अनुरोध
प्रतिमान सिवा
ओहाइयो, अमेरिका
कुरो पुरानै हो,
बाबैले गीत त गाए
“वनको काँडालाई तिखार्नु पर्दैन,” भनी
तर बाबु,
तिमी नेपाली नै भए पनि
तिमीलाई काँटी-छाँटी,
ताछी-तुछी
नेपालीपनको आकारमा
तिखार्नै पर्ने भयो ।
रिसाउन चैँ नरिसाउ,
साहित्य त त्यस्तै हो बाबु,
भाषामा अलिकति मन बिसाउ ।
मसिना हाम्रा लाला-बाला
जस्तै रहे पनि चाला-माला
भोलिका कर्णधार हौ तिमी,
आमाले बोलेको
तिम्रै हो बाह्रखरी
मनै नपरे पनि
सिक्नै पर्छ सबैले अलि-अलि ।
रिसाउन चैँ न रिसाउ बाबु
अनुरोध छ मेरो
सिक्नै पर्छ सबैले
भाषा र साहित्य ।