हाम्रो भाषा हाम्रोसाहित्य

गंगाराम रिजाल
टेनिसी ,अमेरिका


नेपाली मनपुग्छ डुल्छ पृथिवी सारा जहाँ बस्दछ !
भिन्नै देश स्वदेश वा अरूकतै आफ्नैपना पस्दछ॥
उच्चा शीर गरेर घुम्दछ जतै संस्कार बिर्सन्नहै !
झुक्दैनन् मनमा बढाई बहुतै आदर्श आफ्नै छ है॥

भाषा संस्कृतिका कला सृजनका आफ्नै चिनारी सबै।
भिर्छौँ है कटिमा निशानी खुकुरी श्रीपेचझैँ टोपीनै ॥
डोको ढाकरले सजाउँछ निकै नेपाली भै यो शिर ।
सारङ्गी सुरिलो टिनीनिनी गरी बज्नेछ है आखिर ॥

क,ख देखि शुरू ति छत्तीस सबै पढ्दा ज्ञ,मा ज्ञानिभै !
भन्ने भाव बढोस् यी सन्तति तिरै जान्छन् कता बिर्सँदै !!
मिल्दो जोडी अनेक सुन्दर हुने स्वर् वर्णले साथमा !
सोचौँ कर्म ठूलो रहन्छ सबका गर्दा छ है हातमा !!

आफू बाँच्नू बचाउनू अबउसो कर्तव्य बुझ्नु छहै !
हाहाकार हुनेछ बिर्सिनगए धोका नलागोस् लहै !!
काहाँ छौँ भनि गर्वगर्नु अघि यो सर्वस्व के हो लिनु ?
हाम्रो यो पहिचानको ढिकुटीहो भन्ने नविर्सी दिनु !!

भाषा हुन्छ म हुन्छु साथ त्यसमा झल्किन्छ आफ्नै पना !
मिल्छन् शब्द थरिथरी अनुकरण मीठा हुने सिर्जना !!
राख्नु छानी सुटुक्क शब्द कविता हुन्छन् चटक्कै कति !
यस्तै काव्य कथा कला सृजनमा बन्नेछ मीठो अति !!

नेपालीपन भित्र गौरवहुने आफ्नै पहिचानमा !
राख्नू विश्वभरी सजाउन परे उद्यान देख्छु यहाँ !!
बास्ना मगमग आउने किसिमका ढाकून् बगैँचा भरी !
भाषा चिन्तनमा बढोस् मनसधैँ साहित्य सेवा गरी !!

भाषाहो मुटु भित्रको विजुलीझैँ चम्किन्छ है रातमा !
बुझ्नेछन् पछि सन्ततिहरूसँगै छोडिदिँदा हातमा !!
हाम्रो यो उपहार झैँ गहकिलो देखेर देखिन्न है !
भाषाको महिमा अथाह गहिरो लेखेर लेखिन्न है !!

बाँचौँ सभ्य बनेर जीवनभरी आदर्शता झल्कियोस् !
भाषा उन्नतको कला सृजनको भन्नेकुरा टल्कियोस् !!
हाम्रोजीत सधैँ रहन्छ यसमा आखीरिमा पर्दछ !
जस्तै सङ्कटहोस् विपत्ती त्यसमा आएसबै टर्दछ !!

छन्दः-शार्दूलविक्रिडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *