अवरोहण

शुकदेव अधिकारी
ओहायो, अमेरिका

उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन ।

जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर तल झर्छ ठिक त्यसरी नै जीवन भोगाइको माथिल्लो सतहबाट ओरालो लागेको छु म ।
यो उचाइसम्म आइपुग्दा बाटामा छोडी आएका सम्झनाहरू, उकाली चढ्दा ठेस लागेका ढुङ्गाहरू, घुम्तीनेर ओझेल परेका यादहरू, देउरालीमा चढाइएको पातीको सुगन्ध, ओरालीमा लखेट्ने चिसो बतास, दोभानमा मिसीनआएका संगिनीहरु, दोबाटोमा बिदा भएका साथीहरू, मेलापातमा साटिएको पिरती यी सबका सब कुराहरू चलचित्रको रिलमा जस्तो मेरा स्मृतिमा घुमिरहेका छन् ठिक यो बेला । लागिरहेछ– यदि जीवनको यात्रा पनि अरू यात्रा सरह दुईतर्फी भइदिएको भए आज म आफू आएकै बाटो भएर पछि फिर्ने थिएँ । बाटामा छाड्दै आएका जीवनका अनेकानेक अनुभव, सुख र दुःखहरू पुनः प्राप्त गर्ने थिएँ । आफूबाट जानेर वा नजानेर हुन पुगेका गल्ती–कम्जोरीहरुलाई सच्याउने थिएँ र आइन्दा नदोर्याउने प्रण गरेर फर्कने थिएँ । बाटामा टेकिआएका ढुङ्गाहरू टेक्ने थिएँ फेरि एकपल्ट । म जहाँबाट माथि उठेको हुँ त्यही खस्न चाहन्छु ।

गाउँको हाइस्कुलबाट प्रथम श्रेणीमा एस.एल.सी पास गरेर सहरमा पढ्न जाने गाउँकै पहिलो छात्र थिएँ म । मेरो खानदानको पहिलो सन्तान थिएँ म जसले कक्षा दश पास गर्‍यो । गरिबी र अशिक्षाको जाँतोमा पिँदिइरहेका मेरा बा–आमाका मुहारमा पनि अर्थपूर्ण ढङ्गले एक लहर मुस्कान नाचेको देख्या थिएँ मैले त्यो बेला ।
सारा गाउँले मिलेर जयजयकार गाएका थिए । माला,अबिर लगाएर काँधमा बोकी वरपिपलको चौतारी घुमाएको क्षण ताजै छ दिमागमा । उनीहरूका लागि एउटा पुष्प समान भएको थिएँ म त्यो दिन । मनमनै कसम खाएको थिएँ– तपाँइहरुको यो खुसीलाई कहिल्यै पनि दुःखमा बद्लिनदिने छैन । यो भरोसालाई कहिल्यै निराशामा झर्न दिने छैन । निरन्तर म यहाँहरूले देखाएको बाटोमा हिढीरहने छु, हिढीरहने छु । गाउँ, खानदान र बाबा आमाको आशिर्बाद, प्रतिष्ठा र भरोसा बोकेर जुन दिन गाउँ छोडेँ त्यहीँबाट माथि उक्लिन थालियो । लाग्यो, शरीरबाट निस्केर कुनै भयानक यात्रामा उड्न लागेँ म । विविध आकाङ्क्षा फूलहरू फूलेका थिए मनभित्र । मनमा हर्षको झरी दर्केको थियो । लाग्यो, म सफल भएको छु उद्देश्यको जँघार तर्न ।

सहरको पढाइमा प्रशस्तै सहयोग पाएँ गाउँलेहरूबाट । कसैले रुपैयाँ पठाए, कसैले चामल पठाए, कसैले लुगाफाटो पठाए त कसैले न्यानो गाउँले माया र सम्झना पठाएर सहयोग पुर्याएका थिए । दुई वर्ष पछि गाउँ फर्कँदा उनीहरूले मलाई हराएको जुन पूनः प्राप्त भए झैँ मायाले सुम्सुम्यए । सारा गाउँलेको शुभेच्छा थियो, भरोसा थियो, हार्दिकता थियो मप्रति । कक्षा १२ को रिजल्ट आएपछि म छात्रवृत्ति पाएर विदेश गएँ पढ्न । त्यो बेला म पश्चिमी रहरहरूमा यसरी भिजेछु कि मेरो गाउँतिरको सम्झना दिमागको साँगुरो कुनामा कैदी सरह थुनिएर बसेछ । गाउँमा जिन्दगी नै छैन भन्ने लाग्न थाल्यो । लगभग पाँच वर्षपछि म नेपाल फर्किए । गाउँको मोह र आफ्नाहरूको मायाले तानेर त्यहाँ पुर्याउनु पर्ने हो मलाई तर त्यै हुन सकेन । त्यहीनेरबाट बाटो बिराइएछु सायद ।
एउटा विदेशी कम्पनीले जागिरका लागि बोलायो । गएँ । तलब सुविधा राम्रै थियो । सुरुमा विदेशमै बस्नु पर्ने । दुई वर्ष उतै बसियो । त्यसपछि त्यो कम्पनीले नेपालमा शाखा खोल्यो । नेपाल शाखाको कन्ट्री डाइरेक्टरमा नियुक्ति भएँ । एतिन्जेलसम्ममा एउटी बेलाइती लेडीसँग विवाह भैसकेको थियो मेरो । नेपालमा बस्न चाहिनन् उनी । फर्किन् उतै । उनी गएको एकवर्षपछि अर्को बिहे गरेँ शीतलसँग । एक छोरा एक छोरी भए हाम्रा । शीतल, आज पुरापुरी छब्बिस वर्ष भयो मेरो संसार सिँगार्न आएकी । आफ्नो सारा यौवन खर्चेर, मेरो र यिनै नानीहरूको लालन पालनमा बिताइन् यिनले यी छब्बिसै वसन्तहरू, आफू एकदमै खोक्रिएर । माया, घृणा, वेदना, इच्छा, चाहना, रहर, आशा, भरोसा यी सबका सब कुराहरूलाई पोल्टोमा लुकाएर यिनी सधैँ एक प्रकारको कान्तिमय अनुहार लिएर माया पोखिरहेकी हुन्थिन् सन्तानहरूमा । आफू सधैँ व्यस्त — दिनै पिच्छेका मिटिङ र गोष्ठी । विदेशमा कन्फरेन्स् र स्वदेशमा सुपरभिजन । कर्मचारीको नियुक्ति र निष्कासन । नयाँ प्रोग्रामको प्रोपोजल र आइडोलोजी । थरीथरीका कार्यक्रमको इन्भाइटेसन र होस्टिङ । फुर्सदको कुरै रहेन ।
छोरा छोरीलाई स्याहार सुसार गरेर हुर्काउने काम पूर्णरुपमा श्रीमतीको मात्र भयो । उनीहरूलाई माइत–मावल चिनाउने काम, संस्कार भर्ने काम उनको हो । ती कलिला दिमागमा जे जति दल–बिरुवा उम्रिएका छन् सब उनकै खेती हो । छोरा छोरी, बाबा भनिने प्राणी हाम्रा लागि हो र उसको माया हामीलाई चाहिन्छ भन्ने ज्ञान हुन नपाउँदै, ठुला भए । आफ्ना खुट्टामा उभिए । अहिले छोरो लन्डनको ……. विश्वविद्यालयबाट पी.एच.डी गर्दै छ र उसका लागि जागिर उतै फिक्स भैसकेको छ । छोरी यहीँबाट एम.वि.वि.यस. सिध्याएर विदेशमै काम गर्न थाली ।

अहिले अस्पतालमा छु म । छब्बिस वर्ष देखिको मेरी जीवनसाथी लमतन्न छन् म नजिकैको बेडमा । अनुहारको कान्ति एकाएक बिलाएर गएको छ । उनको दाहिने हात मेरा हातमथि छ । शरीरको तापक्रम घटेर गएको छ । चिसो छ शरीर । जीउ तन्नक तन्कियो एकपल्ट । मुखबाट एकप्रकारको वेदना मिश्रित आवाज निस्कियो, मिसियो अस्पतालको हल्लासँग र हरायो अनन्ततिर । आँखाका ढकनीहरु, अन्तिम पल्ट मलाई हेरेर, बन्द भए सधैँका लागि । उनले अन्तिम सास फेरिन् । आजसम्म लुकाई राखेका उनका पोल्टाका सबै वस्तुहरू उनीसँगै सेलाएर गए ।
आखिर कुन रहर बोकेर आएकी थिइन् मसँग उनी । छब्बिस वर्षसम्मको आफ्नो उर्वर समय आफूलाई खियाएरै बित्यो । कस्तो सन्तुष्ट मिल्यो उनलाई मसँग र सारा सपनाहरूलाई बिर्सिएर आफूलाई जलाइ मात्र रहिन् । उनले जीवनकालमा जम्माजम्मी पाएको सम्मान भनेको ‘आमा’ शब्दको उपाधि हो । आमा हुनुको महानताको गम्भीर आत्मबोध रहेछ यिनीमा । आमा नामको एउटा विशिष्टताले भरिएको छुट्टै रूप हुँदो रहेछ नारीमा । न कुनै दिन हामी सँगै घुम्न गयौँ न यिनको आग्रह नै रह्यो । न यिनले कुनै दिन गुनासो गरिन् म सँग न याचना । न यिनी कुनै भयानक पीडाले रोएको देखेँ न उन्मुक्त हाँसोमा डुबेको नै, आजसम्म मैले ।
आज उनी बिदा भएकी छिन् ।
ठिक यति बेला मेरी आमालाई सम्झिरहेको छु म । आज भन्दा करिब एकाउन्न वर्ष अगाडि पहिलो पटक संसार देखेका मेरा कलिला आँखामा कस्तो सपना देखेकी थिइन् होली मेरी आमाले ? के पाइन् उनले मलाई जन्म दिएर , प्रेमले स्याहारेर, हुर्काएर ? आखिर आमा बन्न पाउनु नै नारीको पहिलो र अन्तिम चाहना हो त ? न जवानीको घाम पानीमा साथ दिन सकेँ न बुढेसकालको सहारा नै बनेँ । बा–आमाको अन्तिम धोको भनेकै आँफु मृत्युशय्यामा चढेका बेला आफ्नो लास आफ्ना छोराछोरीका हातले छोइओस्, उनीहरूकै अँजुलीका पानीले चित्ता पखालिओस् भन्ने हुँदो रहेछ, तर त्यही काम मबाट हुन सकेन । आमाको मृत्यु हुँदा विदेशको पढाइमा थिएँ । बा स्वर्गे हुँदा अमेरिकामा, कन्फरेन्समा ।

शीतलसँगको बिछोडपछि आजसम्म कहिल्यै नदेखेको जीवनको अर्कै पाटो देखिन थाल्यो । उदासीनताका रङ्गहरू छरपष्ट देखिन थाले । मेरो स्वप्निल आकाशको उज्यालो जुन खोसिएको महसुस हुन थाल्यो । अन्तरात्माको भित्री पत्रबाट पश्चात्तापको ध्वनि विस्थापित हुन थाल्यो । यो सहरको होहल्ला, मोटरको एकहोरो आवाज, मानिसहरूको यन्त्रिक चाल यी सब कुराहरूले मनमा विरक्ति उत्पन्न हुन थाल्यो । नैरश्यताको घर भयो मन । बिलकुल एकान्तको खोजीमा छ मन । आज मलाई कुनै अनकन्टार जङ्गलको बीचमा घण्टौँ बसेर रुन मन लागेको छ । सबै कपडा खोलेर खोलाको बालुवामा दिनभरि लमतन्न सुत्न मन लागेको छ । म त्यस्तो ठाउँको खोजीमा छु जहाँ मलाई कुनै मान्छेले नचिनुन्, नबोलाउन् ।

टेलिफोनको तार चुटाएर फालेँ । सबै सेलफोनको सिम झिकेर मिल्काएँ । अफिसबाट एक महिनाको बिदा मिलाएँ । निस्किएँ एकान्तको खोजीमा । बाटामा भेटिने प्रत्येक मान्छेलाई बाइपास गर्न खोज्थेँ । उनीहरू झन् नजिक आउँथे । म जे नगरुन् भन्ने चाहन्थेँ उनीहरू त्यही गर्दथे । उनीहरू समवेदना दिन खोज्थे । म झर्कन्थेँ । उनीहरू आश्चर्य मानेर उभिइरहन्थे । म हिढ्थेँ ।
हेलिकप्टर चढेर लुक्ला पुगेँ । त्यहाँको हिमाली दृश्यले मन बहलाउन सहयोग पुर्याउँथ्यो सायद, मेरो एकान्तमा एकजना मान्छेले हमला गर्‍यो। दुःखको पत्रे घाउ पखालेर प्रकृतिको मलम दल्न के थालेको थिएँ, बोल्यो पछितिरबाट, “अवि सर, कहिले हो यतातिर?” म नबोलेर उभिइरहेँ । ऊ बोल्दै गयो, “सारै दुःख लाग्यो सर । पत्रिकामा समवेदना पढ्दा मात्र थाहा भयो । बिराम चाहिँ के थियो सर ?” नचाहँदा नचाहँदै त्यो मान्छेसँग एक दुई कुरा गरेँ । फर्केँ त्यहाँबाट । मनले रोजेको ठाउँ रहेन लुक्ला अब ।
तीनदिन पछि भारतको गूहा पुगेँ । समुद्री किनारमा टहल्दै थिएँ । समुद्रको पानीमा नुहाएर फर्केको चिसो बतासले मनलाई छोएर गयो । शीतलता महसुस गर्न के थालेको थिएँ एक जोडी विदेशी देखिए अगाडि, जो मसँगै पढ्थे विदेशमा । उनीहरूले मलाइ देखे । त्यतै आए । तिनको सामिप्यले तिखो शूल बनेर घोच्न थाल्यो । सामान्य भलाकुसारीबाटै बिदा भएँ तिनीहरूसँग । सायद नराम्रो माने होलान् ।
मन रमाएन त्यहाँ पनि । झन् झन् उदाशिनता बढ्दै गयो । वास्तवमा जीवन हिँड्ने बाटो सारै चिप्लो हुँदोरेहेछ । गूहाबाट चिप्लिएर सिङ्गापुर पुगेँ म एक हप्तापछि, एकान्तकै खोजीमा । त्यहाँ मैले चिनेका र मलाई चिन्ने मान्छे धेरै भेटिए । जुन कुरा नहोस् भन्ने कामनाकासाथ त्यहाँ पुगेको थिएँ त्यी चाहिँ भयो । आँसुले मभित्रको तट बाँध भत्कियो । वेदनाका लहरहरू मनदेखि प्रत्येक अङ्ग अङ्गमा सर्न थाले । यी सबै घुमाइहरू आफैलाई ठग्ने निस्फल प्रयास मात्र भए । फर्किएँ नेपाल । त्यो रात मनमा ठुलो आँधी भेरी चल्यो । कयौँ हाँगाबिँगा भाँचिए । छातीभित्र बलजफ्ती रोकेर राखेको रुवाइले निकास पायो ।
पैसाको पहुँचभन्दा बाहिर सोचाई, बुझाई, सुनाई, देखाई र अभिव्यक्तिभन्दा पर जीवनको एउटा पक्ष हर क्षण हामीसँग टाँसिएको हुँदो रहेछ भन्ने कुराको बोध त्यही रात भयो मलाई । मैले जीवनलाई सीमित कुरामा मात्र चिनेको रहेछु । मेरो जीवनको यतिका दिनदेखि छुट्टै बगिरहेको भँगालो सकेसम्म चाँडै मूल स्रोतमा मिसाउने व्यग्रताले उथलपुथल भएँ । गाउँ फर्कने निर्णय गरेँ, जागिरबाट राजिजनामा दिने निर्णय गरेँ, त्यै रात ।
यतिन्जेल जन्मथलाको अर्थसँग अनभिज्ञ रहेको मभित्रको मानवीय चेतना आफ्नै प्रवाहमा सबल भएर बगेको रहेछ । म माथिको आकाश मात्र खुल्ला राखिदिएछ नियतिले, वरिपरिको धरतीलाई बिलकुलै साँगुर्याएर । एउटा उपलब्धिले अर्को प्राप्तितिर ठेल्दै लगेछ । नियतिको आज्ञाको मबाट पालना भइरहेको रहेछ विवेक शून्य अवस्थामा । यतिन्जेल सहरको विलासितालाई स्र्वग ठान्ने मेरो मनले पश्चात्ताप र वेदना मिश्रित आवाजमा भनिरहेछ आज – ‘वास्तवमा स्वर्ग त मेरो गाउँ नै रहेछ । जहाँ हरेक चोकमा बर पिपल छन्, त्यसको छहारीमा चौतारो छ र त्यहाँको ढुङ्गामा देवता । जहाँ हरेक गाउँका पुछारमा ढुङ्गे धारो छ अमृत बगाउने । जहाँ प्रत्येक मान्छे मौलिक छ क्रितिम छैन । फुर्सदिलो छ यन्त्रिक छैन । मनको धनी छ दरिद्र छैन । आज स्वर्गको शीतल छहारी छोडेर एउटा उष्ण बगरमा पछारिएको अनुभव भइरहेछ । पराईको लालयितपूर्ण अँगालो भन्दा आफ्नी आमाको भाग्यमानी भएस् भन्ने एक हत्केलाको आशीर्वाद महान् हुनुको अर्थबोध भइरहेको छ । लागिरहेछ – मेरो गाउँ मेरा लागि सबैभन्दा ठुलो दौलत हो ।

मलाई यो सहरको बासिन्दा हुनुमा कुनै गर्व छैन । पीडाबोध छ, ग्लानि छ, पश्चात्ताप छ ।

जागिरबाट राजीनामा दिएँ । खराब सपनाबाट बिउँझँदा मिल्ने शान्तिजस्तै आनन्द मिल्यो । वर्षौँदेखि बोकिआएको गरुङ्गो भारी बिसाएँ । टाउको हलुङ्गो भयो ।
अहिलेसम्ममा काठमाडौँमा दुईवटा भव्य महल किनेको थिएँ । ती दुवै घर एउटा अनाथ आश्रमलाई दान दिएँ, मेरी शीतलको आत्माको चीरशान्तिको कामनाकासाथ ।
अब म रित्तो भएँ, बिलकुल रित्तो । मन .. धन.. दुवैले रित्तो ।
अहिले उत्तेजना, पीडा, व्यथा, घृणा र आवेशबाट एकदम रित्तिएको छ जीवन । भौतिक जीवन भोगाइको उत्कर्षबाट ओरालो लागेँ म । अहिले म ती बालसखीहरुलाई सम्झिरहेको छु । बिर्खे, जन्तरे, धने, फुर्बा, पातली …… । हामी दुईजना भएर पातलीको जिउभरि गोबर दल्दा उसको दाइले लखटेको, भाग्दा भाग्दै जङ्गलमा हराएको, साँझ पर्दा उनीहरू नै हामीलाई खोज्न आएका, ……… । कस्ता निश्चलमनका धनी थियौँ हामी त्यस बेला । कहाँ पुगे होलान् तिनीहरू, ती दिनहरू । कति रमाइला थिए । थाहा नहुँदै बितिसकेछन् जीवनका रमाइला पक्षहरू त। । वास्तवमा जीवन अज्ञानतामा भोगिँदै जाँदो रहेछ र भोगेका क्षण बित्दै गएपछि तिनको सम्झनामा भोगेको ज्ञान हुँदो रहेछ ।
कक्षा दश सिध्याएर सहर गएपछि त्यहाँ बसेको मायाप्रेम । त्यो पनि नाटक रहेछ । ती सबैको याद मात्र बाँकी छ ममा । वास्तविकता चाहिँ समयले नै लिएर गएछ । बेलाइती लेडीसँगको अफियर र विवाह, त्यो पनि त नाटकै थिएछ । सम्झनाको झिनो डोरीमा उनिएर रहेको छ दिमागमा । हुँदा हुँदा शीतलसँगको सम्बन्ध पनि एउटा लामो वियोगान्त नाटक रहेछ भन्ने लागिरहेछ । उनको अभिनय सिधिएको छ नाटकमा, पर्दा खसेको छ । मेरो बाँकी छ ।

म गाउँ फर्किएँ । जन्मथलो फर्किएँ । बाँकी जीवन शान्तिसँग बिताउने मनसायले फर्किएँ ।
गाउँ पुग्दा न मेरो स्वागत भयो न हर्ष उल्लास नै । उनीहरूमा मप्रतिको आशा र भरोसा सेलाइसकेछ । कसैले वास्ता गरेनन् । अघोषितरूपमा बहिष्कृत भैसकेको रहेछु म गाउँबाट । कर्तब्यचुत् ठान्दा रहेछन् उनीहरू मलाई ।
मेरा हर दुःख सुखमा साथ दिने एक जना गाउँले काका हुनुहुथ्यो जो मलाई आफ्नो सन्तान भन्दा बढी प्रेम गर्नुहुन्थ्यो । समयले मलाई यस्तो मोडमा पुर्यायो कि म उहाँकी श्रीमतीको दुखद निधनमा पनि गाउँ जान सकिनँ । तिनै काकाको घर पुग्दा अर्को ठुलो वेदना थपियो । ऊनी मसँग बोल्नै चाहाएनन् ।
‘काका अब म गाउँमै बस्नै गरी आएको छु’ , निस्प्राण शब्दहरूमा बोलेँ म । मेरो भावुकतामा क्रित्रिमता खोज्दै बोले उनी, “अब कुनै आवश्यक छैन, समयले पुर्जी काटिसक्यो । तँ सहरमै सुहाउँछस् ”।
न सहरको वसिन्दा भएँ न गाउँको, अब म । सहरले बिदा गरी सक्यो गाउँले स्वागत गरेन । स्विकारेन ।
ग्लानि र कुण्ठाको तितो आँसु घुट्घुट् निलिरहेँ … निलिरहेँ ।
लाग्यो— ‘मानिसको जीवनमा खुसी पलभरको हुँदो रहेछ, पीडा अनन्त ….., अनन्त…. ’ ।

2 Replies to “अवरोहण”

  1. Sanjeev Poudyal

    एक वाक्य ‘अवरोहण’ नै काफी भयो सम्पूर्ण कथा बताउन। लाग्छ यान्त्रिक युगको कालो क्षेत्र सम्झाउन यो कथा पर्याप्त छ। धन्यवाद दाजु शुकदेव अधिकारी।

  2. Anonymous

    सुन्दर कथा
    सरर पढेँ, कतै कतै मनलाई शब्दहरुको प्रभावले निचोर्यो, शब्दहरूको प्रयोग सारै सुन्दर ढंगले गर्नु भएको रहेछ।
    बस्तु परक उपमा अथवा उदाहरणले वाक्यहरू झनै अर्थ पुर्ण लाग्यो।
    एउटा पुरानो लेखकको कृती पढ़े झै भो।
    म तपाईको पाठक हुन चाहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *