानेकै कुरा हो ।

अतः यहीँनेर दिल खोलेर भन्दिन्छु, गीता पुडासैनीका कवितामा मैले देखाउन सक्ने कमजोरी भनेको सामान्य साक्षर आमपाठकले टिप्न नसक्ने शब्दशैली र अभिव्यञ्जनाहरु छन् । कब्जीयतग्रस्त बौद्धिकताले सिर्जनालाई चाम्रो बनाउँछ । अनि त्यो अभिजात वर्गको वुद्धिविलासको साधनमात्र बन्न पुग्दछ । उनका कुन कुन कवितामा त्यस्ता कमजोरी होलान् भनेर म केलाउन चाहन्न । तर, एउटैमात्र उदाहरण राख्न चाहन्छु । ‘सगरमाथाको सम्बोधन’ शीर्षक कवितामार्फत वास्तवमा सगरमाथा विम्बले देशलाई अथवा पाठकहरुलाई सम्बोधन गरिरहेको छ । तर, कता कता कसैले सगरमाथालाई सम्बोधन गरी आफ्ना यावत अपेक्षा र गुनासाहरु सुनाइरहेको छ कि जस्तो लाग्ने लक्ष्यणाहरु पनि छन् ।

“…सखारै जब लाली चढ्छ
उसको अनुहारभरि
लगाएर सेतो घाँगर
लपक्क लिपेर ओठमा रातो लिपिस्टिक
बाटेर दुइ चुल्ठी
घुसारेर चुल्ठोमा गुराँसका थुँगा
खुत्रुक्क ओर्लिएर
नाउ घुमाउँदै
किलिक्क पारेर एउटा सेल्फी
पोस्ट गर्छे
फेसबुकको भित्तामा
र,
लेख्छे …”

यहाँसम्म कवि उत्तम पुरुषमा बोलिरहेको छ । त्यसपछि मात्र सगरमाथा विम्बकी स्त्री पात्रा कवितामा आफ्नो सत्ता स्थापित गर्न आइपुग्छे र फेसबुकको भित्तामा सेल्फीको तस्वीर राखेर लेख्छेः-

“दुनियाँ चकित हुनेगरी
म यो संसारको सबभन्दा सुन्दर युवती
रमाउँदै छु किनारी माछाका आलिङ्गनभित्र
तिम्री प्रिय सगरमाथा… !”

पहिलेदेखि नै कवितामा भिजेका बौद्धिक पाठकहरुलाई यति ठम्याउन गाह्रो नपर्ला ! तर, आमपाठकले यो भेउ पाउँदैनन् । अथवा कविबेला कुन विम्ब वा पात्र कविता सत्ताको हकदार भएर बोलिरहेको छ भन्ने आमपाठकको मगजमा स्पष्ट हुँदैन । उनका थुप्रै कवितामा यस्ता कुरा भेटिएलान् । तर, बुद्धिमान बालकलाई सधैं डोऱ्याउनु पर्दैन । बाटोमात्र देखाइदिए पुगिहाल्छ । कुनै संवेदनशील सर्जकलाई यति भन्दिएपछि आगामी सिर्जनाहरुमा परिमार्जन गर्ने दायित्वबोध भइहाल्छ । म किन यसो भनिरहेको छु भने, व्यक्तिको तहमा बुझेर होइन, सिर्जनाहरु हेरेर नै मैले डोऱ्याउने भन्दा बाटोमात्र देखाइदिने बालक (विम्बात्मक)-का रूपमा सर्जकलाई बुझिरहेको छु ।

हुन त शंकर लामिछानेको ‘अब्सट्राक चिन्तन प्याज’देखि इन्द्रबहादुर राईका आयामेली कविताहरु सामान्य पाठकका लागि अफ्ठ्यारोमा फलेको तरुल जस्तै होलान् । गीता पुडासैनीका कवितामा त्यति धेरै बौद्धिकताको कब्जीयत छैन । समग्रमा गीता पुडासैनीका कविताहरु साहित्यिक आकाशको मूल गन्तव्यमा पुग्नलाई यात्राको एक चौथाई नाघ्दै गरेको बटुवाझैं लाग्दछन् ।

पुडासैनीका कवितामाथि टिप्पणी गर्दै नेपाली साहित्यका धुरन्धर कवि श्यामलले उनको कृति ‘सिमानाको सालिक’ मा लेखेका छन्,“गीता पुडासैनीका कविता नेपाली ग्रामीण नारीका असहज सांस्कृतिक जीवनका उछ्वासहरु हुन्…!” तर, म भन्छु स्रष्टा पुडासैनीका कविताहरु नारीका मात्र होइनन्, ‘पाखुरा’का उदगारहरु पनि हुन् । जिन्दगीको दार्शनिक पक्ष केलाउँदै सोही कृतिमा मन्तव्य राख्ने क्रममा अर्का कवि ज्योति जंगल भन्छन्,“जिन्दगी प्रयोगशालामा परीक्षण गर्न सकिँदैन । न जिन्दगीको लिंगीय आयामबाट सामाजिक प्रश्नहरु सकिएका छन् !” यदि यसो हो भने कवि श्यामलको विचार यहीँनेर काटिएको छ । यसर्थ, गीता पुडासैनीका कविताहरु असहज नारी जीवनका उछ्वासहरुमात्र होइनन् । यी कविताहरु समग्र सामाजिक जनजीवनलाई अभिव्यक्त गर्ने सजीव हरफहरु पनि हुन् ।

आफ्नो भावनाका जम्मा ३० वटा पन्तुराहरु एउटा कृतिमा मुठो पारेर हाम्रो हातमा राखिदिएकी छन् गीता पुडासैनीले । हो त्यही एकमुठो कृतिको नाम हो ‘सिमानाको सालिक’ जो आफ्नो निर्जीवतामा गीता पुडासैनीको भावनात्मक उर्जा हालेर आम जीवनको गति बुझ्न घरदेशदेखि परदेशसम्म विचरण गरिरहन्छ । मैले ‘सिमानाको सालिक’ का स्रष्टा गीता पुडासैनी नामको व्यक्तित्व चिनेको छैन । कहिल्यै देखेको वा बोलेको पनि छैन । केवल केही शब्दहरु हामीले साटासाट गरेका छौं । अतिसंक्षेप जानकारी अनुसार उनको यो प्रथम कृति हो । कुनै पहिलो कृतिवाला कविका कविताहरु यस्तै हुन्छन् भन्ने कुनै स्थापित मान्यता वा मानक त बनेको छ जस्तो लाग्दैन । यद्यपि, गीता पुडासैनीको कवित्वकला हेर्दा उनी कुनै सशक्त कविभन्दा कम छैनन् ।

हामीले साहित्यको इतिहास पनि पढ्दै आएका छौं । उहिलेका शासकहरुले लेखेकै कारण कवि र लेखकहरुलाई कैद गरेका, हत्यासमेत गरेका छन् । तर, त्यसको सकारात्मक पाटो के छ भने कविका कलाशिर्जनाले कैयौं शासकहरुलाई प्रभावित पनि बनाएको छ । कविता सुनेरै उनीहरुले नीतिव्यवस्थामा सुधार पनि गरेका छन् । नकारात्मक, सकारात्मक दुवै प्रवृत्तिमा एउटा कुरो के निश्चित हुन्छ भने उहिले साहित्यको मूल्य तत्कालै समाजमा लागू हुन्थ्यो । कसले के लेख्यो वा लेख्तैछ भनेर खोजी नै भइरहन्थ्यो ! तर, आज कसले के लेख्तैछ भनेर हेर्ने वा खोजी गर्ने फुर्सद धेरै मानिसहरुलाई हुँदैन । त्यसर्थ धेरैको ध्यान तान्नलाई केही सर्जकहरुले आफ्नो कृतिलाई अतिरञ्जनापूर्ण पनि बनाइदिन्छन् । यस्तो अतिरञ्जनाबाट कवि पुडासैनी मुक्त छिन् ।

 सिमानाको सालिक मार्फत कवि गीता पुडासैनीले एउटा जमातलाई बलियो उत्तर पनि दिएकी छन् । लक्षित विषयको केन्द्रीय अध्ययनबिना कसरी लेख्न सकिन्छ ? भनेर एउटा सिंगो जमातले प्रश्न गरिरहेको सुनिन्छ । तर, मान्छेले ध्यानमग्न भएर चिन्तन गऱ्यो भने सो विषयको विशेषता आफैं अंगिकार गर्नसक्छ भन्ने दर्बिलो प्रमाणका रूपमा स्रष्टा पुडासैनीले एउटा नजीर नै खडा गरिदिएकी छन् । आखिर विषयगत पढाइ भनेको शिक्षामात्र हो । शिक्षाभन्दा पहिले चेतना वा ज्ञानको स्थान छ । विश्वविद्यालयतिर गएरैमात्र सबै कुरा जानिने भए हजार वर्षअघि जंगलमा बास बस्ने ऋषिका आदर्शहरु आज आधुनिक समाजका लागि नैतिक सिद्धान्तका आधार किन बन्ने थिए र ? कुरो जेसुकै भए पनि स्रष्टा पुडासैनीको सन्दर्भ उठाएर समष्टिमा यति कुरो भन्नैपर्छः अर्थशास्त्रमा एम.ए. गरेर सोही विषयको शिक्षण गराइरहेकी सर्जक, जोसित साहित्यिक विषयको औपचारिक शिक्षा नभएर पनि यति गहन साहित्यिक कृति निर्माण गर्नु कम मूल्यको जमर्को होइन ।

कविताको नाममा यसरी सिंगो देश बोकेर उभिएका गीता पुडासैनीजस्ता लेखक, स्रष्टाहरुलाई बँचाउनुपर्ने दायित्वबोध समाजले गरोस् । कवि, लेखकजस्ता साहित्यका कृषकहरुले लेखेरै गाँठो र पस्यौटीमा नपुगेसम्म जीवनको डोरी बाटिरहन पाउने सहजता अनुभूत गर्न सकुन् ! सिंगो नेपाल र संसारभरिका नेपालीहरुप्रति सद्भावना र शुभेच्छा राख्तै विश्राम लिएँ ।

भक्त घिमिरे
पूर्वाध्यक्ष
साहित्य परिषद-भूटान
हालः पेन्सिलभेनिया/अमेरिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *