स्थापना दिवसमा छ कृतिको विमोचनः पुरस्कृत कृतिको घोषणा

 

साहित्य परिषद-भूटानले मार्च २७, शनिवारका दिन अमेरिकामा आयोजित एउटा प्रतीयमान सम्मेलनमार्फत आफ्नो २८ औं स्थापना दिवस मनाउँदै परिषदकै प्रकाशनमा रहेका विभिन्न विधाका छवटा कृतिको लोकार्पणका साथै विगतमा प्रकाशित एउटा कृतिलाई पुरस्कारको घोषणा समेत गरेको छ ।

कार्यक्रममा लोकार्पित छवटा कृतिका लेखक नैनसिंह सारुमगरले आफू विभिन्न कालखण्डमा जीवनसंघर्ष गर्दै गजल, एकांकी नाटक, निवन्ध, कविता, कथा  र खण्डकाव्यका यी कृतिहरुको सिर्जना गर्न सफल भएको बताए ।

स्रष्टा सारुमगरका लोकार्पित कृतिहरु `आन्दोलन’ खण्डकाव्य, ‘सुगुरको पत्र खसीलाई’ कविता संग्रह, ‘माटो खन्नु देश नखन्नु’ कथा संग्रह , ज्वाइॅ चिन्नु छोरी दिनु’ एकांकी संग्रह , ‘जनातिले हजुरबाबा देख्नुपर्छ’ निवन्ध संग्रह र ‘प्रेम गर्नु भर नपर्नु’ गजल संग्रह रहेका छन् । कृतिहरुमा रहेका सामान्य कमी-कमजोरीहरु केलाउँदै विभिन्न समीक्षकहरुले सारुमगरको सक्रियतामा यतिका पुस्तकहरु एकै-झमट प्रकाशित हुनु प्रशंसनीय कार्य भएको बताउँदै सराबना गरेका थिए ।

साहित्य परिषद-भूटानको २८ औं स्थापना दिवसको सन्दर्भमा बोल्दै आध्यक्ष गंगा लामिटारेले परिषदद्वारा विगतदेखि वर्तमानसम्म गरिएका कामहरुको विवरण पेश गर्नका साथै अबका दिनमा समुदायका बालबालिकालाई भाषाको शिक्षा दिन गहन योजनाहरु बन्नुपर्ने र त्यसमा सिंगो समुदायले दायित्व महसूस गर्नुपर्नेमा जोडि दिए ।

पुनर्वासमा सम्मिलित संसारभरि छरिएको भूटानको नेपालीभाषी समुदायलाई गरेको सम्बोधनमा अध्यक्ष लामिटारेको भनाइ थियो, “सामाजिक अस्तित्व बँचाउन भाषाको रक्षा अनिवार्य छ । सबै ठाउँमा आ-आफ्नै व्यवस्था अनुसार सबैले बालबच्चालाई नेपालीभाषा सिकाउँ-अनुकूलता अनुसार लेखन अभ्यास गराउँ तर, सिकाउने तरिकाको एकरुपतामा पनि चिन्तन गरौं । एउटा केन्द्रीकृत पाठ्यक्रमको आधारमा रहेर सबैले पढाउँ । जसले जहाँ बसेर, जुनसुकै माध्यमबाट पढाए पनि ठिक छ । पाठ्यपुस्तकहरु जसले जसरी निकाले पनि फरक पर्दैन । तर, सबैको आधार एउटा हुनु जरुरी छ । एकरुपता नभए पछि गएर हामीलाई स्थानीय तहमा भाषाको मान्यता दिलाउने पहल गर्न सम्भव हुँदैन !”

परिषद सचिव खेम रिजालद्वारा सञ्चालित सो सम्मेलनमा स्रष्टा तिलारुपा आचार्यको ‘गल्ली गल्लीका गीत’ (कविता संग्रह) लाई सन् २०१९-२० को ‘हिमतारा प्रतिभा सम्मान’ पुरस्कार प्रदान गरिने घोषणा पनि भएको छ ।

निर्वासनमा रहेर संसारका विभिन्न देशमा छरिएका भूटानीहरु (पूर्व शरणार्थी) द्वारा रचित जम्मा  १८ वटा कृतिमध्येबाट स्रष्टा कवि तिलारुपा आचार्यको ‘गल्ली गल्लीका गीत’ (कविता संग्रह)- हिमतारा प्रतिभा सम्मान पुरस्कारका निम्ति चुनिएको हो । यो पुरस्कार हरेक दुइवर्षमा कविता/गजलमध्येको उत्कृष्ट एउटा कृतिलाई प्रदान गरिन्छ ।

यसकै सिलसिलामा कृति मूल्यांकन र चयनको सन्दर्भबारे गरिएको एउटा प्रश्नमा अध्यक्ष लामिटारेको भनाइ थियो,“परिषदमा प्रत्यक्ष आबद्धता नभएका तर, नेपाली भाषा-साहित्य र संगीतको विशेष चेतना भएका समुदायकै विद्वानहरु जुटाएर एउटा पाँच सदस्यीय मूल्यांकन समिति बनाइएको थियो । सो समितिले दिएको राय अनुसार तिलारुपा आचार्यको कवितासंग्रह ‘गल्ली गल्लीका गीत’ पुरस्कारका निम्ति चुनिएको हो ।”

प्राप्त जानकारी अनुसार रचनाकृति चयनकै क्रममा आएका अन्य दुइ कृतिहरु ‘एक अञ्जुली सपना’ (धर्मेन्द्र तिम्सिनाको कवितासंग्रह) र ‘प्रश्नहरुको पहाड’ (आभास रिखामको कविता संग्रह) लाई पनि सान्त्वनास्वरूप प्रशंसा-पत्रद्वारा सम्मान गरिनेछ ।

यस अतिरिक्त धेरै वर्ष अघिदेखि अनौपचारिकरूपमा ‘कवि’ उपमाले चिनिएका डिल्लीराम शर्मा आचार्यलाई चारवटा महाकाव्य रचेर हाम्रो साहित्यिक वाङ्मयको श्रीवृद्धि उकास्न अतुलनीय योगदान गरेकामा सराहनास्वरुप साहित्य परिषद-भूटानले विशेष अभिनन्दन गर्ने योजना बनाएको जानकारी पनि प्राप्त भएको छ ।

स्थान र मिति अहिले नै निर्धारण नभए पनि साहित्य परिषद-भूटानको अब हुने भौतिक उपस्थितिको सम्भावित कुनै पनि कार्यक्रममा सम्बन्धित स्रष्टाहरुलाई निमन्त्रणा गरी तोकिबमोजिमको सम्मान अर्पण गरिने परिषद सूत्रले जनाएको छ ।

सो सम्मेलनमा अमेरिका, केनाडा, यूरोप, अष्ट्रेलिया, नेपाल, भारत र भूटानका नेपालीभाषी सर्जक-स्रष्टाहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *