सास रहेसम्म आश
लक्की राशि
केन्टकी, अमेरिका
कालो रातको बस्तीमा
उज्जालो ज्योति पर्खेर
बसेकी मेरी बुढी आमा
अझै पनि पर्खी रहेछिन्
त्यो दिन, समयलाई आश गरी गरी
कपालको रङ्ग फेर्दै, खोसेलामा सुर्ती बेर्दै।
अब त माटोसँग सम्बन्ध टुटेको पनि
तिसौं वर्ष भई सकेछ,
म त अब चिन्दिन मेरो जन्मभूमिको माटो कस्तो थियो
थाहा छैन माटोले मलाइ चिन्छ चिन्दैन।
हरेक दिन समयले मलाइ नि अरूलाई झैँ बुढो बनाइरहेछ..
हातको औँलाहरु पुर्पुरो कन्याइरहेछ।
एक अपरिचित बाटोमा,
यता पराइ माटोमा, कहिले पनि आफ्नोपन,
दया माया महसुस गर्ने मौकै मिलेन।
सायद दुवै हात र मस्तिष्क रातै भरि
डरलाग्दो मेसिनसँग ठोक्किएर होला
भाषा बोल्न नसक्दा जिब्रो ठोक्किएर होला।
घर, गाडीको ऋण सम्झी रहेँ
कहिले मुक्त,स्वतन्त्र हुने त्यो दिन पनि सम्झिरहेँ
बाल बच्चाको भाषा भविष्य झनै सम्झिरहेँ
सँग सँगै मेरो वर्तमान, भविष्य
अब अरू कसैको अधीनमा छ भन्ने नि सम्झी रहँदा
मेरो गह्रुङ्ग मन बिसाउने चौतारी खोज्दै थिएँ …
एक्कासि अङ्ग्रेजी शब्द
वर्क हार्ड, वर्क हार्ड
गेट मनी, गेट मनी
भनेको त्यो आवाजले झसङ्ग झस्कायो
र रातै भरी त्यही आवाज कानमा गुन्जी रह्यो।
मेरो निष्कर्ष सायद यहाँ
आज पैसा भन्दा ठूलो माटो रहेनछ,
पैसा भन्दा ठूलो भाषा रहेनछ भन्दै
कता कता डर सरी बोल्न खोज्दै थियो
मेरो सेतो माक्स र कालो पट्टी बाँधेको मुख।
जन्मभूमि भूटान घर नम्बर १०५
पुर्खा-भूमि नेपाल बेल्डीगी १ सेक्टर B/4
घर नम्बर ४२०, हाल अमेरिका केन्टकी
घर नम्बर १०६ विस्परिङ्ग हिल
अझै यस्तो जिउँदो घर नम्बरहरू
क्रमशः: कति हुने हो त्यो थाहा छैन।
थाहा छ त केवल मेरो मृत्यु पछि
एउटै अन्तिम सिमेट्री घर नम्बर १०/०६/२०८०/ !
“घर जग्गा, देश जस्तो छैन कुनै खास
जिन्दगीले माया मारी सार्यो पुनर्वास”