अनन्तता

मदन दुलाल
पेन्सिल्भेनीय,  अमेरिका

…..र
सत्य यो हो कि
ऊ भन्दै थियो

एकल प्रयासमा
तिमीले सक्छौ
यो धर्ती लङ्घन गर्न


यो पनि सत्य हो की
तिमीले सक्छौ
ब्रह्माण्डको अन्धकार गर्तमा
प्रकाश पुञ्ज अवतरण गर्न

सक्छौ
अनन्तताको आदि मध्य र अन्त्यको दुरी मापन गर्न
भीमकाय महासागरको गहिराई

महामरुको प्रखर उष्णतामा स्वयंलाई समाहित गर्न

वायुको वेग
र अग्निको तेज
निल गगनको आयतन
दिग्देशको गुह्य रहस्य
जलको तरलता
रेणुको [ट्रिगोनोमेट्री] पत्ता लगाउन

जसरी
बर्षातको समय आकाशबाट
तप्किएको पानीको फोका
पलकभरमै फुट्दछ
ठिक त्यसरी नै
शरीर,सत्ता,सम्पत्ति र समय
क्षणभङ्गुर छन्

क्षणभङ्गुरताको अभिमान के का लागी

…..र

सत्य यो हो कि
ऊ भन्दै थियो

क्षणभङ्गुर अभिमानलाई त्याग्यौ भने
रहस्यै रहस्यले भरिएको
या भनौँ जेलिएको अनन्ततामा निहित
आकर्षण-विकर्षण
लघुत्व-गुरुत्व
सङ्घटन-विगठन”-को
सुक्ष्मातीसुक्ष्म र विराटतम रहस्यहरूको
रहस्योद्घाटन गर्न सक्छौ

….र

सक्छौ
गर्भ देखी घाट सम्मको दुरी तय गर्न
बिना श्रम
बिना परिश्रम

अनन्तता विकराल कहाँ छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *