हामीसँग के रहन्छ ?

गंगाराम रिजाल
टेनिसी, अमेरिका


पायौँ मानव मूर्तिनै नभरिने कस्तोछ है पेट यो !
गर्छन् इन्द्रिय ज्ञानका सबकुरा बोल्ने र सुन्ने भयो॥
त्यस्तै स्पर्श गरेर जान्दछ सबै यो चर्मले बाहिर !
केहि कर्मअघि गराउँ सबले हुन् इन्द्रियै सुस्थिर ॥

आँखा देख्न भए बन्यो मुखअनि जिब्रोसँगै स्वादको ।
गोडा हिँड्न र हातले सबथरी सत्कर्म होला अहो !!
मीठो वाणी रहोस् भनेर मुखमा बस्नेभईन् शारदा !
छुट्याउन् गतिलो दुई श्रवणले आँखा पुगुन् लौ तदा॥

भन्ने ईश्वरले विवेक सबमा राखिदिए आखिर !
यस्तो दिब्य पवित्र जीवन मिल्यो लागौँ सुकर्मै तिर॥
होला त्यो उपकार जीवनभरी संझीदिनु मात्र हो !
सद्ज्ञानी भई उन्नति तिरपुगे जानिन्छ सत्पात्र हो ॥

हाम्रा इन्द्रियछन् दशै शरिरमा छन् कर्मभिन्नै अनि !
एघारौँ मनहो चलाउँछ सबै राम्रो नराम्रो भनि ॥
सिङ्गो रूप शरीरको यसरीनै सम्पूर्ण बाह्यान्तर।
छुट्याई शुभमार्ग दिन्छ मनले एकेक जान्नेगर॥

रित्तो जन्म थियो थिएन तनमा निर्वस्र आयौँ सबै !
हुर्कियौँ यहीज्ञानको ढुकुटीमा बस्नेछ है मोति भै॥
सेवा धर्म परोपकारी गुणवान् गर्नुछ श्रेयस्कर ।
जाने हो तन यो रहन्छ भवमा सत्कर्म मात्रै तर॥

गर्नू आर्जन जे जति सबयहाँ संघर्षमा दौडनु।
ढाक्नू जीवन दुःखका र सुःखका नौकालिई पौडनु॥
औधी बैभवमा नलाऊ मनत्यो डुब्नेछ नौका भरे !
छोड्नु पर्छ शरीर दौलत यहीँ जाँदैन है क्यै गरे॥

भाईबन्धु बुहारी सासु दुहिता बाबा र आमा अनि !
छोरी ज्वाईं सखा र बान्धव गुरू हुन् पुत्र पत्नी पनि॥
जाँदैनन् सँगमा हुँदैन सबयो चोला उठेका दिन !
मेरो हो म जमाउँछु भनि सधैँ गर्छौ घमण्डै किन ?

आफ्नो ईज्जत साथमा गुणहरू पुण्यात्म श्रेयस्कर।
बस्नेछन् गुणगानले सृजनका मर्दैन बाँच्छन् तर॥
हुन्छन् कर्म जति शुभा-शुभसबै जानेसँगै साथमा !
रित्तो हुन्छ रहन्न बैभवकुनै सन्तान क्यै हातमा ॥

सकल जगतको यो सार संक्षेप लेखेँ !
मकन हृदय भित्रि भावले झट्ट देखेँ॥
यसरी कलम मेरो दौडियो काब्य लेख्न !
अबुझ मपनि भएरै के सकौँला समेट्न ॥

छन्दः-शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *