अंकका कुरा 

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे

जीवन विज्ञान र वि.भू.हि.सं. (GBHO)-को संयुक्त तत्वावधानमा चलिरहेको स्वसंवाद अभ्यासमा दिसम्बर २७, २०२० को बेलुकी प्रशिक्षक गीता मैनालीद्वारा प्रस्तुत उद्गारले मेरो मथिंगलमा हलचल ल्याइदियो । उहाँको कथन थियो, ‘हामीले जीवनलाई सुन्दर बनाउन यदि अध्यात्मको उपयोग गर्ने हो भने अध्यात्मका चारवटा चरणहरु चिन्नुपर्छ । ती के हुन् भने पूजा-पाठ, मन्त्रजप, योगसाधना र समाधि ! पूजा वा उपासना अध्यात्मतर्फको यात्रामा पहिलो पाइला हो । त्यसपछि मन्त्रोच्चारण र जप दोस्रो पाइला हो । यसरी नै योगसाधना तेस्रो चरण हो भने समाधि अध्यात्मको चौथो चरण हो ।’ 

विद्यार्थीले पढ्न थाल्दा एक कक्षाबाट उकालो दुइ, तीन, चार कक्षातिर गएजस्तो गीताजीको यो सजिलो व्याख्याले मलाई अंकका चरण र महत्वबारे खोज गर्न हुट्हुटी जगाइदियो । त्यसपछि शास्त्रहरुले कसरी अंकको व्याख्या गरेका रहेछन् भनेर अध्ययन गर्दै जाँदा भेटिएका कुरा यहाँहरुसमक्ष पस्किने अनुमति लिएँ ।  

वैदिक परम्पराको पैरवी गर्ने शास्त्रबारे यदि थोरै पनि चासो राख्नुहुन्छ भने तपाईंले पक्कै पनि दश संख्याको खूब वर्णन पाउनु भएको छ ! जस्तैः दशदिक्पाल (शास्त्रमा दशवटा दिशाहरुको परिकल्पना गरिएको छ र हरदिशामा एक एक राजा राखिएका छन्; दिक्पाल भनेका दशदिशाका राजाहरु हुन्), दशावतार (विष्णुका दशवटा अवतारहरु), दशानन् (रावणको अर्को नाम), दशमी (दशैं) आदि हुँदै कसैको देहान्त हुँदा दशदिन नून-तेल बार्नेसम्मका कुरा । यसको तात्पर्य के भने सास्त्रमा दशको अकंलाई निकै ठूलो महत्व दिइएको छ । यद्यपि, आर्यभट्ट, वराहमिहिरजस्ता गणितज्ञहरुले नौ-लाई अंकम्ध्ये सबैभन्दा ठूलो तोकिदिएका कारण दशको महत्व केही हदमा गौण भएर गएको छ ।  

यसपछि नौको कुरा गरौं । ‘नौ’ (नव) भनेको नयाँ अथवा नौलोपन हो । नवीनताको थालनी हो । भौतिक रूपमा पुरानो जीर्णता त्यागेर नयाँ रुप लिनुदेखि परम्पराका आधारहरु छोडेर नयाँ चलन बसाल्नुलाई पनि नवीनताको शुरुवात मानिन्छ । जस्तै जन्मिदै गरेको बालकलाई नवजात शिशु भनिन्छ भने एउटा कालखण्डको गणना सकिएपछि अर्को कालखण्डमा नववर्ष वा नवयुग भनिन्छ । यही महत्वलाई मानेर राजा विक्रमादित्यले आफ्नो दरवारमा नौजना विद्वानहरु नियुक्त गरेका थिए भने विक्रमादित्यकै नक्कल गरी मुगल सम्राट अकबरले पनि दरवारमा नौजना विद्वान् नियुक्त गरेर ‘नवरत्न समूह’ नाम दिएका थिए । जसमध्ये बीरबल, राजा टोडरमल र राजा मानसिंह गैर-मुसलमान थिए । 

नौको महत्व यतिमा सकिँदैन । जगत-जननीको प्रतिविम्बमा नवदुर्गालाई स्थापित गरिएको छ । नौ अंकलाई आकर्षणको केन्द्रका रुपमा पनि व्याख्या गरिएको छ । यही कारण आभूषणलाई पनि नवरत्न भनिन्छ । यसबाहेक पृथ्वीका खण्ड र ग्रहहरुको नौ संख्याबारे पनि यहाँहरु जानकार हुनुहुन्छ ! 

अब पालो आठ अंकको । अष्टांग योग भन्ने यहाँहरुले सुन्नुभएको होला । शरीरका मुख्य आठवटा भागलाई आठवटै विधि (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) अप्नाउँदै पूर्ण ध्यानमा गएर कसरत गर्ने प्रक्रियालाई अष्टांग योग भनिन्छ । अध्यात्म दर्शनमा पराशक्तिको योजकसित एकाकार हुन साष्टाङ्ग दण्डवत गरिने दृष्टान्त छ । अथवा व्यावहारिक जीवनमा पनि आफूले श्रद्दा गर्ने व्यक्ति र वस्तुप्रति आदरभाव दर्शाउन ढोग्ने चलन छ । यसैलाई साष्टांग (स+अष्टांग) भनिएको हो । यद्यपि, साष्टांगको विधिलाई ‘षाष्टंग’ भनेर प्रयोग गरिँदा ठूलो अर्थभ्रम सृजना भइरहेको छ ।  

आफूलाई अध्यात्मवादी चिन्तकका रूपमा चिनाउन चाहने मान्छेहरु पनि आफूले चुनेको इष्टदेवलाई ‘परमेश्वर’ भनेर पुकारी रहेका  हुन्छन् ! यदि एकमात्र ईश्वरको अस्तित्व स्वीकार गरिन्छ भने आफ्नो इष्टदेवलाई किन ‘परमेश्वर’ भनेको ? परम् भनेको सबैभन्दा ठूलो, उत्कृष्ट, उत्तम, सर्वोच्च अथवा प्रथम भन्ने अर्थ दिने शब्द हो । परम् र ईश्वर (परम्+ईश्वर) को समायोजनबाट ‘परमेश्वर’ शब्द बनेको छ ! द्वितीय (दोस्रो) वा तेस्रो नभई प्रथम कसरी तोकिन्छ ? वास्तवमा मानिसले आफूलाई अरुभन्दा ठूलो, बलशाली, विद्वान, पराक्रमी, सम्पन्न हुने जुन घमण्ड बोकेको छ, त्यही अभिमान आरोपित गरेर ईश्वरलाई पनि उस्तै स्पर्धामा अस्तित्व धान्ने सामान्य जीवझैं बनाइदियो ! तपाईं यदि साँच्चो कुरो गर्न सक्नुहुन्छ भने कि ‘ब्रह्माण्डको रचयिता ईश्वर एउटै छ’ भन्न छोड्नुहोस् कि त आफूले विश्वास गरेको इष्टदेवलाई ‘परमेश्वर’ भन्न छोड्नुहोस् ! किनभने तपाईं आफूले मानेको विम्बलाई परमेश्वर भनिरहँदा ‘अरु पनि धेरै ईश्वरहरु छन् र मैले मानेको चाहिं सबैको अध्यक्ष हो’ भन्ने अर्थ लागिरहेको छ !

साष्टांग विधिलाई बुद्धदर्शमा अष्टांगिक मार्ग पनि भनिएको छ । कालचक्रको विधिमा बुद्धप्रतिपादिक अष्टांगिक मार्गबारे विस्तृत वर्णन समाविष्ट छ ।

बुद्धदर्शनबाहेक वैदिक परम्परामा कृष्ण र आठ अंकको गजबको युगलबन्दी छ । कृष्णलाई विष्णुको आठौं अवतारका रूपमा मानिएको छ भने कंशलाई देवकीको कोखबाट जन्मिने आठौं पुत्रले मार्ने बताइएको छ । कृष्णको जन्म पनि सप्तमीको रातमा सातौं मुहूर्त पार भएर आठौं मुहूर्त (अष्टमी) लागेपछि भएको देखाइएको छ ! विचार गर्नुस त, कृष्णार्जुन संवादमा कृष्णकै कथनको रूपमा लिपिवद्ध गीताको श्लोकः 

“परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्‌ ।

 धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।”

गीताको चौथो अध्यायको आठौं श्लोकमै समेटिएको छ । गीता खोलेर हेर्नुभए हुन्छ । चौथो अध्याय अर्थात् दुइवटा चार अंकको योगफल आठ हुन्छ; त्यसर्थ यो आध्याय र श्लोकको संयोजनमा आठ अंकको मूल्यलाई बलियो गरी व्यवस्थित गरिएको छ । 

गीताकै आठ अध्यायको आठौं श्लोक पनि हेरिहालौं । यसमा कृष्णले अर्जुनलाई कसरी मनुष्यको असली मूल्य योग-ध्यानबाट मात्रै निर्धारण गर्न सकिन्छ भन्ने ज्ञान दिएका छन् ! 

आठ अध्यायको आठौं श्लोकः

“अभ्यासयोगयुक्तेन, चेतसा, नान्यगामिना।

परमम्, पुरुषम्, दिव्यम्, याति, पार्थ, अनुचिन्तयन्।।”

यीबाहेक विद्वान् अष्टावक्रका कथाहरु यहाँहरुले जान्नुभएको हुनसक्छ । आठ अंकको महत्वका यस्ता अनेक प्रसंगहरु छन् । 

पूर्वमा यसलाई शनिदेवसित सम्बन्धित अंक मानिएको छ भने पश्चिमी वृत्तमा यो अंकलाई दुइवटा शून्यहरु जोडेर बनाइएको छ जसले दुइ शून्यको योगफल दर्शाउँछ । यसको तात्पर्य दुइ तत्वको संयोजनबाट मात्रै नयाँ सिर्जना सम्भव छ भन्ने हो एकातिर भने अर्कोतर्फ दुवै नाशवान छन्, शून्य छन् भन्ने पनि हो । पूर्वमा पुरुष र प्रकृतिदेखि मनुष्यको जन्म-मृत्युका प्रसंगसमेत यसैमा अँटाएका छन् । केही चीजको निर्माण भए त्यो भत्किन्छ अथवा निर्मित वस्तु अवश्य ध्वस्त हुन्छ; जसरी कसैको जन्म भएपछि मृत्यु पनि निश्चित छ भन्ने हो । पौराणिक कथाहरुमा अष्टचिरञ्जीको प्रसंग पनि छ । यसरी नै अष्टसिद्धिको सन्दर्भ पनि अत्यन्तै मनमोहक छ । 

“अणिमा महिमा चैव लघिमा गरिमा तथा ।

प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्ट सिद्धयः ॥” (श्रीमद्भागवत पुराण/ महाशुभाषित संग्रह

अर्थः अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्त, प्रकाम्य, ईशत्व र वशित्व नाम गरेका विधिहरु छन् जसद्वारा अष्टसिद्धि प्राप्त गर्न सम्भव छ । 

अणिमा भनेको साधकले आफ्नो शरीरलाई अणुसमान सूक्ष्म बनाउन सक्ने शक्ति हो । महिमा भनेको अणिमाको विपरित साधकले आफ्नो देहलाई असीमित विशालता दिलाउने शक्ति हो । गरिमा भनेको साधकले आफ्नो तौल बढाउने शक्ति हो । देहको आकार यथावत हुँदाहुँदै तौल बढाउन सक्नु सामान्य कुरा होइन । यसरी नै लघिमा भनेको साधकले आफ्नो देहलाई अत्यन्त हल्का, फूलजस्तो बनाउने शक्ति हो । प्राप्ति भनेको कुनै छेकथुनबिना इच्छित ठाउँमा पुग्ने वा अरुको छेउमा अदृश्य बन्नसक्ने शक्ति हो । प्रकाम्य भनेको अरुको मनका कुरा सजिलै थाहा पाउने शक्ति हो । 

यसै गरी ईशत्व भनेको पूजित अवस्था हो । यो सिद्धि प्राप्त गरेको मनुष्य स्वयं ‘भगवान’ वा ‘ईश्वर’ स्वरूप बन्ने शास्त्रहरुको मत छ । ईशत्व सिद्धि आध्यात्मिक नभएर राजसी भएको खण्डमा सो व्यक्तिले संसारमा अधिपत्य कायम गर्न सक्नेसम्मको दाबी शास्त्रहरुमा गरिएको छ । अब रह्यो वशित्व सिद्धि । यस शक्तिले साधकलाई कुनै व्यक्तिमाथि आफ्नो आदेश हाबी गराउन सक्ने वा जोसुकैलाई स्पर्धामा पराजित गराउन सक्तछ । यसरी आठ अंकका अनेकौं सन्दर्भ अझै जोड्दै जान सकिन्छ ।   

आठको बयान धेरै गरियो । अब सातको कुरा गरौं । सप्तऋषिहरुको कथा त सबैले सुन्नुभएकै छ ! पृथ्वीका सात द्वीप र सात समुद्रका नामहरु पनि सुन्नुभएकै होला । आधुनिक संसारका सातौं आश्चर्यहरुको तथ्यांक पनि यहाँहरुसँग छँदैछ । अंक सात र संगीत बीचमा पनि गजबको सम्बन्ध छ ! सामवेदलाई मूलस्रोत मानेर निकालिएको संगीतकलामा सात सुरहरु छन् जसलाई ‘सा, रे, ग, म, प, ध, नी’ भनेर चिनिन्छ । सूर्यका किरणलाई सात भागमा बाँडिएको छ भने इन्द्रेणीका पनि सातै रंग हुन्छन् । यसरी नै तिहारमा भाइपूजन गर्दा चेलीहरुले सप्तरंगी टीका लगाएर माइतीलाई सम्मान गर्दछन् । यसले पनि सात अंकको महत्वलाई दर्शाएको छ ।   

विष्णु पुराण र कूर्म पुराणको व्याख्या अनुसार पृथ्वीका सातवटा द्वीपहरुमा जम्बूद्वीप, प्लक्षद्वीप, शाल्मलद्वीप, कुशद्वीप, क्रौंचद्वीप र शाकद्वीप पर्दछन् । यसरी नै सात समुद्र (सागर) हरुमा लवण, क्षीर, सुरा, घृत, इक्षु, दधि र स्वादु पर्दछन् । लवण भनेको नून हो भने इक्षुरस भनेको उखुको रस हो । तात्पर्य कुनै एउटा सागरमा नूनिलो जल छ भने कुनै सागर उखुको रसझैं गुलियो छ । यसरी नै सुरा (मद्य), घृत (घिउ), दधि (दही), क्षीर (दूध) र ‘स्वादु’ अर्थात् पिउनमा स्वादिलो जलका सागरहरुको वर्णन गरिएको छ ।

यसबाहेक भूलोक, भुर्वः लोक, स्वः लोक, महालोक, जन लोक, तापस लोक र सत्यलोक गरी सातवटा लोकहरुको परिकल्पना पनि गरिएको छ । यसरी नै सात शरीर, सात चक्र, सात पिण्ड हुँदै सातौं अंकको महत्वका बारेमा बयान गर्ने अनेकौं विषयहरु छन् । सात शरीरमा स्थूल (भौतिक वा पार्थिव शरीर पनि भनिन्छ), वासना, सूक्ष्म वा प्राण,  मन,  आत्म, ब्रह्म र निर्वाण (मोक्ष) पर्दछन् । यसरी नै सातचक्रमा मूलाधार, स्वादिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार रहेका छन् । सात अंकको बयान गरेर सकिँदैन । यस्ता अनेकौं प्रसंग जोड्दै जान सकिन्छ । 

अब कुरा थालौं छ अंकको । छ अंकमा पृथ्वीलाई जीवनोपयोगी बनाउने शक्ति विद्यमान छ । विभिन्न छवटा ऋतुहरु मिलेर यो धर्तीको तापमान, उष्णता र आर्द्रताको सन्तुन नगर्ने हो भने जीवहरु बाँच्ने सम्भावना नै रहँदैन । छ ऋतुमा पर्दछन् वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमंत र शिशिर । यसबाहेक कार्तिक शुक्लपक्षको षष्ठी तिथिमा गरिने सूर्योपासना अथवा छठपर्वले पनि छ अंकको महिमा बोकेको छ । 

क्रमशः हामी पाँच अंकको चर्चामा पुगेका छौं । पञ्च महाभूत अथवा पञ्चतत्वले यो चराचर जगतको सृष्टि भएको भन्ने चर्चा त तपाईं हामी सबैले सुनेकै छौं । यी पाँच तत्वमा पृथ्वी, जल, वायु, अग्नि र आकाश पर्दछन् । त्यसपछि मानव शरीरमा पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियहरुको बयान पनि छँदैछ । 

“आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु ।

बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च ।।” (कठोपनिषद्, अध्याय १, वल्ली ३, मंत्र ३)

यो श्लोकले भन्छ,“आत्मको लागि तिमी स्वयंलाई महारथी वा रथको मालिक सम्झ, शरीरलाई रथ सम्झ, बुद्धिलाई रथ हाँक्ने सारथी सम्झ, सामर्थ्यलाई घोडा अनि  मनलाई लगाम सम्झ !” उक्त श्लोकमा घोडा शब्दको सादृश्य उल्लेख नभए पनि रथ, लगाम र सारथीको तात्पर्यमा घोडा शब्द स्वतः संलग्न छ । घोडा नभई त्यो वस्तुस्थिति उत्पति हुनै सक्तैन । 

यसर्थ, श्लोकको लक्षणामार्फत रथ, घोडा, लगाम, सारथी र महारथी गरी यहाँ पनि पाँचको महत्वलाई जीवनको सर्वोच्च अर्थ दिन खोजिएको छ । आजकै समयमा पनि समाजका आम सर्वसाधारणले बुझ्ने गरी ‘पञ्च-भलाद्मी’ भन्ने चलन छ । यो भनेको पाँचजना विद्वान सचेतकहरुले गरेको निर्णयमा सम्पूर्ण समाज हिँड्नुपर्छ भन्ने नियम हो । यस अतिरिक्त पञ्चगव्य र पञ्चामृत जस्ता वस्तुको  सामाजिक उपयोगिताले पाँचतत्वको समिश्रणलाई अत्यन्तै ठूलो महत्व दिएको हामी सबैलाई ज्ञान छ । 

अब चार अंकमा जाउँ ! ‘सृष्टिकर्ता ब्रह्मा’लाई ‘चतुर्मुखी’ भनिएको छ । जगतको परिचालन गर्न उनले पैदा गरेका मानसपुत्र ऋषिहरु चार थिए; सनक, सनन्दन, सनातन र सनतकुमार ! त्यसपछि चारवटा मूल वेदहरुको नाम आउँछ । यसरी नै चार वर्णाश्रम (ब्राह्मण, क्षेत्रीय वैश्य, शुद्र), चार मूलदिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण) आदि विषयले चार अंकको महत्व दर्शाएका छन् । योगिक विधिमा चार अंकको बहुमूल्य स्थान छ ।

योगिक विधिको कुरा गर्दा अघि माथि सात शरीर र सात चक्रबारे पनि कुरा गरिएको छ । त्यसमा नअल्मलिनु होला । माथि उल्लेख गरिएका कुरा शरीरभित्र विद्यमान सातवटा केन्द्रहरु हुन् भने यहाँ अभ्यासमा साधन गरिने चार प्रक्रियाबारे कुरा गरिँदैछ । जस्तैः उपासना, जप, ध्यान र समाधि अर्थात् यसैलाई जाग्रत अवस्था, स्वप्नील अवस्था, सुसुप्ति अवस्था र तुरीय अवस्था पनि भनिन्छ । चार इञ्चको पेट र चार फिटको शरीरका लागि मात्र जिउने पशुभन्दा तलको जीवनशैलीबाट अलि मास्तिर उठेर जागेको अनुभूति लिनु प्रथम पाइला हो । 

त्यसपछि आफ्नै चेतनाले उत्पति गरेको विवेकद्वारा अथवा कसैको शिष्य बनेर कर्तव्यको नित्य पालना गर्नथाल्नु, गुणकारी अभ्यास गर्नु अथवा गुणकारी तत्वको गुन गाउनु (मन्त्र जप) दोस्रो अवस्था हो । त्यसपछि आफैंभित्र खुल्दुली उठ्न थाल्छ । म को हुँ भनेर आफैंप्रति प्रश्नहरु उठ्न थाल्छन् । त्यसको उत्तर फेला पार्न ध्यानमा लीन हुने तेस्रो चरण हुन्छ । यसै चरणमा शरीरका सात चक्रहरुको साधना गरिन्छ । यो चरण पार गरेपछि भने तुरीय अवस्था अर्थात् समाधिमा पुगिन्छ । शास्त्रीय भाषाले यसलाई ब्रह्ममा लीन हुने भनेको छ । यसै अवस्थालाई मुक्ति वा मोक्षको चरण पनि भनिन्छ । अतः हामीले यहाँनेर बुझ्नैपर्ने जटिल कुरो के भने मोक्ष वा मुक्तिका लागि मनुष्यले मृत्यु पर्खिने होइन, जीवन छँदै प्राप्त गर्ने विषय रहेछ । 

यसरी व्याख्या गर्दै जाँदा चार अंकको बयान गर्ने अनेकौं विषयहरु छन् । बोलीचालीको भाषामा चारधाम भन्ने त हाम्रो समाजका लगभग सबैले सुनेकै शब्द हुनुपर्छ । यो शब्द पनि आदि शंकराचार्यले योगिक विधिकै अवस्थाहरुको मूल्यांकन गरीकन निर्धारण गरेका थिए । तर, समयको पछिल्लो अन्तरालमा ती स्थानहरु भीख माग्ने केन्द्रमात्र बनिरहेका छन् । फरक यतिमात्र हो, कसैले सडकमा उभिएर भीक माग्छन्, कसैले मन्दिरभित्रमा गद्दीमा बसेर अनि कसैले सरकारी कुर्सीमा बसेर ।  

अब पालो तीन अंकको !

सबैभन्दा पहिले मनुष्यको मनका तीनवटा तहहरु हुन्छन् ! जसले मनुष्यलाई चिन्तन शक्ति, स्मरण-शक्ति, निर्णय शक्तिमा अब्बल बनाउँछन् । जप, तप, बुद्धि-विवेक, भावतरंग, इन्द्रिय जागरुकता, एकाग्रता, व्यावहारिकता, परिज्ञान (अंतर्दृष्टि) इत्यादिमा मनुष्यलाई सफल बनाउने त्यही मनका तीन तहहरु हुन् । सामान्य भाषामा मनका तीन तहलाई चेतन, अचेतन र अर्धचेतन भनेर पनि बुझ्ने गरिएको छ । अर्धचेतन भनेको चेतन र अचेतन (अवचेतन) का बीचको स्वप्नील अवस्था हो !  

यस लेखको माथि सात लोकहरुको वर्णन गरिएको छ । तीन अंकको कुरा गर्दा-गर्दै यहाँ सात लोकको प्रसंग कसरी आयो भन्ने तपाईंहरुलाई लाग्ला ! यद्यपि, सात लोकमध्ये चारवटा लोकहरु गौण मानेर तीन प्रकारका लोकलाई प्रमुख रूपमा शास्त्रहरुले औंल्याएका कुरामा यहाँहरुको ध्यान पुगोस् । सृष्टिको कल्पनामा विभाजित तीन मूल भागहरुमा पृथ्वी (भूलोक वा मर्त्यलोक), पृथ्वीभन्दा माथि स्वर्गलोक र तल पाताल लोकको कल्पना गरिएको छ । यसरी नै सत, रज र तम नाम दिएर गुणहरुको चर्चा गरिएको छ । उसै गरी यज्ञ, तप र दान-तीनवटा विधिलाई मोक्षका मूल उपायको रूपमा दर्शाइएको छ ।  

अंकहरुको सन्दर्भ उठाउँदै गर्दा शुरुमा दश दिक्पालको प्रसंग राखिएको थियो । यहाँहरुले दश दिक्पालको उल्लेख भएका पुराण वा कुनै पुस्तकहरु पढ्नुभएको छ भने सबैभन्दा माथि उर्ध्वदिशामा ब्रह्माजी स्वयं दिक्पाल बनेका छन् र सबैभन्दा तल अधोदिशामा शेषनागलाई दिक्पाल बनाइएको कुरा बुझ्नुभएको हुनुपर्छ । शेषनागको अर्को नाम अनन्त पनि हो । अधो दिशामा रहेका दिक्पाललाई खराब प्रतिविम्बका रूपमा लिइन्छ । यसर्थ वैदिक परम्परामा पाताल यस धराबाट तल छ भनेर विश्वास गरिन्छ । 

यही बुझाइलाई प्रयोगमा ल्याएर धर्ती, स्वर्ग र नर्क पनि भनिएको छ । पृथ्वीभन्दा माथि स्वर्ग वा तल नर्क । यहाँहरुलाई थाहा छ सामान्य अवस्थाबाट तलतिर झरेकोलाई अधोगतिमा लागेको भनिन्छ अनि कसैप्रति रिसको भाव दर्शाउन ‘अगति’, ‘शेषान्तर’ भनेर गाली पनि गरिन्छ । अगति भनेको अधोगतिमा लागेको भन्ने हो भने शेषान्तर शब्दले शेषनाग (अनन्त) राजा भएको ठाउँतिर जाँदै गरेको, शेषमा पुगेर टुंगिने भन्ने लाक्षणिक अर्थ लाग्दछ । 

यहाँ कुरो तीन अंकको छ । भन्न के खोजिएको हो भने सामान्य मनुष्यको आधारभूत बुझाइका निम्ति शुरुमा मुख्य तीन लोकहरुको मात्र वर्णन गरिएको छ ! हामी बाँचेको पृथ्वी (एक), माथि स्वर्ग (दुइ), तल पाताल (तीन) ! यो पनि कक्षा एकमा पढाइ शुरु गरेजस्तै कुरा हो । शास्त्रीय व्याख्याहरुमा सूक्ष्म अध्ययन गर्दै अघि बढेपछि ती अर्थहरु आफैं विस्तारित भएर जानेछन्; लोकहरुप्रतिको बुझाइ पनि फराकिलो हुँदै जानेछ ।  

तीन अंकको थप महत्व सजिलै बुझ्नका लागि त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) को प्रसंगलाई यहाँहरुले अध्ययन गर्न सक्नुहुनेछ । तीन अंकको सबैभन्दा मूल, गूढार्थचाहिं दुइ विपरित अवस्था वा तत्वमा हस्तक्षेप अथवा समन्वय गरेर नयाँ वस्तु वा अवस्थाको निर्माण गराउने तेस्रो तत्वको रूपमा अवस्थित हुनु हो । जस्तै, पदार्थको निर्माणमा अणु, धनावेश सूक्ष्माणु र निरावेश सूक्ष्माणुको भूमिकालाई पनि यहाँनेर जोड्न सकिन्छ । जस्तो कि अध्यात्ममा कर्मरस र भक्तिरसलाई ज्ञानरसले आपसमा जोडिदिन्छ । ज्ञान नभए न कर्म हुन्छ न त भक्ति नै ! त्यसो हुनाले यस विधिलाई पनि योगमा लगेर मिसाइएको छ अनि ज्ञानयोग, भक्तियोग र कर्मयोग नाम समेत दिइएको छ ।           

अब दुइ अंकमा प्रवेश गरौं । दुइ अंकको अर्थ दार्शनिक छ । दुइ अंकमार्फत आत्म र परमात्मा बीच एकताको मूलमन्त्र ध्वनित हुन्छ । अद्वैत, द्वैत, द्वैताद्वैत र विशिष्टाद्वैत जस्ता सिद्धान्तहरुले यही दुइ अंकको आड लिएर आ-आफ्नो तर्क चलाएका छन् । वैदिक दृष्टान्तमा ईश्वर र जीव नै सृष्टिका प्रमुख योजनाकार हुन्छन् । यी दुवै मिलेर सृष्टिको पूर्णता सादृश्य भएको छ । अर्थात् जीव पनि प्रमात्मकै अंश हो अनि जीवन भोगाइको कर्तव्यपछि जीव गएर प्रमात्मामै मिल्दछ ! यसै कारण हरेक वस्तु र स्थितिमा पनि दुइ अलग रूप र गुणलाई मुख्य सिर्जनाकार मानिएको छ । जस्तै नरसँग नारी, दिनसँग रात, सूर्यसँग चन्द्र, कालोसँग सेतो, आकर्षण र विकर्षण, प्रेम र धोका, राम्रोसँग नराम्रो आदि आदि !  

अब रह्यो एक अंक । शास्त्रहरुले पराशक्तिको कल्पना गरेका छन् । यस्तो कल्पना कति ठाउँमा उपयोग गर्न नजानेर खराब सिद्ध पनि भएको छ । तर, यो आफैंमा खराब छैन । यो एकताको प्रतीक हो । प्राण वायु लिएर बाँचिरहेका सबै जीवहरु एक हुन् । तिनको निवास क्षेत्र, मौसम, उपलब्ध खाद्य र जिउने शैलीको भिन्नताले मात्र उनीहरुमा भिन्न गुण आरोपित भएको छ भन्ने सन्देश यो एक अंकले दिएको छ । 

वैदिक ग्रन्थहरुले धर्मलाई अनेकौं भागमा बाँडे पनि, अनेक रूपमा ईश्वरको परिकल्पना गरे पनि परम् शक्तिस्रोतको रूपमा एउटै सत्तालाई मानेका छन् । यही कारण वैदिक संस्कृतिभित्र परेका लगभग सबैजसो सम्प्रदायमा ‘एकाक्षरी मन्त्र’-को खूब महिमा गाइन्छ ! सबै खाले गुण र अवगुणभन्दा टाढा, कुनै शब्द र आकारमा समेट्न नसकिने त्यो एकत्व, ऊर्जाशील पराशक्तिलाई चिन्नुमा एक अंकको सगोल महत्व केन्द्रित छ !

यद्यपि, अचम्मै लाग्दो कुरोचाहिं के छ भने आफूलाई अध्यात्मवादी चिन्तकका रूपमा चिनाउन चाहने मान्छेहरु पनि आफूले चुनेको इष्टदेवलाई ‘परमेश्वर’ भनेर पुकारी रहेका हुन्छन् ! यदि एकमात्र ईश्वरको अस्तित्व स्वीकार गरिन्छ भने आफ्नो इष्टदेवलाई किन ‘परमेश्वर’ भनेको ? परम् भनेको सबैभन्दा ठूलो, उत्कृष्ट, उत्तम, सर्वोच्च अथवा प्रथम भन्ने अर्थ दिने शब्द हो । परम् र ईश्वर (परम्+ईश्वर) को समायोजनबाट ‘परमेश्वर’ शब्द बनेको छ ! द्वितीय (दोस्रो) वा तेस्रो नभई प्रथम कसरी तोकिन्छ ? वास्तवमा मानिसले आफूलाई अरुभन्दा ठूलो, बलशाली, विद्वान, पराक्रमी, सम्पन्न हुने जुन घमण्ड बोकेको छ, त्यही अभिमान आरोपित गरेर ईश्वरलाई पनि उस्तै स्पर्धामा अस्तित्व धान्ने सामान्य जीवझैं बनाइदियो ! तपाईं यदि साँच्चो कुरो गर्न सक्नुहुन्छ भने कि ‘ब्रह्माण्डको रचयिता ईश्वर एउटै छ’ भन्न छोड्नुहोस् कि त आफूले विश्वास गरेको इष्टदेवलाई ‘परमेश्वर’ भन्न छोड्नुहोस् ! किनभने तपाईं आफूले मानेको विम्बलाई परमेश्वर भनिरहँदा ‘अरु पनि धेरै ईश्वरहरु छन् र मैले मानेको चाहिं सबैको अध्यक्ष हो’ भन्ने अर्थ लागिरहेको छ ! यस्तो आग्रह किन भने ईश्वर एक, दुइ वा त्योभन्दा अधिक भनेर संख्या तोक्न जरुरी भएको छ !    

धेरै पिएपछि ‘इक्षुरस’ पनि तितो-टर्रो लाग्छ रे ! त्यसर्थः अंकहरुको चर्चा आजलाई यतिमै समापन गरौं । मलाई यति कुरा लेख्न लगाउने सबै व्यक्ति, संस्था, परिवेश र वसस्तुस्थितिप्रति कृतज्ञता जाहेर गर्दछु ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *