साहित्य परिषद भूटान (क्यानडा) ले सम्पन्न गर्यो २०८ औँ भानु जयन्ती समारोह
जुलाई ११, २०२१: आदिकवि भानुभक्तको २०८ औँ जन्म जयन्तीको अवसर पारेर साहित्य परिषद्, भूटानको क्यानडा च्याप्टरले एक भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
यस कार्यक्रममा नेपाली जातीय चिनारी र भाषाका अग्रणी भानुभक्त आचार्यको योगदानका बारेमा चर्चा गरिनुका साथै विभिन्न स्रष्टाहरूले रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा मन्तव्य राख्ने डा गोविन्द सिंह राउतले नेपालले भन्दा नेपालबाहिर रहेका नेपालीहरूले भानुभक्तलाई चिनाउन उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै डायस्पोरामा नयाँ पुस्तालाई नेपाली भाषा हस्तान्तरण गर्न, अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (क्यानडा च्याप्टर) का अध्यक्ष भानुभक्त आचार्यले भानुभक्तका बारेमा अहिले भएका टिका टिप्पणीहरूलाई अन्यथा लिनु नहुने बताए। उनले परिवर्तित समयले इतिहासको पुनर्मूल्याङ्कन गर्ने गरेको तर कसैको योगदानको अवमूल्यन गर्न नहुने धारणा व्यक्त गर्दै नेपालीको मौलिकता जोगाइराख्न नेपाल बाहिर भारत, भूटान, बर्मातिर बसोबास गर्ने नेपालीहरूले खेलेको भूमिकाको प्रशंसा गरे।
यसै अवसरमा भर्खरै ऐनामा देश नामक कथासंग्रह प्रकाशन गरेका स्रष्टा सिएम निरौलाले आफ्ना हजुरबा-हजुरआमाका बाहुलीबाट आफ्नो पहिलो कृति “ऐनामा देश”को लोकार्पण गराएका थिए। यस कृतिका बारेमा लिला चौलागाइँले समीक्षा गर्दै निरौलाले कथामा देश र समाजमा भएका विभेद र समस्याहरूलाई उठान गरेको उल्लेख गरे । यसै कार्यक्रमलाई उपयोग गर्दै पहिले नै घोषणा भएको “हिमतारा प्रतिभा सम्मान पुरस्कार” कवयित्री तिलारूपा आचार्यलाई उनको कवितासंग्रह “गल्लीगल्लीका गीतहरू” कालागि साहित्य परिषद्का अध्यक्ष गङ्गा लामिटारेको बाहुलीबाट हस्तान्तरण गरियो । नगद १००० अस्टेलीयन डलर राशी रहेको उक्त पुरस्कार साहित्यकार प्रकाश धमला र परिवारले स्थापना गरेको हो ।
विभिन्न स्रष्टाहरूले कविता वाचन गर्नुका साथै भानु ढुंगाना, डा. लक्ष्मीनारायण ढकाल, गङ्गा लामिटारे, सिएम निरोला तथा भोला सुवेदीले मन्तव्य राखेका थिए । साहित्य परिषद् भुटान क्यानडा निर्देशक खगेन्द्र गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बलराम काफ्ले र जमुना न्याउपानेले गरेका थिए ।
पूरा कार्यक्रम यहाँ तल हेर्न सक्नुहुनेछ: