स्वरुप
मत्त……
जवानीले मातेका
दुई किशोर किशोरीझैँ
भर्खर मेरो देश
षोढशीझैँ छातीभरि
सगरमाथा बोकेर
फर्कँदैछ….
फुल्दैछ
नागबेली उखेलेर
चम्पावती रोप्दैछ ।
हिजो बगैँचाभरि….
गमलाभरि
थरिथरिका….
जात…जातिका
फूल रोपेर
आज कसैलाई उखेलेर
मेरो आँगन मगमगाउँदै छ
धेरै दुर्गन्ध बोकेर
विश्वसामु प्राकृतिक मोह फैलाउँदै
लाखौँ माखा जन्माउँदै छ
शिरबन्दीविनाको बेहुली बनेर
आज विश्वमा अपमानित हुँदै छ ।
अब त…….
मेरो बगँैचामा
कृत्रिम फूलका उद्योेग र उद्योगशालाहरु
चौतर्फी विकासका गहना
अनि सौन्दर्यका प्रतीक स्वरुप
च्याउ उम्रेझैँ उम्रेकाछन् रे
सुनगाभाहरु विचल्ली छन् रे
नागवेलीहरु उखेलिएर
यत्रतत्र छिमेकीलाई गुहार
माग्दैछन् रे
कोही तल्ला घरका
कोही पल्ला घरका
आँगनमा लडेका छन् रे
मानो मुठ्ठी पल्ला गाउँले दिएको पनि
पल्ला घरे र तल्ला घरेले खाएर
अवला नागवेलीलाई
प्राण राख्नमात्र
दिएका छन् रे ।
अस्ति……
बाह्र बसन्तको अन्त्यमा
पल्ला गाउँलेहरुले
नागवेली र चम्पावती राखेर
तल्लाघरे र पल्लाघरेलाई डाकेर
नागवेलीलाई पुनः रोप्न
चम्पावतीलाई पूर्वबगैँचामा फुल्न
सल्लाहा दिएको थियो रे
तर चम्पावती रिसाएर
सल्लाहाकारहरुलाईनै उखेलिएका नागवेली
आफैं रोप भनेको थियो रे ।
अब त ….
नागवेली मर्न थालेका छन्
थुप्रैवर्ष अर्काको आँगनमा
जरा टेकाएर बाँचेका नागवेलीहरु
चम्पावती फस्टाएका छन्
पल्ला गाउँलेले दिएको मानो मुठी पनि
तल्लाघरे र पल्लाघरेले खाएर
उनीहरु नै मोटाएका छन्
नागवेलीहरु विभिन्न रोग बोकेर
मृत्युको अन्तिमपल पर्खँदै
आफ्नै बगैँचामा फुल्न
त्यो न्यानो बसन्त पर्खिरहेका छन् ।
अब……..
नागवेलीका जीवनमा
बसन्त कहिल्यै आउँदैन,
आँकुरा टुसाउँदैन, कोपिला फुल्दैन,
बिडम्वना….नागबेलीविना
चम्पावतीको पनि बासना चल्दैन,
रङ्ग भरिँदैन……
पल्ला गाँउलेले पनि नागवेलीलाई
रोप्दैन… अनाथ नागवेलीहरु
आज धर्तीविहीन छन्
आकाश विहीन छन्
वासना विहीन छन् ।।