स्तम्भ

कुबेर कुईकेल ‘भुवानेटारे’
मासाचुसेट्स, अमेरिका

सशक्त चार स्तम्भमा दरो छ लोकतन्त्र यो
स्वतन्त्रता समृद्धता र योग्यता विशेष त्यो
छ राज्य लोक रङ्कको नरेश आम रङ्क हुन्
र श्रेष्ठता प्रजा धरा प्रधान आम लोक हुन्

लुते हुनेछ राष्ट्रको ध्वजा गढी प्रबन्ध तै
भएर निम्छरो लुलो ल कार्यपालिका कतै
सशक्त कार्यकाल होस् सुधार हुन्छ राष्ट्रको
दरो छ कार्यपालिका बचाउ हुन्छ साँदको

विधायिका दरो हुँदा विधान बन्छ उत्तम
विपक्ष पक्ष तर्क होस् र संविधान सत्तम
विवेचना विचारमा सभा सुझाउ राय होस्
अयोग्य नीति फाल्नमा विपक्ष पक्ष एक होस्

दरो छ न्यायपालिका स्वतन्त्रता छ त्यो दरो
निसाफ न्याय तौलमा प्रमाण हुन्छ त्यो दरो
कुनीति कैद क्रूरता कुकर्म रोक्छ शासक
समान हुन्छ ऐनमा धनी गरीब शासक

चतुर्थ अङ्ग राज्यको ल पत्रकारिता छ त्यो
स्वतन्त्र पत्रकार नै निनाद सेतु हुन्छ त्यो
उ प्रश्न गर्छ मध्यमा विपक्ष पक्ष साँघु त्यो
विचार बोक्छ पोख्छ त्यो सुदूर देख्छ लेख्छ त्यो

सदैव चार अङ्गमा स्वतन्त्र काम कर्म होस्
विशेष मान न्यायमा स्वतन्त्र न्याय पाल होस्
विधायिका विधानमा स्वदेश शक्ति ध्यान होस्
स्वतन्त्रता समाजमा प्रजा सशक्ति ख्याल होस्

सशक्त कार्यपालिका विकास दूरदर्शी होस्
चलायमान बेस त्यो सशक्त संविधान होस्
र आम राय रङ्कको प्रबन्ध सूत्रकार होस्
स्वदेश प्राण ज्यान हो समृद्धि मात्र लक्ष होस्

पञ्चचामर छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *