भूटानी नेपाली गजल: एक झलक
पुरानाघरे
विषय प्रवेशः–
गजल, गजल हो, त्यो भन्दा बढी परिभाषाको अब आवश्यकता छैन । गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्य विधाको रुपमा स्थापित भइसकेको छ । उपन्यास, गीत, कविता आदि जस्तै शालिन, शसक्त र प्रभावकारी साहित्यिक विधा हो गजल । अचेल सबै जसो तह र तप्कामा रहेका व्यक्तिहरु गजल मन पराउँछन् । एउटा जमाना थियो जतिबेला गजल राजा रजौटाहरुका खोपी र नवावहरुका कोठीमा गाइन्थ्यो । परन्तु वर्तमानमा गजल पूर्णकद विधा बनेर साहित्यको अस्तित्वको एउटा स्वतन्त्र र सिंगो पाटो भएर उभिइसकेको छ । विषयगत भावभूमि एउटै भए पनि साहित्यका हरेक विधाका संरचनागत रचनागर्भ पृथक हुनका साथै स्वतन्त्र रुप हुन्छन् । त्यसो भएको हुनाले गजलका पनि स्वतन्त्र भावभूमि, विशेष किसिमको संरचना र पृथक रुप छन् ।
विधागत अस्तित्वको श्रीवृद्धि हासिल गरी युगानुकूल र प्रयोग्य तर परिमार्जनशील संरचनाधर्मिताको शिखरमा उभिइसकेको नेपाली गजलले विश्व साहित्यको कन्पारो सावित भएको एशियाली साहित्यको माहौंलमा केही दशकभित्रै नवीन र संरचनागत हंगामा मच्चाउन सक्छ भन्दा अतियुक्ति नहोला, किन भने केही दशक यता नेपाली गजलका लेखक, समालोचक, विचारक र चिन्तकहरुले नेपाली गजल लेखनमा लेखनका परिधिहरु, भावभूमिहरु, विषयहरु, चिन्तनहरु, संरचनाहरु, दर्शनहरु र शैलीहरुमा युगानुकूल परिमार्जन आदिको अनुशरण शुरु गरे । धेरै लेखकहरुले विधागत परिपक्वतामा शैलीगत र संरचनागत नवीनाताको सुवास छरे । गेयता, सुकुमारता, लघुता, सूक्ष्मता, गहनता, शालिनता, संक्षिप्ता भित्रको विस्तृतता, भावसघनता, विम्बात्मकता, प्रतिकात्मकता, अनुभूतिको तीब्रता, कल्पनाशीलता, लौकिकता, स्मृतिगत मनमोहकता, शब्दविन्यास, चमत्कारिता, स्वतन्त्रतामाथिको विषयगत उपस्थिति, जीवनवाद र प्रभावकारी सापेक्षता, मिस्राहरुको अन्योन्यासृत अन्तरसम्बन्ध, शिष्ट र शालिन भाषाको प्रयोग आदिलाई मुखारित गरी नेपाली गजललाई उत्कृष्ट उचाइ दिएका हुन् । यसरी विविधताले गजललाई आकर्षक एवं मनमोहक विधाको रुपमा स्थापित गरेको छ । विश्व साहित्यको खुल्ला आकाशमा यही अभियान भित्र एउटा युगीन घाम झुल्किन सक्यो त्यो हो ‘आधुनिक गजल लेखन’ जहाँ हामी मपाईंत्वको बाडी भित्र संकीर्णताहीन चिन्तन हुर्किरहेको पाउँछौं ।
अरबी, फारसी, र उर्दु साहित्यबाट तत्कालिन हिन्दी साहित्यसम्म वामे सर्दै आइपुगेको गजलले यतिबेलासम्म विधागत जवानी हासिल गरिसकेको थियो । गजललाई नेपाली साहित्यमा उठाउने काम नेपाली गजलकार मोतिराम भट्टले गरेका थिए तर केही सीमित विधाहरुको वर्चस्वमा मौलिक र नवीन पहिचान लिएर नेपाली साहित्यको माहौलमा उदाएको गजलले कुनै एक अविधा जत्तिकै फाल्तु र भेडीपाठो जत्तिकै निरीह रहनुमात्र परेन विधागत अस्तित्व स्थापनाको लडाँइ नराम्ररी लड्नु परेको सत्यता अहिले नेपाली साहित्यको ढाडमा खील सावित भएको छ । पुनर्जागरण कालमा छापा बाहिरबाट वरिष्ट गजलकार वूँद राना र छापाबाट वरिष्ट गजलकार ज्ञानुवाकर पौड्यालले एकैचोटि धमक हालेपछि दुई दशकभित्रै नेपाली गजल बाडी सावित भयो र यसलाई भेलको ओज ढुन्मुन्याउने काम नेपालको पुर्वाञ्चल क्षेत्रका गजलकारहरुले गरे, जहाँ भूटानी गजलकारको पनि उपस्थिति थियो । यस अभियानमा उल्लेखनीय उपस्थिति, सहभागिता, प्रतिनिधित्व भूटानी नेपाली गजलकारहरुले पनि गरेका थिए ।
भूटानी नेपाली गजलकारहरुको जोड भने भावनात्मक–काल्पनिक, व्यबहारिक, सरलता, शालिनता र गाम्भीर्यता अनि संरचनागत स्पष्टताले नेपाली गजललाई यथार्थतामा प्रगाढ पार्दछ भन्ने गजलकारहरुको विश्वास छ । भूटानी नेपाली गजल लेखनको दौडानमा हामीले गजल अन्तर्गतका धेरै चुनौतिहरुलाई सम्भावनामा परिणत गरी रफ्तार हाँक्न सकेका छौं । आज आएर भूटानी नेपाली गजल उत्पतिकालिन श्रृंगारिक दार्शनिकतालाई भन्दा पनि व्यवहारिक भोगाई, राष्ट्रियता, वस्तुता, पीडा र जीवनवादलाई निसाना बनाएर मौलिकतालाई मुखारित बनाउन सफल छ । वर्तमान भूटानी नेपाली गजलले लेखकीय जवानीका उत्तारचडावहरुलाई कति पनि हतोत्साही नभइ कन पचाएको छ ।
