अमेरिका कस्तो छ?

जितेन सुब्बा ‘मुस्कान’
बेलडाँगी

चर्खासँगै निदाउँछन् छाप्राहरु
चर्खासँगै विश्राम गर्छन् छाप्राहरु
अभाव र अन्यायको धारमा मलम
लगाउँदै हेर्दछन् घाउका पाप्राहरु

खुकुरीले गर्दन गिँडेको
चक्कुले छाती छेडेको
खटनको खुराकहरु घोटेको
भोक भोकै जाडोमा खटेको
अनि महँगीले दिकदारी दिएको
आफ्नो समाचार सुन्दै
बिउँझिन्छन् छाप्राहरु
झस्किन्छन् छाप्राहरु

एक पल हाँस्नका लागि
एक पल बाँच्नका लागि
बाँसका भित्ताहरुमा कागज टाँस्नका लागि
अर्को छाक खानका लागि
कतै घुम्न जानका लागि
यु एन् एच् सी आर कुर्नु पर्छ
मुठीमुठीहरुको सहयोग जुट्नु पर्छ छाप्राहरुलाई

एकै छिनमा आतङ्कित हुन्छन् छाप्राहरु
एकै छिनमा भयभीत हुन्छन् छाप्राहरु
गाँस, बास र कपासको खोजीमा
बग्रेल्ती भौँतारिन्छन् छाप्राहरु

पथ्थरकोइलाको धुवाँ खाँदै
ठेकेदारको धागोको रुवा खाँदै
आमाहरु
कला, साहित्य र राजनीतिको पुस्तक किन्न
थैलीको खुद्रापैसा दिन्छन्
छोराछोरीहरुलाई ।
त्यो खुद्रापैसा बोकेर
छोराछोरी लाली, पौडर र सिग्रेट सल्काइरहेका छन्
फेसन र सभ्यताका लागि
अत्याधुनिक नारा चर्काइरहेका छन्
प्रगतिको कुरा सुनाइरहेका छन्
छाप्रामा प्रगति होला जस्तो छ ?
ए ! पुनर्वासमा जाने पुराना साथीभाइ
अमेरिका कस्तो छ ?

One Reply to “अमेरिका कस्तो छ?”

Don't have a Facebook account? Please, use the form below with other options!