स्वास्थ्यकर्मीलाई सम्मान

खगेन्द्र भण्डारी जन्तरे
ओहायो, अमेरिका

(छन्द: शार्दूलविक्रीडित )
यो संसार म जित्न सक्षम भनी बोल्ने  अहङ्कारले
सानो सुक्ष्म विकीर्ण भाइरसले  थाकेर  जम्मै  गले ।
मान्छेले धरती र मृत्यु वशमा  राखेर  के  सक्छ  र ?
जे-जे हुन्छ सबै अदृश्य वल हो ढाकेर के लुक्छ  र ?

पानी भित्र अमीरका घर बने के बन्न  बाँकी छ  र ?
यात्रा गर्न सकिन्छ  एक  क्षणमै  आकाशगंगा  पर ।
तारा मण्डलमा पुगेर अहिले  मान्छे  घुमे  आखिर
हार्यो दम्भ घमण्ड आज यसरी यो कीटको खातिर ।।

मान्छेको घर बन्न निर्णय  भयो  त्यो चन्द्रमामा  पुगे
सारा विश्व प्रकाश  पार्छ  पलमै  विज्ञानको  ज्ञानले ।
छन् विज्ञान र अश्त्रका नियम छन् छैनन् यहाँ न्यूटन
आइन्स्टाइन बुद्धको प्रकट होस् आपद् परेका  दिन ।।

हाम्रा ईश महेश यो बखतमा छन् बन्ध  कोठा  तिर
त्यागी शन्त महन्त पास्टर सबै  बन्दी भए  आखिर ।
यो बेला धरती पहाड छहरा  नाला  नदी  जङ्गल
मात्रै एक पुकार सुन्छ जनको  होला  सबै  मङ्गल ।।

रोगी मानिसका  चिकित्सक  बने  उद्धारका  नायक
साँचो  आदर   गर्नुपर्छ  मनले  सम्मानका  लायक ।
तिम्रा पुण्य वियुग्म कर्म जतिछन् बिर्सेर  बिर्सन्न  म
छिट्टै शान्त बनोस् धरातल सबै उठ्छन् लडेका जन ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *