साहित्य सेवाकाे बाह्र वर्ष

विशेष सम्पादकीय

Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका छौँ । हाम्रा आदरणीय पाठक तथा लेखकज्यूहरूको असीम माया, साथ र सहभागिताले नै हामीले यहाँसम्मको यात्रा तय गरेका हौँ । आशा छ आगामी दिनमा पनि हाम्रा लेखक तथा पाठकहरूको उही किसिमको उत्साह, प्रेम र हार्दिकता कायमै रहिरहने छ ।

Bhutaneseliterarure.com को स्थापना त्यो समयमा भएको थियो जति खेर भूटानी समाज एउटा अवस्थितिबाट पार गर्दै अर्को फरक काल खण्डमा प्रवेश गर्दै थियो । विगतको एउटा इतिहासको अवसान भइसकेको र नयाँ इतिहासको रूपरेखाको ठोस कुनै अवधारणा नै थिएन । भाषा-साहित्यका दृष्टिले त झन् ठूलाे अन्योल, चिन्ता र द्विविधा कायम थियो । नयाँ ठाउँमा गएर पुनस्थापित हुन धेरै चुनौतीहरू थिए । यिनै चुनौतीका बीच पनि हामीले सम्भावनाका आयामहरू खोज्यौ, हिजो हिँडेको बाटोलाई फरक पाइताले टेक्ने बिचार गर्याै । फलस्वरूप परम्परागत रूपमा लेखिँदै र पढिँदै आएको साहित्यलाई साइबर स्पेसमा अवतरित गर्याै । यसरी हाम्रो भाषा-साहित्यिक अभियान र आन्दोलनले नयाँ स्वरूप, फरक दृष्टि र युगीन मञ्च प्राप्त गर्याे ।

Bhutaneseliterarure.com को स्थापना कुनै संयोग थिएन, एउटा विवेकपूर्ण सचेतना र दूरदृष्टिकाे उपज थियो । समाज र भविष्यप्रतिको निष्ठा र दायित्वबोध थियो । फर्केर हर्दा यो बाह्र वर्षको अवधिमा झन्डै ३५०० रचनाहरू प्रकाशित भइसके छन् । तुलनात्मक रूपमा लेखकहरूको सङ्ख्यामा धेरै बढोत्तरी भएको छ । विधागत रूपमा रचनाको विस्तार हुनका साथै गुणात्मक रूपमा तिनको प्रगति भएको छ । त्यस कारण थोरै भए पनि हाम्रो प्रयत्न सफल भएको हामीले महसुस गरेका छौँ ।

पुनर्वासपछि साहित्यमा नयाँ अनुहार अनि नयाँ कृतिहरू आए । त्यसरी नै लेखनको विषय, स्वरूप र चिन्तनले पनि फरक मोड र धरातल पायो । परिवेश बदलियो, सोचहरू बदलिए, नवीन उत्प्रेरणा र उन्मेषले समाजलाई फरक बाटोमा धकेल्यो । नयाँ ठाउँमा प्राप्त अवसरहरूले सपनाहरू बदलिए, व्यक्तिगत अभीष्ट र सामाजिक आकांक्षमा रूपान्तरण भयो । भूटानी समाजमा धेरैले गरेको व्यावसायिक, वैयक्तिक र शैक्षिक प्रगति निकै प्रेरणादायी र अभूतपूर्व छ । हिजो जुन किसिमको विपन्नता र अवसरहरूको अभावले जीवन अवरुद्ध थियो, त्यसले आज नयाँ गति, चलायमानता र बहुआयाम प्राप्त गरेको छ ।

समय- कति कुरा प्राप्त गर्न सहायक हुन्छ, कति गुमाउन उत्प्रेरक । पुनर्वासपछिका प्राप्ति र सफलताको सूची लामै बन्ला तर भाषिक र सांस्कृतिक समस्या भने दिनानुदिन जटिल बन्दै गइरहेको छ । यस्तो अवस्थामा भाषा-साहित्यप्रति प्रतिबद्ध सङ्घसंस्था र कार्यक्रमहरूको आवश्यकता झन् बढेर गएको छ । भाषा-साहित्यिक अभियानलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न प्रबल रणनीति, प्रभावकारी कार्यक्रम र दीर्घकालीन हस्तक्षेप आवश्यक हुन्छ ।

हामीले बाह्र वर्ष अटुट स्वयम सेवा गर्याै र यो प्रकाशन कार्यलाई निरन्तरता दिइरह्यौ । हामी भाषा साहित्यको सेवा गर्न अझै पनि दृढ सङ्कल्पित छौँ । यस क्रममा हामीले थुप्रै कठिनाइहरू भोग्दै र तिनलाई किनारा लगाउँदै आएका छौँ । त्यसको साक्षी तमाम भूटानी समाज छ, हामीले भनिरहनु पर्दैन । यद्यपि आर्थिक सबलीकरण बिना, चाहे जस्तो कार्य गर्न कठिन हुन्छ । त्यस कारण यो भाषा-साहित्यिक अभियानलाई प्रभावकारी बनाउन हामी तपाईँहरूको साथ, सहयोग र सहभागिता अपेक्षा गर्दछौँ । 

यदि यहाँहरू Bhutaneseliterature.com लाई आर्थिक सहायता प्रदान गर्न चाहनु हुन्छ भने तलको फारममार्फत सुरक्षित रूपमा सहयोग  गर्न  सक्नुहुनेछ । तपाईँहरूको सद्भाव, सद्प्रेरणा र सहयोगले हामीलाई भाषाको निरन्तर सेवा गर्ने ऊर्जा मिल्ने छ । बाह्राै वर्ष गाँठको अवसरमा हाम्रा तमाम पाठक तथा लेखकज्यूहरूमा हार्दिक अभिनन्दन गर्न चाहन्छौँ । अस्तु ।

$

Enter the amount you want to donate above

Personal Info

Donation Total: $50

Leave a Reply

Your email address will not be published. Required fields are marked *