हली उवाच: तिमीले मलाई बौलाहा बनायौ ।

सत्यवीर 
शरणार्थी शिविर, बेल्डाँगी

तिमीले मलाई बौलाहा बनायौ

जब श्रीमतीको फाटेको चोली सम्झन्छु
जाडोले काँपिरहेको
बालबच्चाको कोमल शरीर सम्झन्छु
तब थोरै बढि वेतनको माग गर्न पुग्छु
तिमी कड्केर व्यर्थै सोध्छौ- बौलाइस् तँ ?

म यसरी
बाली लगाउने बेलामा बौलाउँछु एक बार
बाली उठाउने बेलामा बौलाउँछु एक बार

अक्कल झुक्कल तिमीसँग आँखा जुधेमा बौलाउँछु
तिमीलाई प्रश्न गर्ने हिम्मत गरेमा बौलाउँछु
र यस्तै यस्तै बेलामा
म बौलाउँछु, साह्रै बौलाउँछु

तिमी हाँसेको बेलामा म बौलाएको छु
तिमी मातेको बेलामा म बौलाएको छु

हिजोअस्ती मात्रै त हो,
सलामी टक्र्याउन अलि ढिलो भएको थियो
तिमी आयौ
मेरो कान्तिहीन अनुहारमा मुड्की बजार्‍यौ
र भन्यौ – ठुलो पल्टिन्छस् ? साला बौलाहा !

मलाई थाहा छ
म सद्दे छु, एकदम सद्दे
सद्दे नहुँदो हुँ त
धाँजो फाटेको जमिन जस्तो
चरचर्ती फाटेको आफ्नो कुर्कुच्चामा
मलहम दल्ने आकाङ्क्षा कसरी राख्थेँ ?
कसरी बुझ्थेँ मेरो बच्चाहरूका खाली पेटको भाषा ?
कसरी जोत्न सक्थेँ तिम्रो दस गाउँको बिर्ता ?

मेरो सद्दे शरीरमा
तिम्रै निम्ति बगिरहेछ पसिनाका धारा
फोक्सोको श्वासप्रश्वास नियाल्नु
तिम्रै निम्ति लिइरहेछु श्वास
र मेरो सद्दे मुटु आदि पनि
तिम्रै निम्ति धड्किरहेछ पलपल
सद्दे रहिरहनु भनेको तिम्रो पैतालाको लगाम भिर्नु हो
यी सबै त तिम्रै अधीनमा छन्

तर जो बौलाएकाहरू छन्
ती तिम्रो अधीनमा छैनन्
जस्तो कि बौलाहा झरी
यो घामको बौलाहा ताप
त्यो बौलाहा आँधी….
आगोको बौलाहा ज्वालासँग त झन्
तिमी आँखै जुधाउन सक्दैनौ

सद्दे भनाउँदा त
यो पृथ्वी आकारको म्याग्माको पनि
तिमीले टाउकोमै टेकेर उभिएको छौ
तर जब त्यही म्याग्मा बौलाएर ज्वालामुखी बन्छ
टाउकोमा टेकेर अविचल उभिइरहने
दुनियाँको कस्तै शासकको पनि
विशाल मुटुलाई खाक बनाउने सामर्थ्य राख्दो रहेछ
हेर्नु त्यो नदीले पनि
आफूलाई छेक्ने बाँध टुटाउने भनेको
बौलाएको बेला मात्रै रहेछ

त्यसैले हो
अलग दुनियाँको श्वास लिन थाल्लान् भन्ने पिरमा
मेरो फोक्सोलाई गाली गरिरहन्छौ
तिम्रो बाँध भत्काउला भन्ने डरमा
मेरो रगतलाई बौलाहा करार दिन्छौ
समग्रमा भयभीत छौ
तिम्रो स्वर्ग डगमगाउने हो कि भन्नेमा
र मलाई नबौलाउन खबरदारी गरिरहेछौ
आखिर, बौलाएको भनिएको त लुते कुकुरले धरि
तिम्रो अभिमानलाई ललकार्न सक्दो रहेछ

मालिक
कसैगरी मलाई मान्छे हुनु छ
तिमीले मानिरहेको छैनौ

तिमीले मलाई बौलाहा बनायौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *