‘सीताहरू’ का परशु प्रधान

लेखक

रमेशमोहन अधिकारी

विषयवस्तु

सीताहरू मूलतः यौनवादी कथोपन्यास हो । हाम्रो समाजको यथार्थता व्यक्त यस कृतिमा यौन शिष्ट अशिष्ट दुवै रूपमा देखा परेको छ । यसका कतिपय कथामा शिष्टताको पर्दा अलि खुलेको देखिन्छ । महिलाहरूका विविध पक्ष र पाटाहरूको चित्रण गरिएको छ । महिलाको दुर्दान्त कथा—व्यथा तथा तिनबाट मुक्तिको चाहना यी कथाहरूमा पाइन्छ । महिलाहरूका विविध पक्ष र पाटाहरू चित्रित यस कृतिमा एकातिर यौनलाई नै प्राथमिकता दिएको पाइन्छ भने अर्कातिर यौनविलास गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य पनि पाइन्छ ।

जागिर खोजेर हत्तुहैरान भएकाहरू अस्मिता बेच्न विवश छन् भने हाकिमहरू तिनको सतीत्व लुट्न आतुर छन् ।

महिलाका विभिन्न रूपहरू देखा पर्दछन् । नारीहरू विवश छन्, निरीह छन् । ती अबला ठानिएका छन् । ती दुर्दान्त आर्थिक स्थितिसँग भिड्दै छन् । ती सित्तैको वस्तु अस्वीकार गरि हाल्न सक्तैनन् ,सहजै स्वीकार गर्न पनि अप्ठ्यारो मान्दछन् ।

आत्मनिर्भर महिलाहरूमा  अहम्  भाव देखिन्छ । ती पतिमाथि हुनसम्मको हस्तक्षेप गर्दछन् । तिनका पति निरीह छन् ।

लोग्नेमानिसहरू यौन विलासी छन् । ती नारी अस्मिताको ख्याल गर्दैनन् ,आफ्नो कुत्सित स्वार्थ पूरा गर्न मात्र आतुर छन् । त्यसैले पीडित नारीहरू विलासी चिन्तन विरुद्धका सङ्घर्ष गर्दै छन्

अस्मिता प्राप्तिको सङ्घर्षमा लाग्दै छन् , अस्तित्व हीनताको विरुद्ध विद्रोहमा सरिक हुँदै छन् ।

यस कृतिका कतिपय कथामा द्वन्द्वकालको मर्मान्त चित्रण पाइन्छ । यस क्रममा माओवादीद्वारा अपहरित व्यक्तिका परिवारको दयनीयता प्रकट भएको छ तथा द्वन्द्वकालीन कमजोर सुरक्षा व्यवस्थाको खुलासा भएको छ ।

पुंसकता—नपुंसकता सम्बन्ध जोडि राख्ने तथा भत्काइ हाल्ने पुल हुनाले नियोगप्रति कथाकारको सहमति जस्तो देखिएको छ ।

हाम्रो समाजका विसङ्गत यथार्थको दारुण चित्र यी कथाहरूमा पाउन सकिन्छ । अरूको जीवन बर्बाद हुनबाट बचाउन प्रयत्न गर्नेले आफ्नो परिवारको वास्ता नगरेको विसङ्गत यथार्थ यहाँ पाउन सकिन्छ ।

आजका मानिसलाई अप्ठ्यारा सप्ठ्यारा बीच बाँच्न गाह्रो परेको छ । विवाहित अविवाहित नारीका अन्तर्वेदनाको प्रकटीकरण गरिएको यस कृतिमा समलिङ्गी यौन सम्बन्धले पनि स्थान पाएको छ ।

वर्तमानप्रति व्यङ्ग्य, आजका मानिसका स्वार्थी प्रवृत्ति तथा पुरुषसत्तावादी चिन्तनप्रति तीक्ष्ण व्यङ्ग्य पाइन्छ ।

कताकति आध्यात्मिक जस्तो पनि लाग्ने यो उत्तरआधुनिक चिन्तनमा आधारित छ ।

शैलीगत पक्ष

यो कृति बजारमा देखा पर्ने गरेका भन्दा पृथक् प्रकारको छ । प्रचलित परम्परा अनुसार न कथा,  न कथा सङ्ग्रह, न उपन्यास नै भन्न सजिलो छ । कतै शब्द संयोजन, कतै वर्णविन्यास, कतै लिङ्गगत, कतै आदरगत तथा कतै मुद्रणगत त्रुटि पाइन्छन् । यस्तै कतै अङ्ग्रेजी प्रयोग तथा कतै हिन्दी वाक्यको प्रयोग भएको पनि पाइन्छ ।

यौनेतर कुनै कथा एकालाप जस्तो पनि छ । विज्ञान प्रविधिको शब्द प्रयोजित यस कृतिमा प्रतीकहरूको प्रयोग पर्याप्त पाइन्छ । ‘पोखरीजस्तो स्वच्छ मन’ विम्ब अलि नमिलेजस्तो लागे तापनि ‘सिसाकलम’, ‘मोती’, ‘बलियाबाङ्गा र सोझा बाँसहरू’, ‘पोखरी’ तथा‘पहाड’ जस्ता प्रतीकहरूले कथाको सौन्दर्यमा रौनक थपेका छन् ।

नेपाली कथासाहित्यका सशक्त हस्ताक्षर परशु प्रधानका यी कथाहरू विषयवस्तुगत दृष्टिले रोचक त  छन् नै साथै मौलिक तथा विशिष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *