साहित्यकार देश सुब्बासँग अर्जुन प्रधान
भयवादका चिन्तक तथा प्रतिपादक देश सुब्बाको जन्म धरान—१० पुतली लाइनमा वि.सं. २०२१ साल मंसिर २१ गते बाबा कुबिरजङ्ग लिम्बू, आमा तिलमति लिम्बूको कोखबाट भएको हो । वि.स. २०५० सालमा पब्लिक युथ काठमाण्डौमा स्नातोत्तर सम्मको अध्ययन गरेका सुब्बा सन् १९९६ सालबाट सपरिवार हङकङमा बसोबास गर्दै आएका छन् । उतैबाट सन् १९९९ सालदेखि भयवाद दर्शनको विकास गरिरहनु भएको छ । देश र विदेश जहाँ रहेपनि नेपाली साहित्यलाई माया गरिरहने धरान निवासी सुब्बाले ४ वटा उपन्यास लेखिसकेका छन् । दोषी कर्म २०५०, अपमान पहिलो संस्कारण वि.स. २०५२, सहिद वि.सं २०५६ साल र अपमानकै दोस्रो संस्करण २०६० साल, आदिवासी वि.स.२०६४ मा प्रकाशित भैसकेका छन् । त्यसमध्ये सबाल्टर्न भनौ या जनजाति भनौ यसको उठान वि.स. २०५२ सालमै अपमान उपन्यासबाट भएको हो । यसको प्रकाशन पछि नेपालमा यस धारबाट लेख्ने धेरै विचार आए, कविता आए । हङकङमा त जनजाति साहित्य संस्था नै खुल्यो । त्यस्तै भयवादमा प्रयोग भएको उपन्यास आदिवासी हो । सुब्बाको अलावा भयवादलाई प्रवीण पुमाले हेच्छाकुप्पा नाटकमा समेत प्रयोग गरेका छन् । हेच्छाकुप्पा नाटकको भयवादीय समालोचना सुब्बा आफैले गरेका छन् र भयवाद दर्शनलाई विकास गर्न प्रा. डा. टंकप्रसाद न्यौपानेको अध्यक्षतामा ‘भयवाद अध्ययन केन्द्र’ धरानमा खुलेको छ ।
आफ्नो लक्ष्यमा निरन्तर लागिरहेका देश सुब्बाले हङकङलाई नेपाली विश्व साहित्यको केन्द्रको रूपमा विकास गर्दै भनेका छन्, ‘अबको नेपाली साहित्य भनेको विश्व नेपाली साहित्य हो ।’ नेपाली साहित्य प्रतिष्ठान हङकङ, जनजाति साहित्यिक संस्था हङकङ, भयवाद अध्ययन केन्द्र धरान आदी संघ–संस्थाहरूमा संलग्न रहेका सुब्बाले हङकङबाट प्रकाशित टापु पत्रिका (२००५) को सम्पादन गरेका थिए । यही टापु पत्रिकामा पहिलो पटक भयवादको प्रारम्भिक घोषणा भएको थियो । सन २००८ सालमा ‘भयवाद र आदिवासी राष्ट्रिय सम्मेलन’ धरानमा भएको थियो । सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रको संगालो प्रकाश थाम्पसुहाङको सम्पादनमा ‘भयवाद वैचारिक चिन्तन’, विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, अन्तरवार्ताको संगालो दीपक सुबेदीको सम्पादनमा ‘भयवाद चिन्तन र विमर्श’ प्रकाशित भैसकेको छ । सन २०१० को सेप्टेम्बर महिनाबाट सुब्बाले काव्यमा रेखा कविताको विकास गरिरहेका छन् । रेखा कविता पनि ५ वटा देशबाट ११ कविहरूले लेखिरहेका छन् । केही समय अगाडि रेखा कवि अतीत मुखियाको रेखाकाव्य ‘अचानो आहत’ पनि प्रकाशित भैसकेको छ ।
आफ्ना पाठकहरूसँग विचार र सिद्धान्तहरूमा बहस गरी, समाधान खोजी गर्दै नेपाली साहित्यमा इट्टा थप्ने देश सुब्बाको भयवाद दर्शन, सपना, कल्पना र फूल महाकाव्य, रेखा कविता संग्रह प्रकाशनोन्मुख छन् । यिनै जीवन र दर्शनका बहस गर्न, हाम्रो प्रश्नको जवाफ दिन हाम्रो अगाडि देश सुब्बा उपस्थित हुनुभएको छ ।
१. भुटानी साहित्यको साझा मंच Bhutaneseliterature.com मा स्वागतम छ यहाँलाई |
उत्तरः भुटानी आदरणीय मित्रहरू, संसारमा दुःखले छरिएर रहनुहुने शरणार्थीहरूसित दुःख बाँड्ने अवसर दिनु भएकोमा म यस मञ्चलाई धन्यवाद दिन चाहन्छु । मेरा कुरा सुनिरहनु भएका आदरणीय महानुभावहरूमा नमस्कार, श्रद्धा चढाउन चाहन्छु ।
२. भयवाद दर्शनलाई हामीले निकै अगाडिदेखि सुन्दै आएका छौँ । यसलाई तपाई आफैले कसरी पारिभाषित गर्ने गर्नु भएको छ ?
उत्तरः अन्य दर्शनहरूजस्तै यो एउटा दर्शन हो । जीवनलाई हामीले धेरै दर्शनले हे-यौ, धर्मले हे-यौ । तर भयबाट हेरेका छैनौ । अब यसलाई भयदर्शनबाट पनि हेरौ भन्ने आग्रह हो । जब हामी जीवनलाई भय दर्शनबाट हेर्न थाल्छौ, पुरानो दर्शनले हेर्दै गरेको विस्वास, मान्यतामा नयाँ कुरा थपिन्छ र अझ स्पष्ट देखिन्छ । समाज विकासको यात्रादेखि वैज्ञानिक आविष्कार, राष्ट्र सबै भयको कारणले भएको देखिन आउन आउँछ । हेर्नु दर्शनको एउटा पाटा हो । समाधान अर्को पाटा । भयवादमा भयका किरण मात्र देखाउने होइन, त्यसका समाधान पनि बताउँदै जाने हो ।
३. विश्लेषकहरूले “आदिवासी” नामक उपन्यास कम र दर्शन बढी भएको भनिएको छ | किन होला ?
उत्तरः विश्लेषक, विचारक, समालोचक, पाठक सबैलाई आफ्ना मत प्रकट गर्ने स्वतन्त्रता छ । कसैले औपनिन्यासिकता कम देख्छन् विचार बढी । त्यसतै कसैले औपनिन्यासिकता बढी विचार कम देख्छन् । यो आ—आफ्नै बुझ्ने, हेर्ने क्षमताको कारणले फरक पर्छ । कहिले पनि सबैको समान दुष्टिकोण हुँदैन । तर जहाँसम्म मलाई लाग्छ यसलाई मैले भयवादको प्रयोग गरेको हुँ । प्रयोग केमा गर्ने मेरो अगाडि प्रश्न खडा भयो । त्यतिखेर चलिरहेको नयाँ कुरामा लेखौँ भन्ने लाग्यो । विश्वमा भएका आदिवासीको पहिचानको समस्या आइरहेको छ । त्यसैले विश्वकै आदिवासीको लागि प्रयोग गरौ भनेर आदिवासी लेखेको हुँ ।
४. नेपाली साहित्यमा प्रतिपादन भएका लिलालेखन, रङ्गवाद, मुक्त अभियान लगायतका चिन्तन र सिद्धान्तमा भय छ भनिन्छ नि ?
उत्तरः तपाईले ठीक भन्नु भयो । म सभ्यताको आदिमताबाट नै भय छ भनेर वकालत गर्छु भने त्यसपछिका जीवनका प्रत्येक इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनमा भय छ भन्छु । तपाई नै भन्नु होस आदिम कालमा मान्छेले ढुङ्गाको हतियार किन बनाए । त्यो कुनै वाद, आन्दोलन देखाउन बनाएका, आविष्कार गरेका थिएनन् । त्यो त जंगली जनावरको डरबाट बच्न बनाएको थियो । हतियार बलियो नहुँदा जनावरले मारेर खाने डर थियो, आफूले खानेकुरा खान नपाउने डर थियो । सुरक्षा, भोकको भयबाट बच्न हाम्रा पुर्खाले हतियार, आगो, गुफाको आविष्कार गरे । मान्छेका प्रत्येक गतिविधि भयबाट सञ्चालन, निर्देशन, नियन्त्रण हुन्छ भने कुन कुरा भयइतर छन् ?
५. भयवाद अध्यात्मवाद, बिम्ब, यथार्थवाद, माक्र्सवाद, द्धन्द्धवाद आदिसँग सबन्धित छ भनिन्छ | कसरी ?