गजलको व्यूत्पत्ति, अर्थ र परिभाषा
नेपाली गजलका प्रवुद्ध व्यख्यता डा. घनश्याम परिश्रमीका अनुसार गजल शब्दको उद्गम भाषिक भूमि अरबी हो । यो स्त्रीलिंगी शब्द हो । मनु ब्राजाकीका अनुसार ग+ज+अल् पदहरुको यौगिक विधानबाट गजल शब्दको व्युत्पादन भएको हो । अरबी भाषामा ‘ग’ को अर्थ वाणी, ‘ज’ को अर्थ नारी र ‘अल’ को अर्थ को वा सँग हुन्छ । यसरी गजलको अर्थ नारीसँगको वा नारीको वाणी भन्ने मानिन्छ । डा. ताहिरा नैयरका अनुसार गजल शब्दको व्युत्पत्ति गैन, जि र लाम गरी तीनवटा अरबी अक्षरहरुको मेलबाट भएको हो । गजल शब्दको व्युत्पत्ति गजाला शब्दबाट भएको हो भन्ने अर्को मान्यता पनि छ । अरबीमा हरिणको शावकलाई गजाला भनिन्छ । शिकारीको तीरले घायल बनेको गजालाको सुरिलो चिच्याहटलाई गजल भनिएको हो भन्ने तर्क यिनीहरुको छ । एकथरीको मत अर्कै छ, उनीहरुका अनुसार उहिल्यै अरबमा एकजना शौखीन शायर थिए । उनले आफ्नो जीवन नै मदिरासेवन र प्रेमगान गरी विताएका थिए । ती शायरको नामै गजल थियो । उनको मृत्युपछि प्रेमप्रणयमा आधारित रचनालाई उनकै सम्झनामा गजल भन्ने गरियो । गजल शब्दको व्यूत्पत्ति संस्कृत शब्द कज्जलको उपभ्रंश भएको हो भन्नेहरु पनि छन् । जसरी भए पनि गजल शब्दको उत्पत्ति भएको छ र नेपाली भाषामा एक उत्कृष्ट विधाको रुपमा ख्यातिप्राप्त छ । आजको गजल शास्त्रीय मान्यता भन्दा माथि छ । यो साहित्यको पूर्ण र स्वतन्त्र विधा हो । अहिले बुझ्न के चाहिँ अपरिहार्य छ भने मिशराहरुद्वारा निर्मित बहरमा आद्यन्त आबद्ध, शुद्ध र सन्तुलित काफिया, रदिफ आदिले सुसज्जित स्वतन्त्र अस्तित्व भएका प्रभावकारी शेरहरुको समष्टिगत रुप हो गजल ।
गजलको रूपवत परिचय
गजलको अति व्यापकता र रोचकिलो प्रभावकारिताले गर्दा साहित्य र संगीतसँग सम्बद्ध वा अभिरुचि राख्नेहरु यस विधासँग परिचित हुन्छन् । तर गजलको संरचनाका विषयमा चलेका बहसहरुमा अधिकाँश सर्जकहरु अनभिज्ञता प्रकट गर्न पछि पर्दैनन् । गजलविद डा. घनश्याम परिश्रमीका अनुसार गजलको संरचना कक, खक, गक, घक, र ङक वा ब्ब्, द्यब्, ऋब्, म्ब्, भ्ब् शुत्रमा हुन्छ । कक र ब्ब् ले मतलाका दुवै मिसरामा कफिया र रदिफ हुनुपर्दछ भन्ने संकेत गर्दछ भने खक, गक, घक ……. अर्थात् द्यब्, ऋब् …… आदिबाट अन्य शेरहरुमा काफिया रदिफको प्रयोग मिसरा ए सानीमा मात्र हुन्छ भन्ने संकेत पाइन्छ । गजलमा बाह्य र आनतरिक गरी दुई किसिमका तत्वहरु हुन्छन् । गजलमा प्रयुक्त बाह्य तत्वहरुलाई नियाल्न सकिन्छ भने आन्तरिक तत्वहरुलाई महशुसमात्र गर्न सकिन्छ ।
वाह्य तत्वहरुः–
वाह्य तत्वहरुको चिनारीका लागि प्रेम मैनाली चिन्तनको ‘विद्रोही आवाज’ गजलसंग्रहबाट एउटा गजल प्रस्तुत गरिएको छ ।
काफिया
हामीमात्र होइन अब माटो बोल्छ यहाँ
अत्याचारको छुट्टै एउटा पाटो बोल्छ यहाँ
मिसरा ए उला
विद्रोहको आवाज हो यो रुखपात बोल्छ
मिसरा ए सानी
अन्यायले कुल्चिएको बाटो बोल्छ यहाँ
तानाशाह मर्छ अब निरंकुशता मर्छ
शहीदको रगतको टाटो बोल्छ यहाँ
दमनकारी शासकहरु होसियार बने हुन्छ
सबको बाक्य खुल्यो अब लाटो बोल्छ यहाँ
कसकसलाई उपनाउँछस् निरंकुशता लाद्न
शत्रु– शत्रुबीचको अब फाटो बोल्छ यहाँ
यस गजलमा हुनु पर्ने बाह्य तत्वहरु प्रायः छन् तर तख्खलुस छैन । तख्खलुस प्रयोग भएको गजल स्वरुप याम थुलुङको अरक्षित यात्राबाट अर्को गजल उदाहरणस्वरुप प्रस्तुत गरिएको छ ।
फोछु मोछु जस्तो पानी माईको कहाँ छ र ?
आफ्नो मन जस्तो दाजु भाईको कहाँ छ र ?
कुन गाई कुन गोरु किन भ्रममा पर्ने
हेर्दा जुरो गोरु जस्तो गाईको कहाँ छ र ?
नेपालीको दौरा सुरुवाल ढाकाटोपी राम्रो
ढाकाटोपी जस्तो पन टाइको कहाँ छ र ?
तख्खलुस हावासँगै बगिरहने म त ‘याम’ हैन
नखोज है दाह्री जुँगा राईको कहाँ छ र ?
क. शेर
गजल भनेको शेरहरुको यौगिक रुप हो । एउटा शेरमा दुई पंक्ति हुन्छन् । प्रथम पंक्तिलाई “मिसरा ए उला” र द्वितीय पंक्तिलाई ‘मिसरा ए सानी’ भनिन्छ । हरेक शेरमा सामान्यतः मिसरा ए उलाले विषयको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई प्रक्षेपण गर्दछ । एउटा गजलमा कम्तिमा पाँच शेरहरु हुनुपर्दछ भन्ने काव्यशास्त्रीय मान्यता छ तापनि कतिपय फारसी र उर्दूका गजलकारहरुले चार शेरका पनि गजल राखेका छन् र त्यही मान्यता नेपाल र भूटानका गजलकारमा पनि छ । पाँच शेरभन्दामाथि कुनै निर्धारण त छैन तर गजलमा धेरै शेरहरु हुनु राम्रो भने मानिदैन । मान्यता अनुसार गजलका हरेक शेरहरु एउटै बहरमा आवद्ध रहन्छन् तर विषयवस्तुको दृष्टिले तिनको अस्तित्व स्वतन्त्र हुन्छ । यसरी हेर्दा एउटा गजलमा जतिवटा शेरहरु छन् त्यतिनै पृथक–पृथक विषयवस्तु, भाव र विचार हुन्छन् । गीत र कवितामा भएझैं एउटै कथ्य विषयवस्तुको श्रृंखलाबद्ध प्रस्तुति गजलमा अपरिहार्य हुँदैन । तसर्थ गजलको विषयवस्तु समावेशी र भावभूमि पृथक हुन्छन् । विषयवस्तुको अवधारणा र शेरको प्रस्तुतिले गजल दुई प्रकारका हुन्छन् ।
१. गजल मुसलसल
एउटा गजलका समग्र शेरहरु एउटै विषयवस्तुमा निर्माण गरिएको छ भने त्यो गजल मुसलसल मानिन्छ ।
२. गजल गैरमुसलस
धेरै किसिमका विषय वस्तुहरुलाई एउटै गजलका विभिन्न शेरहरुमा समेटिएको छ भने त्यो ढाँचाको गजललाई गजल गैरमुसलसल भनिन्छ ।
ख. काफिया
काफिया विना गजल बन्दैन, त्यसैले काफिया गजलको प्राणतत्व मानिन्छ । काफियाको शुद्ध र सठीक प्रयोगले गजललाई स्तर प्रदान गर्दछ । काफियामा सममात्रात्मकता र समुच्चार्यता हुनु पर्दछ । मतलाका दुवै मिसरा र अन्य शेरहरुका मिसरा ए सानीमात्रा काफियाको प्रयोग अनिवार्य हुनु पर्दछ । फन्किएर, तन्किएर, भन्किएर, रन्किएर, झन्किएर, गन्किएर, सन्किएर तथा खुल्दो, डुल्दो, भुल्दो, चुल्दो, फूल्दो जस्ता मात्रा÷स्वरको सन्तुलन भएका शब्दहरु नै काफियाको रुपमा प्रयोग हुन्छन् । जान्ने, सुन्ने, किन्ने जस्ता स्वरको सन्तुलन नमिलेका शब्दहरु काफिया हुन सक्तैनन् । नेपाली गजलमा पूर्ण काफिया÷हम काफिया, शब्दांश काफिया, एकाक्षरी काफिया, मिलित काफिया, मिश्रित काफिया र आंसिक काफिया विविध खाले काफियाहरु प्रचलनमा छन् तर भूटानी नेपाली गजल लेखनमा भने केही सीमित किसिमका काफियाहरुले मात्र मान्यता पाएका छन् ।
ग. रदिफ
काफिया पछि प्रयोग हुने पद वा पदावलीलाई रदिफ भनिन्छ । माथिका दुई गजलमा ‘बोल्छ यहा’ँ र ‘कहाँ छ र ?’ रदिफको रुपमा प्रयोग भएका छन् । रदिफ गजलको अनिवार्य तत्व नमानिए पनि उत्कृष्ट गजल लेखनमा रदिफको ठूलो भूमिका हुन्छ । काफिया विनाको गजल बन्नै सक्तैन तर रदिफ नहुँदा पनि गजल बन्न सक्छ । रदिफका आधारमा पनि गजल दुई प्रकारका हुन्छन् ।
१. मुरद्दफ गजल २. गैरमुरद्दफ गजल, रदिफ प्रयोग भएको गजललाई मुरद्दफ गजल भनिन्छ भने रदिफ प्रयोग नभएको गजललाई गैरमुरद्दफ गजल भनिन्छ ।
घ. मतला
मतला गजलमा आउने संकेत हो यसको माने उठान वा प्रारम्भ भन्ने बुझिन्छ । गजलको शुरुको शेरलाई मतला मानिन्छ । गेयात्मक धारका गजलमा गायकले गजल गाउँदाखेरी प्रत्येक शेरपछि मतलाको पुनरावृत्ति गर्दछन् । काफिया र रदिफको दुवै मिसरामा सन्तुलित रुपमा प्रयोग भएको मतला हुनु गजलका लागि आवश्यक नै ठान्नु उपयुक्त हुन्छ ।
ङ. मक्ता
गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ । यस शब्दको अर्थ हो समापन वा विसर्जन । मक्ता गजल विसर्जन गर्ने शेर हो । मक्ताको मिसरामा तख्खलुस पनि प्रयोग गर्ने गरिएको छ तर तख्खलुस मक्तामै हुन्छ भन्ने छैन ।
च. तख्खलुस
तख्खलुस गजलको कुनै पनि शेरमा प्रतीकात्मक रुपमा प्रयोग गरिएको गजलकारको छोटो नाम उपनामको प्रतिबिम्बन हो । तख्खलुस गजलको जुनसुकै शेरमा प्रयोग हुन्छ यद्यपि मक्तामा यसको प्रयोग गरिदा उत्कृष्ट र सर्वमतको बन्दछ । तख्खलुस गजलको अपरिहार्य÷ अनिवार्य तत्व अन्तर्गत पर्दैन । यसको प्रयोग खासगरीकन अर्थको चमत्कार सुनाइलाई मोहकता र भवगत उच्च प्रक्षेपणका लागि गरिन्छ । हरेक गजलकारको नामवत प्रतिबिम्बन गजलमा तख्खलुस हुन सक्तैन । द्वेयार्थको संगति र प्रतीकात्मक भएको खण्डमा मात्र गजलकारको नाम तख्खलुस हुन्छ ।
छ. बहर
डा. घनश्याम परिश्रमीका अनुसार गजल परिस्कारपूर्ण, प्राविधिक साहित्य र सङ्गीतसँग सम्बन्धित काव्य विधा हो । हुन पनि गजलको संरचना गीत वा कविता जस्तै सहज र मुक्त शैलीमा हुन सक्तैन । गजल गति र यतिमिलेका बहरमा लेखिन अपरिहार्य छ । विषयगत हिसाबले नियाल्ने हो भने पनि बहर गजलको आधार तत्व हो । बहर गजलको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रीय मान्यता हो । तर आगतको गजल लेखनमा शास्त्रीय संरचनाधर्मीतामा लेखिए राम्रो नत्र गजल मुक्त रहन्छ यो आधुनिककालिन ठहर हो ।
आन्तरिक तत्वहरु
गजलको स्तर र परिवपक्वता मापन गर्ने अर्को यन्त्र आन्तरिक तत्वहरु हुन । बाहय तत्वहरुले परिपूर्ण गजल पनि कुनै समयमा उत्कृष्ट बन्न सत्तैन । गजलमा बाहय तत्वहरु समायोजन गर्न सबकोहीले सक्तछन् तर अन्तरिक तत्वहरुले गजललाई खार्न भने विशेष शिल्पीको आवश्यकता अनुभूत हुन्छ । गजलका आन्तरिक तत्वहरुमा गेयता, लयात्मकता, गतियति, शालिनता, सुकुमारता लघुता, सुक्ष्मता, संक्षिप्तता, विस्तृतता, गहनता, भावसघनता, बिम्वात्मकता, प्रतीकात्मकता, अनुभूतिको तिब्रता कल्पनाशिलता, लौकिकता, कोमलता, मनमोहकता, वैचारिकता, चमत्कारिता, स्वतन्त्रता, जीवनवाद, विद्रोह, शिष्टता र सरलता आदि पर्दछन् । आन्तरिक तत्वहरुको सही समायोजन नभएको खण्डमा गजल उत्कृष्ट बन्न सक्तैन । त्यसैले गजल त धेरैले लेख्छन् तर उकृष्ट गजल थोरैबाट मात्र सम्भव भएको हो । नेपालको सन्दर्भमा वूँद राना, स्व. गोविन्द विकल, सुन्दर करुप, कृष्ण घिमिरे, लोकेन्द्र बञ्जरा, यमन सुवेदी र अरु थुप्रै गजलकारहरुले बाहय र आन्तरिक दुबै तत्वले गजललाई न्याय दिएको पाइन्छ । भूटानी नेपाली गजलकारहरुमा शेरु राई ‘उदास’ मणि राई गाउँले, सविन शर्मा धिमाल, टंक वयलकोटी आदिका गजलहरुमा आन्तरिक तत्वहरु युक्त हुने गरेका पाइन्छन् । केही–केही तत्वहरु सबैले समेट्छन् तर उत्कृष्ट समायोजनमा विशेष गुणको उपस्थिति धनिभूत हुन आवश्यक ठहर्दछ ।
भूटानमा गजलसको प्रवेश र विकाशक्रम
भूटानमा गजल प्रवेश भएको त्यति लामो समय भएको छैन तर एक दशकको छोटो अवधिमा झण्डै पाँच–छ सय गजलकारहरु झाँगिएको माहौल निर्माण हुनु चानचुने कुरो होइन । हुन सकोस् भूटानको वर्तमान अवस्था विश्व साहित्यका हरेक कालखण्ड मध्येको गतिशील अवस्था हो तर विवशता यो प्रवासमा निर्मित छ । अलिक अगाडिदेखि नै भूटानमा साहित्यिक चहलपहल बढेको पाइएता पनि वि.स.२०५० को मध्यदशकबाट भूटानी नेपाली साहित्यमा गजल उम्रिन शुरु भयो । वि.सं. २०५५ सालमा भूटानी शरणार्थी शिविर स्थित न्यू हराइजन एकाडेमी अन्तर्गत सक्रिय विधार्थी समूहद्वारा सञ्चालित साहित्यिक भित्ते पत्रिकामा गजल भन्ने छुट्टै कलम राखिएको थियो । त्यस कलममा रसु गौतम, शेरु राई उदास, डोना आचार्य आदिका गजलहरु छापिन्थे भने कहिलेकाहिं मधुपर्क, गरिमा आदि साहित्यिक पत्रिकाहरुबाट साभार गरेर पनि छापिन्थ्यो । कृतिगत रुपमा गजलकार याम थुलुङ भूटानी नेपाली गजलका जिउँदो प्रणेता हुन् । उनले भूटानी नेपाली साहित्यमा पहिलो चोटी “आँसुका थोपाहरु” गजल संग्रह २०५८ सालमा प्रकाशन गरी भूटानी नेपाली साहित्यलाई गजलमय बनाएका हुन् । उनले पुनः २०६२ सालमा “अरक्षित यात्रा” प्रकाशन गरी भूटानी नेपाली गजललाई रक्षा दिएर अझै पनि अथक रुपले गजल लेखिरहेका छन् ।
भूटानी नेपाली गजलको इतिहास छोटो भएता पनि विभिन्न उपलब्धि र स्तरीयता हासिलका कारण गजललाई चरणबद्धरुपमा नियाल्न आवश्यक मानिन्छ । वर्तमानमा भूटानी नेपाली गजल साहित्य स्वतन्त्र विधाको रुपमा विकसित हुन पुगिसकेको पाइन्छ । शैलिगत सरलता, भावगत व्यपकता र संरचनागत परिस्कृतताले गर्दा भूटानी नेपाली गजलले छोटो समयमै गतिलो छलाङ मारेको हो । त्यसो भएको हुनाले खण्डीय विश्लेषण हुन आवश्यक देखिन्छ ।
प्रारम्भिक कालः– सुरुदेखि २०६३ सालसम्म
विकास कालः– वि.सं. २०६४ देखि पछि
क. प्रारम्भिक काल वि.सं. २०६४ सालसम्म
भूटानी नेपाली गजलको अस्तित्व स्थापना भएदेखि वि.सं. २०६३ सालसम्मको अवधिलाई भूटानी नेपाली गजलको प्रारम्भिक काल मानिन्छ । प्रारम्भिक काल भन्नाले गजलको प्रवेश काल मानिन्छ । यस युगका गजलकारहरुले श्रृंगारिक धारलाई बढी उठाएको पाइन्छ । यस खण्डका प्रतिनिधि हस्ताक्षरहरु रमेश गौतम, शेरु राई उदास, डोना आचार्य, याम थुलुङ, पुरानाघरे, मणि राई गाँउले, शविन शर्मा धिमाल, टंक वयलकोटी, पूर्ण नर्जाली, गीताप्रसाद घिमिरे, प्रकाश धमाला, ममता मोक्तान, ईट्टाघरे, केशव आचार्य, त्रिबिक्रम न्यौपाने, पे्रम पिपलटारे आदि हुन । यस युगको नेतृत्व गजलकार याम थुलुङले गरेका छन् । प्रारम्भिक अवस्था भएकाले हुन सकोस् थोरै गजलकृतिहरु यस अवधिमा प्रकाशित भएकाछन् । गजलकार केशव आचार्यको “परिवर्तनका छालहरु” २०६२ , याम थुलुङको “आरक्षित यात्रा” २०६२, ममता राई मोक्तानको “वेदना” २०६२ यस युगका गुणस्तरयुक्त र सम्मानित कृतिहरु हुन् ।
विकाशकाल वि.सं. २०६४ साल पछि
विकाश काल भन्नाले भूटानी नेपाली गजलको वि.सं.२०६४ साल पछिको गतिशील काल बुझिन्छ । जब प्रेम मैनाली ‘चिन्तन’को “विद्रोही आवाज” २०६४ सालमा प्रकाशित भएपछि भूटानी नेपाली गजलले फडको मार्छ र विकासकालमा प्रवेश गर्छ । यस युगका गजलकारहरुले प्रगतिशिलता र विद्रोहलाई मुखरित गर्छन् । शरणार्थी अवस्था र प्रवासको हैसियतबाट लेखिएका यस युगका गजलमा परिमार्जित, परिस्कृत, व्यापिकृत, ध्रुवीकृत भावलाई समेटिएको पाइन्छ । वौद्धिक परिपक्वता, वैचारिक चेतना, नश्लीय चेतना, विम्बात्मकता, विद्रोही आवाज र प्रगतिशिल चेतनाले उभिन्छ भूटानी नेपाली गजलको विकाशकाल । गजलकार प्रेम मैनाली ‘चिन्तन’ विद्रोहका झिल्का, समाज रुपान्तरणको हुण्डरी र आन्दोलनको भेल उठाएर प्रकाशित विद्रोही आवाज लिएर यस युगको नेतृत्वमा उभिन्छन् । गजलकार इट्टाघरेको “वियोग” गजल संग्रह पनि प्रतिनिधित्वलाई उठाउन पछि परेको छैन उता टंक वयलकोटीको “अनुभूति” त झन आधुनिकताकै अनुभूतिको दस्तावेज हो । तर यस युगको नेतृत्वमा भने याम थुलुङ नै अग्रपंतिmमा देखिन्छन् । तल फुटकर तालिकामा समावेश भएका नामहरु यस युगका हस्ताक्षरहरु हुन् ।
भूटानमा गजल अभियान
वि.सं. २०५५ सालबाट भूटानमा गजलको अस्तित्व स्थापना भएको भए पनि गजल स्वतन्त्र विधाको रुपमा स्थापना हुनलाई एउटा गतिलो अभियानको महशुस भयो । कसैले गजल बकम्फुस्रे ठीटालेमात्र लेख्छन् भने, कसैले गजल एक आयातित तर कविताको उपविधा वकालत गरे त कसैले गजललाई यादसम्म गरेनन् । हुन त अमृतको स्वाद ब्रह्मालाई मात्र थाहा हुन्छ । गजलको मीठास, प्रभावकारिता र लोकप्रियताको अनुभव गरिसकेका गजलकारहरुले आलोचनाको सामना गरेता पनि आफ्नो कलमलाई निरन्तरता दिए ।
२०५९ साल, तत्कालिन अवस्थामा गजललाई माया गर्ने सर्जकहरूमाझ छलफल सरू भयो । अल्पसंख्याका रुपमा रहेका सर्जकहरूका विचार गहकिला थिए । पुरानाघरेको नेतृत्व, याम थुलुङको संयोजन र टंक वयलकोटीको प्रेरणा अनि अरु थुप्रै गजलकारहरुको सहभागितामा भूटानी नेपाली गजलको स्वतन्त्र, मौलिक अस्तित्व र उन्मुक्त प्रभावको वकालत शुरु भयो र त्यस पछि निरन्तररुपमा गजलकारहरुले गजल लेख्ने अभियान जारी राखे । हालमा भूटानी नेपाली गजलमा झण्डै ३०० गजलकारहरु गजलविधामा देखिएका छन् । भूटानी नेपाली गजल लेखनमा क्रियाशील सर्जकहरूलद्वारा भूटानी नेपाली गजलको विकाश गर्न एउटा छुट्टै मञ्चको अपरिहार्यता महशुस गरी २०६० साल फागुन १० गतेका मितिले छ महिना भित्र ‘भूटान गजल मञ्च’ स्थापनाको दायित्व दिई गजलकार याम थुलुङको संयोजकत्वमा १३ सदस्यहरुको तदर्थ कार्यकारिणी समिति गठन गरियो । यसै मार्गचित्र र रचनागर्भको दायरामा रहेर गजल स्वतन्त्र विधा स्थापना र माहौल निर्माणका यावत सम्भावना र संभावित श्रोतहरुलाई परिचालन गरी उत्कृष्ट गृहकार्यकासाथ २०६१ साल भाद्र ०५ गते बेलडाँगी –०१ भूटानी शरणार्थी शिविरको एक खुल्ला प्रांगणमा साहित्यकार आचार्य प्रभाको प्रमुख आतिथ्य र नेपालको राष्ट्रिय स्तरका दुई दर्जन गजलकारहरुको उपस्थितिमा पुरानाघरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सहित भूटान गजल मञ्चको औपचारिक स्थापना गरिएको थियो । वर्तमानमा ५५० भन्दा बढी गजलकारहरु भूटान गजल मञ्चमा झाँगिइसकेकाछन् ।
साधना, अध्ययन, विमर्श, बहस, उपस्थिति, सहभागिता र प्रतिनिधित्वमा तादात्म्यता र निष्पक्षता बढ्दै गएमा भूटानी नेपाली गजल साहित्यले आधुनिकता प्राप्त गर्ने कुरामा मतान्तर रहँदैन ।
भूटानी नेपाली गजलका प्रयोगात्मक पृष्ठभूमिहरु
गजल साहित्यको मौलिक, प्रभावकारी र लोकप्रिय विधा भएको हुनाले यसको प्रयोग वृहत्तर हुने कुरामा शङ्का छैन । भाषागत हिसाबले गजल हिन्दी, नेपाली आदि भाषामा लेखिन थालेको छ । दर्शनको हिसाबले गजलमा राष्ट्रवादी, राष्ट्रियतावादी, नारावादी, नारीवादी आदिको बाहुल्य रहन्छ । रसतर्फ वीर रस र श्रृंगारिक रसमा ज्यादा हाँकिएको पाइन्छ । धारका आधारमा भूटानी नेपाली गजल नश्लीय, विद्रोह, व्यंग्य, सुधार आदिबाट परिस्कृत हुँदै गरेको पाइन्छ ।
गजल प्रस्तुतिकरण अभियान
भूटानी नेपाली गजललाई स्वतन्त्र विधाको रुपमा स्थापना गर्न गजल प्रस्तुतिकरण अभियानले ठूलो भूमिका खेलेको पाइन्छ । प्रस्तुतिकरण अभियानमा भूटानी श्रष्ठाहरुले वाचन र प्रसारणलाई मुखारित गरेको पाइन्छ । सिक्किम, दार्जिलिङ् सिल्गडी र नेपाल अधिराज्यमा भएका गजलवाचन कार्यक्रमहरुका दाँजोमा भूटानी नेपाली गजलको प्रतिनिधित्व माथि छ । मञ्च मञ्चबाट गजलको बर्षा गराएरै भूटानी नेपाली गजल साहित्य अगाडि आएको हो । प्रशारण तर्फ पनि ठूलै अभियान सञ्चालन गरिएको पाइन्छ । भूटानी नेपाली गजललाई प्रसारण गर्नमा कञ्चनजंगा एफ.एम. झापा, कान्तिपूर एफ.एम काठमाडौं, रेडियो नेपाल– काठमाण्डौं, सिनियार्जी एफ.एम–चितवान, नेपाल एफ.एम. काठमाण्डौ, पाथिभरा एफ.एम– झापा, सप्तरंगी एफ.एम झापा, इलाम एफ.एम– इलाम, कोशी एफ.एम—विराटनगर, वागलुङ एफ.एम—वागलुङ, आभास एफ.एम सिल्गडी आदिले महत्वपूर्ण भूमिका विगत र वर्तमानमा खेलिरहेकाछन् । प्रकाशनतर्फ भूटानी, भारतीय, तथा नेपाली पत्रपत्रिका र छापाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । भूटान जागरण, सन्देश साप्ताहिक, पूर्व सन्देश, न्यू मासलाइन, पूर्वाञ्चल दैनिक, दमक टाइमस्, जनविद्रोह ब्लाष्ट, पूर्वाञ्चल दैनिक आदि समाचार पत्रिका र माथि उल्लेखित साहित्यिक पत्रपत्रिकाहरुले भूटानी नेपाली गजल प्रस्तुतिकरण अभियानमा ठूलो ऋण लगाएका छन् ।
भूटानी नेपाली गजल कृतिकार तथा प्रतिनिधि फुटकर गजलकारहरुः–
१. आँसुका थोपाहरु याम थुलुङ २०५८
२. चौसठ्ठी चौक कृष्णदास भण्डारी ‘काँइलो‘ २०६२
३. अरक्षित यात्रा याम थुलुङ २०६२
४. छालहरु राजु सुब्बा २०६२
५. वेदना ममता राई मोक्तान २०६२
६. परिवर्तनका छालहरु केशव आचार्य २०६३
७. वियोग ईट्टाघरे २०६४
८. विद्रोही आवाज प्रेम मैनाली ‘चिन्तन‘ २०६४
९. अनुभूति टंक वयलकोटी २०६६
फुटकर गजलकारहरु
रमेश गौतम, शेरु राई ‘उदास’ डोना आचार्य, पुरानाघरे, तिलारुपा आचार्य, रुपा सुब्बा, मञ्जु खड्का, मणि राई गाउँले, सविन शर्मा धिमाल, त्रिबिक्रम न्यौपाने, तारा काफ्ले ‘वन्दी’, टंक वयलकोटी, तीर्थ आचार्य, पी.पी. शिवाकोटी, लक्ष्मी नारायण सुवेदी, नैनासिङ मंगर, प्रकाश धमाला, नन्दिकिशोर शिवाकोटी, डम्बर ओस्ती, मनबहादुर लामगाधे, थुक्तेन डुक्पा, देउदत्त पोखरेल, माइतराज सुब्बा ‘सानुमान्छे’ विकास धमाला, उमा दाहाल ‘खुसी’, जय वान्तवा राई, पूर्ण नर्जाली, ममता राई, मोक्तान, उमेश आचार्य, कृष्णदास भण्डारी ‘काँइलो’ दधिराम वादल, वासुदेव ओस्ती, राजु सुब्बा, रिमेन आलोक, दुर्गा रिमाल ‘वि.एस्’ हरि धिमाल, घनश्याम रिमाल ‘ठूलेकान्छो’, नारदमुनि गौतम, गोपाल प्रवासी, टीकाराम वस्नेत, गोपाल पौड्याल, कमल खल्तिपीडित, कमल वास्तोला, गीताप्रसाद घिमिरे, पशुपति आचार्य, रविन वस्नेत ‘आदित्य’, डिल्लीराम शर्मा आचार्य, अर्जुन रसाइली, ईटाघरे, धनबहादुर सारु, सुरेन्द्र राई ‘विवश भूटानी’, प्रेम पिपलटारे वासुदेव ओस्ती, भागवत गौतम, डम्बर घिमिरे, कुमार शिवाकोटी, भद्रिकला भुजेल, मनि राई, खेम रेग्मी, नारायण फूयल, नारायण ढुंगाना, धर्मेन्द्र तिम्सिना, एन.एल शर्मा, उमा गौतम, डिल्लीराम शर्मा आचार्य, वादल फुयल, लिलाकान्त चम्लागाई, भीम दाहाल, भागवत वास्तोला, नारायण दाहाल, दमन्ता न्यौपाने, रुपेश ढुंगाना, सोमनाथ अधिकारी, सुदर्शन पोखरेल, दिलकुमार भुजेल, शारदा ढुङगाना, दुर्गाप्रसाद दुलाल, खडानन्द आचार्य, केशव धिमाल, माधव चम्लागाई, सागर ढुङ्गेल, टीकामाया मिश्र, टलमान खपाङ्गी, दिवाकर प्यासी, दाजन वत्स, शशिधर धिमाल, लक्ष्मीनारायण गौतम्, खगेन्द्र उदासी, लक्ष्मीमाया राई, के.एन भूटानी, रिता चम्लागाईं, चेमनाथ अधिकारी, ओमनाथ सिटौला, नारद आचार्य, नरु शिवाकोटी, सोमनाथ धिमाल, मेघराज कार्की, पूर्णमाया राई, यानीमाया पौड्याल, रुपनारायण पोखरेल आदि ।
भूटानी नेपाली गजलमा संस्थागत उपस्थिति
भूटानी नेपाली गजलमा देखापरेको संस्था भूटान गजल मञ्च मात्र हो । यद्दपि भूटानका सबै साहित्यिक संघसंस्थाहरुले गजल स्वतन्त्र विधा स्वीकार गरी हातेमालो गरिरहेका छन् । यसका अतिरिक्त नेपालका केही गजल संस्था र अन्य केही साहित्यिक संघसंस्थाहरुले ठूलो टेवा पु-याएकाछन् । नेपाल गजलमञ्च, पूर्वाञ्चल गजलमञ्च, झापा जिल्ला गजलमञ्च, मोतिराम गजलमञ्च, उर्लाबारी गजलमञ्च, इलाम गजलमञ्च, गजलगृह नेपाल, नवरंग साहित्य प्रतिष्ठान, सयपत्रि साहित्य विसौनी, साहित्यसंचार समूह, जीवन स्मृति प्रतिष्ठान, वाणी प्रकाशन, भेटघाट चौतारी, धर्नासो साहित्यिक प्रतिष्ठान, आदि संघसंस्थाहरुले भूटानी नेपाली गजल सम्वर्धनमा ठूलो भूमिका निर्वाह गरेकाछन् ।
भूटानी नेपाली गजल आन्दोलनमा उल्लेख्य योगदान पु-याउने विदेशी नेपाली स्रस्टाहरुः
शिव रेग्मी ‘प्रणत’, कृष्ण धराबासी, दान खालिङ्, महाकवि मोहन दुखुन, कृष्णभूषण बल, खेम नेपाली, मनु मञ्जील, प्रकाश आङदेम्बे, प्रभा आचार्य, सुमित्रा वाङदेल ‘चेली’, मायामितू न्यौपाने, कमल जंगली, टंक आचार्य, ज्योतिकिरण रिजाल, डिकेश लामा, धनकुटे कान्छा, लोकेन्द्र वञ्जरा, सुन्दर कुरुप, केशव आचार्य, हेम सुवेदी, अग्निप्रसाद कोइराला, चन्द्र अधिकारी, ‘विवश’ वलिभद्र कोइराला, दिलिप घिमिरे, कृष्ण घिमिरे, एकु घिमिरे, लीला अनमोल, देशराज अनमोल, यमन सुवेदी गजर्मान गुरुङ्ग, अशोक वस्नेत, जहरमान लिम्बु, इन्द्र कुमाल, मिश्र वैजयन्ती, भुपेन्द्रराज तिम्सिना, दिपेन्द्रराज तिम्सिना, सुमन राई, रोहित पराई, अर्जुन जम्नेली, भीमलाल वि.क., आदि गजलकार, पत्रकार र साहित्यकारहरुले ठूलो सहयोग र प्रेरणादायक भूमिका निर्वाह गरेका छन् ।
वृहत्तर सार्वजनिक कार्यक्रमहरुमा भूटानी नेपाली गजलको उपस्थिति :–
वि.सं. २०६०को दशकको सुरुवातमा भूटानी नेपाली साहित्यिक यात्रामा गजल शुरु भएको हो । त्यस ताका सामूहिक नेतृत्वमा गजल विषयक बहस, चर्चा–परिचर्चा, अन्तत्र्रिmया र प्रशिक्षण शिविरहरु सञ्चालन हुन्थे । केही वर्षपछि सार्वजनिक कार्यक्रम आयोजना गर्दै जाँदा सफलता मिल्दै पनि गयो । यसरी भूटानी नेपाली गजलले भूटान बाहिर अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने वृहत्तर कार्यक्रमहरुमा क्रमशः सहभागिता र प्रतिनिधित्व बढाउँदै जाने सफल हासिल ग-यो । आजभोलि नेपाल अधिराज्यमा, भारतको सिल्गडी, दार्जिलिङ र सिक्किममा विरलै यस्ता वृहत कार्यक्रमहरु हुन्छन् जहाँ भूटानी नेपाली स्रष्टाहरुको अपस्थिति र प्रतिनिधित्व नभएको होस् ।
भूटानी नेपाली गजलका औपचारिक धारणाहरु :
वि.सं. १०६१ भाद्र ०५ गतेबाट भूटानी नेपाली साहित्यको क्षेत्रमा स्वतन्त्र विधाका रुपमा गजल अनुमाेिदत भएको छ । नेपाली गजललाई स्वतन्त्र विधाको रुपमा उभ्याउनका लागि स्थापना गरिएका धारणाहरु, मान्यताहरु र मुखरित गरिएका संरचनाहरु भन्दा अलिक पृथक छ भूटानमा गजल लेखनको पृष्ठभूमि र वर्तमान भूटानमा फस्टाएको गजल लेखनको यात्रा नेपालका समकालिन लेखकहरुकै संसर्गबाट शुरु भएको हो । भूटानी नेपाली गजल लेखनमा एक अक्षरी, शब्दांश र मिलित काफियाहरुलाई मानेका छैनौं । पूर्ण रुपमा गति यति मिलेमा मिलित काफिया प्रयोग्य छ । जस्तै कुन, हुन, सुन, जून, खुन । खण्डहर, घर, नजर, कर आदि तर जगत, फगत, रगतमा अब त, मन त जस्ता शब्दहरू काफिया बन्न सक्तैन । आंशिक काफियालाई हामीले अपवादको रुपमा मात्र स्वीकारेका छौं । हाम्रो मान्यता पूर्ण काफिया÷हम काफियालाई मात्र हो ।
वस्तुगत सठीकता र विषयगत दायरामा लेखिएका भूटानी नेपाली गजलहरुमा राष्ट्रियता, विद्रोह र वर्तमान चेतनालाई हाँकिएको पाइन्छ । पूर्ण प्रतीकात्मक नभएको अवस्थामा हामी गजलको मक्तामा प्रयुत्त भएको गजलकारको नामलाई तख्खलुस मान्दैनौं । उदाहरण हेरौं :–
१.
सडकमा फ्याकिएको कागजको टुक्रा भेटें
उठाएर हेर्दा ‘घनश्याम’को तस्वीर रहेछ ।।
२.
दुनियाँको अब धोका सायदै ‘वूँद’ खाला
यसरी उघ्रिएर उनको नकाव आयो ।।
माथिका दुई गजलकारहरुका आ—आफ्ना शेरमा प्रयोग भएका नामांशमा माथिल्लो प्रतीकात्मक छ तख्खलु हुन्छ पछिल्लो प्रतीकात्मक छैन तख्खलुस हुँदैन । जस्तै ‘प्रकाश’को अर्थमा प्रकाश आङदेम्बे र किरण, ‘याम’को अर्थमा मौसम र याम थुलुङ भए झैं प्रतीकात्मक अर्थ नलागेमा गजलमा प्रयोग भएको गजलकारको नाम कदापि तख्खलुस हुन सत्तैmन हाम्रो मान्यतामा । यीहरु नेपालका नेपाली गजलकार, चिन्तक, विचारक र समालोचकहरुले स्वीकार गरेको पाइन्छ । राष्ट्रिय गजल महोत्सव २०६० विराटनगर र अन्तर्राष्ट्रिय गजल जमघट वागलुङ २०६४ सालमा प्रस्तुत गरिएका कार्यपत्रहरु यसका सावुत प्रमाण र दस्तावेजहरु हुन् । भूटानी नेपाली गजल लेखनमा मूलतः संख्यात्मकतालाई भन्दा गुणात्मकतालाई सह्राना गरिन्छ ।
उपसंहार
भूटानी नेपाली गजल साहित्यमा गजलकार पहिचानमा कठिनाइ छ । छुट्टाछुट्टै अन्वेषण गर्न समय लाग्ने हुनाले जस जसका कृतिहरुको इतिहास र वर्तमान पाइयो त्यसलाई समेट्ने प्रयास गरिएको छ । जति कृतिहरु पाइएका छन् तिनीहरुकोे समालोचना भविष्यमा गरिने छ ।
सन्दर्भ सामाग्रीहरु:
१ नेपाली समसामयिक कविताहरु कृष्ण प्रसाई
२ प्रतिभा परिचय गांगाराम लामिटारे
३ लीला वार्ता र शरणार्थी कृष्ण वराल
४ गजल परिचय र नेपाली गजलको विकासक्रमको संक्षिप्त अभिलेख डा.घनश्याम परिश्रमी
५ गजलको स्वरुप र बहरको चिनारी डा.घनश्याम परिश्रमी
६ भूटानी पत्रपत्रिकाहरुको अध्ययन एवं मूल्याङ्कन(सोधपत्र) भोलानाथ सापकोटा
७ भूटानी कोपिला सबै अंकहरु खेम शण्डिल्य र गंगाराम लामिटारे र कपिमुनि दाहाल
८ स्रष्टा केही अंकहरु केदार गुरुङ्ग र उपमान वस्नेत
९ भूटानको नेपाली साहित्यको रुपरेखा (अभिलेख संकलन) शिवलाल दाहाल
१० भूटानी शरणार्थी र वातावरण कृष्ण वराल
११ दक्षिण एशियामा शरणर्थीहरुको संरक्षणकालागि आवश्यक कानुनी अवधारणा तपन के. बोस
१२ भूटानबाट प्रकाशित साहित्यिक हवाइ पत्रिकाहरु, समाचार, पत्रपत्रिकाहरु, सामूहिक कृतिहरु र कृतिहरु
१३ भूटानको विषयमा लेखिएका अन्तर्राष्ट्रिय स्तरका लेखहरु पत्रपत्रिकाहरु, कितावहरु आदि ।
१४ आम संचारमा प्रयूक्त नेपाली भाषा र साहित्यमा त्यसको प्रभाव–(कार्यपत्र) डा. टंकप्रसाद न्यौपाने
नेपाली होस् या भुटानी हाम्रो रगत राता छन् तर पनि आफ्नो आफ्नो सोचाइमा फरक पर्दछ . तर बिडम्बना धेरै भुटानी दाजु भाइकै बढी देखिन्छ . किन कि उह्वा हरुलाई बस्ने बास्देखी लिएर ओड्ने कपासको खाँचो देखिन्छ तेसैले हाम्रो नेपाल सरकारले उनीहरुलाई बास र कपासको बेबस्था मिलावोस भने सोचाई हामी सबै नेपाली समाजले राख्नु पर्दछ .