साहित्य परिषद्को २६ औं स्थापना दिवस र भाषा संरक्षणमा हाम्रो दायित्व

पुनर्वासका दसै वर्षमा शिक्षा, चेतना र आर्थिक समृद्धिका क्षेत्रमा हामीले जुन उचाइ हासिल गर्दैछौं त्यसलाई उत्साहजनक मान्नै पर्छ । तर यस उत्साह र समृद्धिसँगै हामीले बिर्सनै नहुने भनेको भाषा हो । समृद्धिले केही क्षणका लागि सुख त दिएला तर शान्ति, सन्तुष्टि र स्वाभिमान कहिले पनि दिन सक्दैन । यसमा दुई मत हुनै सक्दैन । भाषा जातीय पहिचानको महत्त्वपूर्ण कडी हो । मान, सम्मान र अभिमान हो हाम्रो भाषा । जब भाषा नै रहेन भने हाम्रो साहित्य कसरी फष्टाउछ ? साहित्य नै रहेन भने हाम्रो स्वाभिमान कसरी बाँच्न सक्छ ? समृद्धिको होडबाजीमा होमिएर कतै आत्मसम्मानै दाउमा लगाइरहेका त छैनौँ? गम्भीर भएर सोच्ने समय आएको छ ! विना स्वाभिमान समृद्धिको कुनै अर्थ हुँदैन ! यदि त्यसो होइन भने किन हाम्रा बच्चाहरूले नेपाली बोल्न बिर्सिदै छन् ? पुनर्वासकै १० वर्षमा १० वर्षमुनिका बच्चाहरूले नेपाली भाषा बिर्सिए भने तिनीहरूका छोरा-छोरी र नाता-नातिनीहरूको पहिचान र स्वाभिमान के होला ? नेपाली लेख्न-पढ्न नजान्नुलाई सामान्य मान्न सकिएला तर बोल्नै नजान्नुलाई कदापि सामान्य मान्न सकिन्न । यो त पहिचान र स्वाभिमान विलयको पूर्वसङ्केत हो । जातीय सान, मान र अभिमानको समाप्तिको शंखनाद हो । नेपाली भाषा कै सन्दर्भमा भन्नुपर्दा-हाम्रो भाषा भूटानका चिसा जेलहरूमा सडिरहेका कैदीहरूको त्याग हो । गोली ठोकी मारिएका दर्जनौँ शहीदहरूको सपना हो । १७ वर्षसम्म भोको पेट, खाली खुट्टा, धुलो धुवाँ र अभावै अभावमा बाँचेर स्वयम् सेवा गर्ने शिक्षक र त्यही अवस्थामा रहेका हजारौँ विद्यार्थीहरूको मिहेनत र पसिना हो र साँझ-बिहान फर्सीको झोल र बगडाको भान्सा पकाएर ख्वाउने ती बुढी आमाको धुकधुकी हो, नेपाली भाषा । फेरि हामी आफैमा पनि डाइभर्स छौँ । विविध रङ्ग र आकारका छौँ । विविध विश्वास र आस्था बोकेका छौँ र विविध मातृभाषा बोल्नेहरू छौँ । यस अनेकता र विविधतालाई एकतामा बाद्ध्ने, विविध आस्था र विश्वासहरूका बिच पनि सद्भाव कायम राख्ने बलियो र विश्वासिलो आधार भनेकै हाम्रो यही नेपाली भाषा हो । जुनदिन हामी बिचको यो सद्भावको डोरी छिन्छ, त्यसदिन संस्कृति त सकिन्छ नै जाति पनि विनाश हुने सुनिश्चित छ ।

अब एक दुईवटा गजल लेखेर फेसबुकमा राख्दैमा भाषा बाँच्न सक्दैन । पुस्तकरू प्रकाशन गर्दैमा अस्तित्व बाँच्न सक्दैन । एक दूइवटा झ्याउरे गाएर मात्र स्वाभिमान र आत्मसम्मान बाँच्दैन । पुराणमा भजन गाउँदैमा र चर्चमा प्रार्थना गर्दैमा मात्र पनि हाम्रो सम्मान बाँच्दैन । हाम्रो समग्र जायीय अस्तित्वलाई जीवित राख्ने एक मात्र बलियो आधार भनेको नेपाली भाषा र त्यसको पठन-पाठन नै हो । पहिचानकै लागि भूटानमा सङ्घर्ष गर्‍यौँ । स्वाभिमानकै लागि २० वर्ष शरणार्थी बन्यौँ । र पहिचान बचाउनैका लागि पुनर्वासलाई रोज्यौ । र पुनर्वासमा पनि यो पहिचानको लडाइँ युगयुगसम्म लड्नुपर्नेछ । लड्नुपर्छ भन्दा यहाँ भाषाका लागि झन्डै बोक्नुपर्छ भनेको होइन । भाषाकै लागि हामीलाई छुट्टै राज्य चाहिएको छैन । पहिचानका लागि हामीलाई देशै चाहिएको पनि होइन । हामीलाई चाहिएको छ, पहिचान र स्वाभिमान सहितको समृद्ध नेपाली भाषी समाज । पुनर्वासमा भाषा बचाउने कार्य एक दुइजनाको प्रयासबाट मात्र सम्भव छैन । यसमा सामूहिक र संस्थागत पहल हुन जरूरी छ । यसकालागि शरणार्थी शिविरमा भाषा र साहित्यका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको हाम्रो एतिहासिक संस्था साहित्य परिषद् भुटान पाश्चात्य सभ्यताको उर्वर भूमि अमेरिकामा आधिकारिक रूपमा दर्ता भइसकेको छ र भाषा र साहित्यका क्षेत्रमा केही उत्साह वर्धक कार्यहरूको शुभारम्भ गरेको छ । गत जुन महिनाको मिति ९ र १०का दिन ओहाइयो राज्यको सिनसिनाटी सहरमा आयोजना गरिएको साहित्य परिषद् भुटानको एतिहासिक अधिवेशनले पुनर्वासमा नेपाली भाषा शिक्षणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइसकेको छ । यो खुसीको कुरा हो, तर एउटा संस्थाले मात्र यो कार्य सम्भव छैन । सबैको साथ र सहयोग पनि चाहिन्छ । गत मार्च १०, २०१९ मा भएको साहित्य परिषद्को बोर्डको बैठकले पाठ्यक्रम निर्देशक खिम खतिवडाज्यूको संयोजनमा शिक्षा विशेषज्ञहरूको समिति बनाएर पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाउन सहमति जनाएको यहाँहरूलाई अवगत गराउन चाहन्छु । यसका साथै उपाध्यक्ष नैनसिंह मगरको संयोजनमा साहित्यिक पुरस्कारहरूको व्यवस्थापनका लागि व्यवस्थापन समिति गठन गरेर कार्यक्रम अघि बढाउने काम पनि भइरहेको जानकारी गराउन चाहन्छु । वर्तमान विभिन्न समस्याका बाबजुद पनि सञ्चालन हुँदै गरेका नेपाली कक्षाहरूलाई व्यवस्थित गर्न र शिक्षण सिकाइमा देखिएका समस्याहरूको न्यूनीकरण गर्नका लागि पनि उक्त समितिले कार्यशाला, प्रशिक्षण र तालिमहरूको व्यवस्था पनि मिलाउनेछ भन्ने विश्वास छ । नेपाली कक्षा सञ्चालनका लागि मानिसहरूलाई जागरुक र अभिप्रेरित गरेर साहित्य परिषद्ले एउटा अभिभाकीय भूमिका निर्वाह गर्ने प्रयास प्रारम्भ गरेको छ । परिषद्का भावी अधिवेशनहरू प्रत्येक ३ वर्षमा आयोजना गरिने र ती अधिवेशन भूटानीहरू पुनर्वास गरिएका देशहरूलाई लक्षित गर्ने प्रयास छलफलहरू पनि हुँदै छन् । अब तीर्थाटनमा जाँदा होस् वा पर्यटनमा छलफल र बहस पनि नेपाली भाषा र साहित्य नै बनोस् । साहित्य परिषद् भूटान, संसारभरि छरिएका हाम्रो जाति र दरसन्तानकालागि पहिचान र एकताको सुरक्षित छहारी बन्न सकोस ।  यसै छहारीको सित्तल छायामा पूर्वीय सभ्यता र हाम्रा भाषा, साहित्य र सांस्कृतिक विराषदहरु पल्लवित पुष्पित हुँदै जान सकुन् भन्ने साहित्य परिषद्को २६ औँ स्थापना दिवसका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । एउटा वृहत साहित्यिक कार्यक्रम आयोजना गरेर यसको स्थापना दिवस मनाउने हाम्रो सोच पनि थियो । तर पुनर्वासको व्यस्तता र समयको प्रतिकूलताका कारण यस वर्ष १७ मार्चमा परिषद्को स्थापना दिवस मनाउन सकिएन । आगामी वर्षहरूमा अवश्य पनि मनाइनेछ भन्ने विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु ।

आदरणीय भाषाप्रेमी सज्जनहरू, हिजोका दिनहरूमा साहित्य परिषद् भूटान हामी एक दुईजनाको रहर थियो होला । सपना थियो होला । तर अब साहित्य परिषद् सबै नेपाली भाषीहरूको आवश्यकता बनेको छ । सबैको बाध्यता र सबैको कर बनेको छ । यसको आवश्यकता र महत्त्वलाई बुझेर परिषद्लाई पुनर्वाससम्म ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने वर्तमान/निवर्तमान कार्यकर्ताहरू/शुभचिन्तक र नेपाली भाषाको माया गर्ने सबैलाई अन्तर हृदयबाट हार्दिक धन्यवाद अर्पण गर्न चाहान्छु । पुनर्वासमा परिषद्लाई संस्थागत, समयसापेक्ष बनाएर लैजान सक्षम युवाहरूको आवकश्यता छ । त्यसैले परिषद्को यस महत्त्वपूर्ण र एतिहासिक जिम्मेवारी सम्हाल्नका लागि पनि प्रस्ट विचार, दूरगामी दृष्टिकोण, समयसापेक्ष चल्ने, कुसल योजनाकार र दक्ष एवं सक्षम युवाहरू अघि आउनुपर्छ । परिषद्ले केही गरेन भनेर टिका टिप्पणी गर्नुका सट्टा म केही गरेर देखाउँछु भन्नेहरूकालागि यो जिम्मेवारी एउटा परीक्षण पनि हो र शुभ अवसर पनि ।
हिजोका दिनहरूमा परिषद्लाई संस्थागत गर्ने र कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने क्रममा सहकर्मीहरूसँग केही विमति र असमझ्दारीहरु भए होला । लामो समयसम्मको यश महायात्राका क्रममा जानेर होस वा नजानेर गल्ती र कमीकमजोरी अवश्य पनि भए होलान् । त्यसका लागि पनि सबैसँग क्षमा याचना गर्न चाहन्छु । पुनर्वासमा उड्नुअघि सबैसँग भेट् गरेर परिषद्को सम्भावित कार्यक्रम र त्यसको गतिविधिबारे एउटा बृहत् छलफल गर्ने योजना पनि थियो । तर त्यसबेलाको क्याम्पको परिस्थितिले गर्दा त्यो कार्य पूरा हुन सकेन । पुनर्वासपछि केही वर्षसम्म कसैसँग पनि सम्पर्क हुन सकेन । साथीहरूसँग सम्पर्क गर्दै गर्दा सबै साथीहरू पुनर्वासमा आइसकेको र परिषद्को नेतृत्व पनि भक्त घिमिरे सरले समाल्नु भएको कुरा मैले बुझेको हो ।
अन्तमा नेपाल-भुटानका स्कुलहरूमा नेपाली विषयकै कारण कतिले परीक्षामा असफलता भोग्नु पर्‍यो । अवश्य शिक्षकहरूका गाली पनि खानु पर्‍यो होला । कतिले नेपाली बोलेकै कारण स्कुलमा फाइन तिर्नुपर्‍यो होला । र कतिले नेपालीमा राम्रो अङ्क ल्याउन नसक्दा पहिलो हुने महत्वकाङ्क्षामा चोट अवश्य पुग्यो होला । नेपाली भाषाले जागिर ख्वाएन भनेर त्यसप्रति वितृष्णा पनि भयो होला । तर दु:खमा रुन र सुखमा हाँस्न नेपाली बाहेक अरू कुन भाषाले दियो  भन्ने पनि बुझ्न जरुरत छ । अन्य भाषामा जतिनै ठूल्ठूला डिग्रीहरू प्राप्त गरेपनि जीवनको अन्तिम वाक्य आमा र पानीकै साथ टुङ्गिदो रहेछ भन्ने वास्तविक सत्यलाई भने कहिले बिर्सन मिल्दैन । आज हामी जुन जुन स्थान र भूगोलमा छौँ । त्यो नेपाली भाषी भएकै कारणले हो भन्ने बोह सबैमा हुनुपर्छ ।
नेपाली भाषा पढ्नुपर्छ भन्दै गर्दा अरू भाषा चाहिँ पढ्नै हुन्न भन्न खोजिएको पनि होइन । सँगसँगै नेपाली पनि नबिर्सियौं भन्न खोजिएको मात्र हो । अमेरिकामा हाम्रा नानीहरूले दोस्रो भाषाका रूपमा चिनी, स्पेनिस र जापानी आदि भाषाहरू पढ्दैछ्न । ती भाषाकोसट्टा हाम्रा नानीहरूलाई नेपाली नै पढ्ने अभिप्रेरित गर्नु सबै अभिभावकको जिम्मेवारी पनि हो भन्ने ठान्दछु । एक भन्दा बढी भाषा जान्नेहरूका लागि अमेरिका अवसरै अवसरको खानी हो । बहुभाषी हुनका लागि नेपाली भाषालाई छोडेर अन्य भाषा नै पढ्नुपर्छ भन्ने छैन । अब हाम्रा बच्चाहरूका लागि नेपाली भाषा पहिलो त हुन सकेन सकेन । कमसेकम दोस्रो भाषाका रूपमा त बचाउ भन्न मात्र खोजिएको हो । आधुनिक अभिभावकहरू नेपाली पढ्दा नानीहरू कन्फ्यूज भए भन्ने गर्छन् र नानीहरूलाई नेपाली सिकाउन असभ्य ठान्छन् । र घरमा पनि अङ्ग्रेजीकै मात्र प्रयोग गर्छन् । भूटानमा पनि डासो र ल्यान्पो बनाउने दौड नचलेको होइन । दक्षिणका स्कुलमा नेपाली पढ्नुपर्छ भनेर नानीहरूलाई भुटानका उत्तरी भेगका स्कुलहरूमा भर्ना गर्न अभिभावकरूमा प्रतिष्पर्धानै हुन्थ्यो । अङ्ग्रेजीलाई पहिलो बनाउने प्रवृत्ति यहाँ पुनर्वासमा पनि चल्दैछ । यस दौडले हाम्रो पहिचान र स्वाभिमान कहाँ पुर्‍याउने हो त्यो भविष्यले नै बताउनेछ । कुरो रह्यो कन्फ्यूजको । भूटानमा अङ्ग्रेजी, जोङ्खा र नेपाली ३ वटा भाषा पढ्नुपर्दा हामी कहिले कन्फ्यूज भइनौ । नेपालमा पनि अङ्ग्रेजी, जोङ्खा, नेपाली र संस्कृत सहित ४ वटासम्म भाषा पढ्दा पनि कन्फ्यूज भइएन । कतै जन्मसँगै मातृभाषा सिक्न पाउने बच्चाको नैसर्गिक अधिकारको हनन गरेर गल्ती त गर्दै छैनौ ? गम्भीर भएर सोच्ने बेला भएको छ ।
भाषाकै महत्त्व र अवसरहरूका बारेमा भन्नुपर्दा अमेरिकामा मात्रै हजार भन्दा बढीले नेपाली दोभाषेका रूपमा जागिर खाइरहेका छन् । अमेरिकाका कतिपय स्कुल डिस्टिकहरूमा नेपाली पढाउने प्रयासहरू भइरहेका छन् । औपचारिक मान्यता प्राप्त गरेको खण्डमा दुई चार सय नेपाली भाषीहरूका लागि जागिरका अवसरहरूको सम्भावहनाहरू बढ्दैछन् । फेरि जागिरकै लागि मात्र नेपाली भाषा पढ्ने होइन । भाषा त हाम्रो पहिचान र स्वाभिमानसँग जोडिएको कुरा होला । जाति र पहिचानसँग गाँसिएको विषय हो । त्यसैले यो समस्या एक जनाको मात्र होइन । तपाइ हामी सबैको हो । त्यसैले सक्नुहुन्छ, नानीहरूलाई घरैमा नेपाली बोल्न सिकाउनुहोस् । सक्नुहुन्न,तपाईका गाउँ-घर र शहरहरूमा सञ्चालित हुँदै गरेका नेपाली कक्षाहरूमा नानीहरूलाई पुर्‍याइदिनुहोस् । बच्चाले नेपाली बिर्सिएकोमा होइन, बोलेको र जानेकोमा गर्व गर्नुहोस् ।
आदरणीय भाषा प्रेमी मित्रहरू, हामीले जीवनका महत्त्वपूर्ण र ऊर्जामय क्षणहरू नेपालका शिविरहरूमा गुमायौँ । अभाव टार्न आफूले सिकेको शिक्षा र चेतना पनि अर्कैका लागि दान गरियौँ । चाहेर होस् वा नचाहेर त्यहाँ श्रम, सीप र पसिनाहरू पनि अर्काकै लागि बगायौँ । हामी अरूकालागि कति उदार र दानी छौँ । तर आफ्नै लागि कहिले उदार बन्न सकेनौ। पुनर्वासपछि पनि हामीले माइधार बनायौँ । चार आली धाम बनायौँ । ध्रुमुससुन्तली फाउण्डेशन उठायौँ । चतारा र देउघाटमा हजारौँ डलर बगायौँ । र दाङमा गौशाला निर्माणमा पनि त्यतिकै होडबाजी छ, आज हामीहरूलाई । यहाँ दान, सहयोग र पुण्य गर्नुहुँदैन भनेको होइन । खाली अर्काकै लागि मात्र होइन, आफ्नालागि पनि केही गर्‍यौँ । आफ्नो फुलबारीमा आफै मलजल गरौँ भन्न खोजिएको हो । पहिला हामी आफै दह्रो हुनुपर्छ । आफ्नो घर बलियो बनाउनु पर्छ । आज सहयोगका अभावमा आफ्नै समुदायका लागि एउटा भवन निर्माण गर्न सकेका छैनौँ । भाषा पढ्ने र नानीहरू खेल्ने एउटा छाप्रोसम्म हाल्न सकेका छैनौ । हामी एक नभएकै कारण सामुदायिक भवन बन्न सकेन । एक नभएकै कारण हामीले द्रेश गुमाउनु पर्‍यो । एक नभएकैले नै पुनर्वास स्विकार्न बाध्य हुनुपर्‍यो । एक नभएकै कारण हामीलाई इतिहासले कायर, हुतिहारा र भगौडे बनायो । समाजका लागि हामीले आजसम्म न कुनै त्यस्तो अर्थपूर्ण काम गर्न सकेनौ । अब एक भएर केही गर्ने बेला भएको छ । हामीमाथिको कलङ्क र बदनामीहरूलाई मेटाउनैका र भावी सन्नततिहरूको पहिचान र स्वाभिमानका लागि हामी एक हुने समय आएको छ । त्यसैले आउनुहोस्, अब ती सहयोगी हातहरू, उदार मनहरू र परोपकारी विचारहरूलाई गोल्द्ध गरौँ र ती स्रोत र साधनहरू आफ्नै समाज निर्माणमा प्रयोग गरौँ । अब एक भएर संसारलाई हामी पौरखी र स्वाभिमानी जाति हौँ भनेर देखाइदिनुपर्छ । मात्र एक हुने आवश्यकता छ । हामी एक भएका खण्डमा जे पनि गर्न सकिन्छ । आर्थिक समृद्धिसँग सँगै भाषालाई पनि साथै लान सकियो भने वास्तवमा पुनर्वास हाम्रा लागि जितै जीत हुनेछ । र भावी सन्ततिहरूका लागि पनि वर्धान साबित हुनेछ । त्यसैले आउनुहोस, यस भाषा बचाउ अभियानमा सामेल हुनुहोस् । यदि तपाईँ आफू नेपाली भएकोमा गर्व गर्नुहुन्छ भने घरमै नानीहरूलाई कखरा सिकाउन प्रारम्भ गर्नुहोस् । र भाषा बचाउ अभियानको एउटा साँच्चो सिपाइ बन्नु होस र अरूलाई पनि यस अभियानका लागि उत्प्रेरित गर्नुहोस् ।

धन्यवाद

 

गङ्गाराम अधिकारी (लामिटारे)
              अधक्ष्य
   साहित्य परिषद भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *