अलेप्पो नरसंहार

कवि
कवि

टी पी मिश्र
नर्थ क्यारोलिना, अमेरिका

अलेप्पोमा भइरहेको नरसंहारको लगातार चित्कार
त्यहाँ पड्किएका गोला-बारुद्को ठ्वाङठ्वाङ
आकाशबाट खसाइएका बम र तोपका आवाजहरु
भग्नावशेषका ढिस्कना भित्रबाट पोखिएको रुवाइ
सात समुन्द्र पारि मेरै मात्र कानले किन सुन्नु परेको होला ?

रुसी र इरानी लडाकु बिमानहरुको साइसाइ सुइसुइ
ढल्नै लागेको घरभित्र लुकेका कयौं केटा-केटीका  गुहार
हेज्बोल्ला र असदका मान्छेद्वारा बलात्कृत नारीका  चिच्चाहट
अलि, नजार, कसिम, अरू थुप्रै-थुप्रैको त्रसित साउती
सात समुन्द्र पारि मेरै मात्र कानले किन सुन्नु परेको होला?

नरसंहारमा खटाइएका सिपाहीहरुले बेसुरमा बजाएको ताली
फेसबुक र ट्विटरमा ‘यो अन्तिम सन्देश’ भन्दै प्रवाहित आलाप-विलापहरू
बिना प्राणका धेरै लासहरुले अद्भूत रूपमा फेरेको सास
खुट्टा गुमाएका, हात भाँचिएकाहरुले परिवर्तनका लागि फुकेको बिगुल
सात समुन्द्र पारि मेरै मात्र कानले किन सुन्नु परेको होला?

आइलन कुर्दी र उनका सिरियाली साथीहरूको बलिदानको वेदना
सुरक्षा दिनु पर्नेहरुकै मारमा पिसोल्टिएका निमुखाहरुको करुणा
थुइया ! नामर्द सरकार तेरो नौटङ्की नाली-बेली र अन्याय
हिट्लर कै शैलीमा गरिएको तेरो नाटक मन्चन
सात समुन्द्र पारि मेरै मात्र कानले किन सुन्नु परेको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *