अभिमान कि स्वावलम्बन ?
तपाईं हामी सबैलाई ज्ञान छ; मानिसले युगौंदेखि आनन्दको खोजी गर्दै आएको छ । तर, भेटेको छैन ! कहाँ, केमा खोज्दा त्यो आनन्दप्राप्ति होला भन्ने वस्तुस्थितिको आँकलन गर्न नसकेर हो अथवा प्राप्त भएकै आनन्दलाई चिन्न नसकेर हो, मान्छे सधैं भुट्भुटिएको छ !
मान्छेले आफ्नो विचारलाई भाषा-साहित्य, संस्कृति, राजनीति, सामाजिक वर्चस्व आदिमार्फत प्रवाह गर्दै आएको छ । यी सबैमा मान्छे आफ्नो विश्वास आरोपित आनन्दको अनुभूति लिन चाहन्छ । लेखकहरु लेख्छन् आनन्दकै लागि, संस्कृतिविद्हरु सांस्कारिक शुद्धताको पैरवी गर्छन् आनन्दकै लागि, राजनीतिज्ञहरु राष्ट्रवादको बखान गर्छन् आनन्दकै लागि ! यसरी समाज र परिवारका इकाईसम्म आइपुग्दा पनि मान्छे आनन्दकै खोजीमा भौंतारिएको छ ।
यस्तो किन भइरहेको छ भनेर गहिरो मूल्यांकन गर्दा हामीले खोजेको त्यो आनन्द अभिमानमा विद्यमान छ कि स्वावलम्बनमा ? भन्ने कुराको किटान गर्न नसकेर हुनुपर्छ !
जन्मिदा जोकोही एउटा बालक जन्मिन्छ । बालकको अस्तित्वमा संसारका सबै बालकहरु एक हुन्छन् । तर, बालकको सगोल अस्तित्वबाट छुट्याउन उसको नाम राखिन्छ । अलि ठूलो हुँदै जाँदा नामले पनि पुग्दैन र उसको हबिगत छुट्याउन जात-वंशको किटान गरिन्छ । त्यसपछि भाषा र शिक्षाको चयन गर्ने क्रममा कुनखाले शिक्षा र कुन गुरु भन्ने पृथकता किटान गरिन्छ ! कुन भाषा सबैभन्दा प्राचीन, सम्पन्न र पवित्र भनेर ठप्पा लगाउने प्रयत्न गरिन्छ ।
त्यसपछि प्राप्त शिक्षाको उपयोगिता निर्धारणमा सांस्कृतिक पृथकता कायम गरिन्छ । अमुक संस्कृतिभन्दा अमुक संस्कृति शुद्ध र सर्वोत्कृष्ट भनेर दाबी गरिन्छ ! त्यसपछि त्यही शुद्धता र सम्पन्नताको वर्चस्व कायम गराउन राज्यसत्ताको बागडोर अधीन गर्ने अभियान शुरु हुन्छ ! यसरी मान्छे घोर अभिमानको पोको बोकेर अरुभन्दा अलग देखिन होडबाजी गरिरहन्छ । आफ्नो विचारको सर्वसत्ता कायम गर्न मान्छे मार्न र आफैं मर्न पनि तयार हुन्छ । यद्यपि, त्यति सबैथोक गरिसक्ता पनि मान्छेलाई पुगेको त छैन !
मान्छे नै हो, संसारमा सबै जीवमध्ये सर्वोत्कृष्ट चेतनाशक्ति भएको प्राणी । आफ्नो विवेकी क्षमतालाई सिर्जनात्मक दिशामा लगाएर संसारमा सद्बुद्धि, सद्भावना, सहकार्य र शान्ति स्थापनार्थ कदम चाल्न सक्तैन भने मान्छेले मान्छे भएकोमा गर्व नगरे पनि हुन्छ । अभ्यासमा सधैं अरुबाट छुट्टिएर अलग देखिएको, आफूमात्र उत्कृष्ट भएको घमण्ड अँगाल्ने अनि शब्दमा मात्र अरुलाई अभिमान लिन नहुने अर्ती दिँदै शान्ति र वैश्विक एकताको नारा फलाक्ने कार्य सार्थकसिद्ध हुँदैन । शान्ति शान्ति भन्दै मेचमाथि बसेर कराउँदामात्र हुँदैन; त्यसतर्फको काम पनि गर्नु पर्दछ ।
“उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः ।
नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ॥” (हितोपदेशः)
वास्तवमा छुट्टिनु र पृथकता कायम गर्नु अभिमानका लागि होइन, स्वावलम्बनका लागि हो भनेर बुझ्ने भइदिए आज समाज जस्तो भइरहेको छ त्यस्तो हुँदैन’थ्यो शायद ! भाषिक-साहित्यिक, सांस्कृतिक आधारमा अरुभन्दा अलग देखिन खोज्नु पनि अभिमानका लागि नभएर स्वावलम्बनकै लागि हो भनेर बुझ्नु आवश्यक छ । इन्द्रेणीमा सातवटा रंग समायोजित थिएनन् भने त्यसको केही महिमा रहने थिएन ! त्यो रंगीन कोमलता त्यहाँ थिएन भने त्यो क्षणिक झुल्किने छायाँको के महत्व हुन्थ्यो र ? एकै रंगको फूल भए फूलबारी पनि मनोरम हुँदैन ! मानिसका बीचमा असली सद्भावना, सहृदयता, सम्मान, सहकार्य, विकास, शान्ति र आनन्द विभिन्नताको एकतामै कायम छ ! यसर्थ, अलग पहिचान कायम गराउनु भनेको अभिमान त्यागेर स्वावलम्बनतर्फको यात्रा हो, विभिन्नतामा एकता कायम गर्ने अभियान हो भनेर बुझ्नु र सोही चेतनाको अभ्यासमा जुट्नु अनिवार्य छ ।