उत्तरः यस प्रश्नको उत्तर मैले माथि नै दिइसके । तपाईले उठाउनु भएको अध्यात्मवाद र माक्र्सवादमा जाउ एकपटक । तपाई सोच्नुहोस धर्मको जन्म कसरी भएको हुन्छ र मान्छेले धर्म कतिखेर मान्छ । आदिमकालमा मान्छेलाई प्राकृतिक शक्ति आँधीहुरी, चटयाङ, असिना, वर्षा, जाडो गर्मी, खडेरी, अज्ञात शक्तिले बढी दुःख दिन्थ्यो । त्यो के हो, किन हुन्छ पनि सोच्न सकेनन् । ती कुराबाट बच्न उनीहरू ती सबैलाई ईश्वर, परमेश्वर, प्रभु, भगवान मान्न थाले । प्राकृतिक शक्तिलाई पूजा गर्ने जाति अहिले पनि धेरै छन् विश्वमा । ती प्राकृतिक शक्तिपछि विभिन्न रूप, आकार, विस्वास, आस्थामा परिणत हुँदै गयो । तर ती सबैको उद्गम बिन्दू भय नै हो । त्यस्तै माक्र्सवादको वर्ग संघर्ष भन्नुहोस, सर्बहारा र पूजिपति भन्नुहोस, कृषक र सामान्त भन्नुहोस सबै एक अर्कासँग भयभीत, शंशकित, षडयन्त्र, खुराफाती गरिरहेका हुन्छन् । त्यस्तै हुन् अन्य विचारहरू एकले अर्कासित टकराउन, आपूm छुट्टै हुँ भनेर देखाउन, पहिचान बचाउन आउँछन् र जन्मेका पनि हुन् । त्यसैले यी सबै भयबाट सन्चालित, निर्देशित, नियन्त्रित नै छन् । यसलाई के भन्ने ।
६. उपन्यास “आदिबासी”मा उपन्यासकारले पात्रलाई मिथकीय रुपमा कुदाएको आरोप छ | के भन्नु हुन्छ यहाँ ?
उत्तरः हो यस उपन्यासमा निसाम् एउटा मुख्य पात्र छन् । ऊ वर्तमान, भविष्यको प्रतिनिधि हो । आम मान्छेहरू यस संसारमा किन कुदिरहेका छन् । चाहे धनी होस या गरीब, चाहे राष्ट्र भएको मान्छे होस या राष्ट्रविहिन । उनीहरू कुदिरहेका हुन्छन् निसाम्जस्तै । कोही राष्ट्र खोज्न दौडिरहेका हुन्छन् कोही सम्पत्ति खोज्न, कोही शान्ति खोज्न । तर हामी सबैले खोजेको राष्ट्र, ज्ञान, शान्ति, देश कहाँ छ ? त्यो हामीभित्रै छ । जब सम्म हामीले हामीलाई आफै चिन्दैनौ, जति दौडिएपनि हराइरहेका हुन्छौ । सिद्धार्थ गौतम पनि ५ वर्ष जंगलमा हराए, खोजे । आफूलाई भेटेको दिन नै ज्ञान भेटे । बुद्धिज्म भनेको आपूmलाई भेटेको दिन हो । यस्तै जुनदिन निसाम्ले आपूmलाई भेट्छ अनि घर फिर्छ । हामी पनि त्यस्तै छौ, आपूmलाई भेटेको दिन घर फिरौला ।
७. भयवाद अध्ययन केन्द्र कति आवश्यक छ ? हाल कतिवटा देशमा स्थापना भएका छन् ?
उत्तरः यो केन्द्र एउटा अध्ययन केन्द्र हो । भय कता कता, कसरी छोडिएको छ, लुकेको छ, पछारिएको छ, जीवनमा कता कता छ, दर्शनमा कता कता छ, साहित्यमा कता कता छ, विज्ञानमा कता छ । मनोविज्ञानमा कता छ, धर्ममा कता । यसलाई खोज्नको लागि, अध्ययन गर्नको लागि खोलिएको संस्था हो । खोज्नै पर्ने किन भएको छ भने भयको कारणले धेरै समस्या जन्मिन्छ, युद्ध जन्मिन्छ, शत्रुता बढ्छ । धेरै मानसिक रोगको जड भय, चिन्ता हो । अहिले सबै किसिमका मानसिक रोगलाई एउटै भडँकुडामा हालेर उपचार गरेको पाइन्छ । शारिरीक कमजोरीको कारणले हुने मानसिक रोग, व्यवशाय टाटपल्टेर, घरायसी समस्या भएर, ऋण तिर्न नसकेर, अपराध गरेर, कसैले तर्साएर हुने सबै मानसिक रोगलाई एउटै तरीकाले उपचार गर्दा कसरी प्रभावकारी हुन्छ । यस्ता भयका अनेर्कौ स्रोतलाई अध्ययन गर्ने अरु निकाय छैन । त्यसैले यस अध्ययन केन्द्रको आवश्यकता छ । यसको विस्तार भएको छैन । सायत भविष्यमा हुन पनि सक्छ ।
८. भयवादले जीवन र जगतलाई कति ब्याख्या गरेको छ ?
उत्तरः मेरो भयवादको नयाँ प्रकाशोन्मुख दर्शनमा प्रशस्त जीवन र जगत्को व्याख्या गरेको छु । यो एक किसिमको सुत्र मात्र हो । यसका धेरै हाँगाबिगाँ छन् । जति खोज्यो उति मोती भेटिने यो महासागर हो । मेरो दर्शन मात्र एउटा जहाज हो, यसबाट यात्रा धेरै लामो हुन सक्छ ।
९. आफ्नो प्रतिपादनलाई वाद भन्ने, अरु नयाँ सिद्धान्तलाई “प्रकट” भन्ने गरिन्छ । किन ?
उत्तरः प्रश्न राम्रो गर्नु भयो । यस संसारमा जति पनि नयाँ कुरा हुन्छन्, त्यो नदेखिएका, लुकेको, बुझेको हुन्छ । त्यसलाई कुनै आविष्कारले, सृजना, प्राकृतिक परिवर्तनले, दर्शनले अर्को रूपमा देखाइदिन्छ । अगाडिको एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुनु, देखा पर्नेलाई मैले प्रकट भनेको हुँ । कुनै आविष्कार, सृष्टि, सृजना प्रकटको संयुक्त रूप मात्र हो भन्न खोजेको हुँ । मैले आफ्नो प्रतिवादनलाई वाद र अरुको प्रतिवादनलाई प्रकट भनेको छुइनँ ।
१०. भयवाद बैचारिक चिन्तन र विमर्श गरिसकेपछि सामाजिक सञ्जालबाट रेखा कविताको घोषणा गर्दै हुनुहुन्छ नि ? के हो रेखा कविता भनेको ?
उत्तरः सन २०१० सालको सेप्टेम्बरबाट प्रारम्भ भएको काव्यिक लेखन हो । अहिलेसम्म हामीले कवितामा मात्र लेखिरहेका छौँ । रेखा कवि टंक सम्बाहाम्फेले डिसेम्बर २०, २०११ को अन्नपूर्ण पोष्टमा ‘नयाँ नेपालको लागि रेखा साहित्य” भनेर अन्तरवार्ता पनि दिएका छन् । मैले के देखेँ भने संसारका युद्ध, गृह युद्ध, हत्या, आतङक सबैको पछाडि दुईटा रेखाहरू छन् । यी रेखाहरूमा भएका गुणहरूको मात्रा थपघट हुँदा यी समस्याहरू पैदा हुन्छन् । त्यसमा अति कति बढ्नु भनेको अतिवादी हुनु हो, धर्म, जाति, सँस्कार, विस्वास, आस्था, रंग अलिकति बढ्नासाथ सन्तुलन हल्लिन थाल्छ र त्यसले समाजलाई, विश्वलाई हानि गर्छ । त्यसमा फाइर जोन, फाइर लाइन वा मध्यम सन्तुलन रेखाको आवश्यकता पर्दछ । कतै केही ठोकिन लाग्यो, आगो बल्न लाग्यो, कोही डुब्न लाग्यो, युद्ध हुन खोज्यो, आतङ्क पैmलिन लाग्यो भने त्यसलाई फ्जुन गर्ने फ्युजको आवश्यकता पर्दछ । फ्युज गर्ने धेरै साधन मध्ये प्रभावकारी साहित्य र दर्शन हो । त्यसैले हामीले त्यस्ता जोखिम, खतरालाई फ्युज गर्न रेखा कविताको धारणा अघि सारेका छौँ । फ्युज कसरी गर्ने भन्ने टुल्सको रूपमा अहिलेलाई ६ वटा बूँदाहरू अघि सारेका छौँ ।
१. समानता
२. क्षेत्रता
३. सामयिकता
४. सहनशीलता
५. अलङ्कारिता
६. रेखीय प्रस्तुती
यी ६ वटा बूँदाले हामी ती जोखिमको फ्युज गर्दै आएका छौँ । यो हाम्रो पहिचान पनि हो र जीवन र जगत्लाई हेर्ने अर्को दृष्टि । रेखाबाट पनि जीवन र जगत्लाई हेर्न सकिने रहेछ ।
११. अन्तमा छुटेका केही कुरा छन् कि ?
मलाई संसारको केन्द्रबाट सञ्चालन हुने सञ्चारमा ल्याएर आफ्ना विचार, साहित्य, देश, ठाउँ राख्ने अनुमति दिनु भएकोमा अर्जुनजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । संसारमा छरिएर बसेका तपाई हामीले हरेश नखाई हातेमालो गर्दै अगाडि बढ्नपर्छ । हामी आफ्ना, विचार, लेखन, भाषालिपि, जाति सबैलाई फैलाउँदै चिनाउँदै लानुपर्छ । मैले प्रतिपादन गरेको भयवाद, रेखा कवितामा यहाँहरूले जिज्ञासा राख्नु होला, जीवनलाई यही फ्रेमबाट पनि हेर्नुहोला भन्ने आग्रह गर्न चाहन्छु । अन्तमा यहाँहरू सबैको सुखी जीवनको कामना गर्दै बिदा हुन चाहन्छु । नमस्कार ।