हिउँदको गीत

तारा पराजुली

स्रष्टा तारा पराजुली
स्रष्टा तारा पराजुली

हावाका भित्ताहरूमा
भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ
एउटा बालकले ।

यस बेला ओसिएको छ जीवनको ऊर्जा
डायरीमा शीर्षक मात्र टिपेर
थन्क्याएको छ कविले कविता
घुम ओडेर बसेका असारका खेतालाजस्तै
हिउँ र तुसाराको घरभित्र छन् लेकमा गुराँसहरू
अटेरी भएर बसेको छ मधेसमा हुस्सु
लोसे पाराले आएर
सुम्सुम्याउँदै हातहरूले शरीरभरि टेकेर जान्छ
भुईँँ कुहिराले मलाई ।

निदाउरो छ दिन
चिर निद्राबाट जुरुक्क उठेको छ जाडो
गह्रुँगा छन् फूलका पत्रहरू
निश्चित अवधिका लागि बसाईँ सर्दै छन्
हिमाली घामहरू
पुरानो कन्तुर खोलेर झिक्दै छिन् हजुरआमा
पोहोर साल थन्क्याएका जाडाका ओखतीहरू
आफ्नैअनुहारको फोटोकपीजस्तै खुम्चिएका छन्
हजुरबाका कोट र गलबन्दी ।

जीवनलाई सहजै सहने यी केटाकेटीहरू
अलिकति फुर्सद भयो कि
आँखा छलेर निस्किहाल्छन्
उत्ताउलो सिरेटोसँग जिस्किन ।

हावाका आँगनतिर फर्किएका छन्
जीवनका झ्यालहरू
झनै कोलाहल छ बाहिर
यो बाक्लो उपस्थितिलाई के भनौँ ?
बजार भनौँ कि सम्मेलन ?
यस बजारमा कसैलाई छुट छैन
यस सम्मेलनमा कसैलाई आरक्षण छैन ।

बर्सौँदेखि पराजित अनुहार लिएर
यसरी नै केही जित्नका लागि
न्यायको अँगेनावरिपरि धर्ना दिइरहेछौँ हामी
कहिले पो साटिएला र अनुहारको रङ्ग ?

यसरी न्यायको आगो ताप्ने निहुँमा
दाउरा थप्दै छौँ कि
आफ्नै अनाम आयु थप्दै छौँ हामी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *