आउने पर्वहरू प्रति मेरो सन्देश !

गङ्गाराम रिजाल
टेनेसी, अमेरिका 
देखिँदैन मुहार सुन्दर सबै हाँसीदिँदा दाँत नै !
जान्नुछैन नदेखि भन्नु कसरी बोलौँ म के बात नै ?
हाँसो वा खुसीले बयान कसरी गर्नु छ ब्यर्थै लहै !!
सम्झीँदा मनमा बनिन्छ गहिरो घाऊ निकै दुख्छ है !!
होला झट्ट निदान औषधि कुनै बन्लाकि भोलि भनि !
ठूलो आशयनै रहेछ सबमा आधार यौटै अनि !!
गर्नू बात बसेर दूर अहिले खानू घरेलु बुटी !
बन्नू हिम्मति धीरले अनि सबै यो रोग जाला छुटी।।
आऊँदैछन् नि रमाइला दशहरा हाम्रा तिहारैहरू !
ढाकेको अनुहारले म कसरी हाँसौँ रूँदैछन् अरू !!
बाँचेमा दुनियाँ हँसाउन सधैँ हाँसौँन आफैँ भरे !
यात्रा जीवनको सँगै मिलीजुली गर्नु छ है क्यै परे !!
मीठो वा नमिठो बनिन्छ मनले खानु घरैमा बसी !
कालो बादलयो हटेर सुखनै मिल्नेछ आफैँ पछी !!
काका औ भतिजा दिदी र बहिनी आमा बुबा छन् पर !
छन् मान्यैजन जो नभेटिकन लौ मान्दैन आत्मा तर ।।
भेटौँ हैं घरमैँ बसेर अहिले छन् यन्त्र नौला कति।
हेरौँ झट्ट झिकेर साधनहुँदा बाँडौं कुरा जे जति।।
भेटौँला जब शान्त हुन्छ सबयो भन्दै बुझाऔँ मन !
पाईंदैननि जीवनै नरहँदा लाखौँ करोडौँ धन !!
सारा पर्व घुमेर बर्षदिनमा सौभाग्य बाँड्दै यहाँ !
हाम्रा आगनमा मुहार हँसिलो पारी दिनेछन् जहाँ।।
यस्तै सौम्य र शान्तिले हृदयमा सद्भाव साटौँ सबै !
केही हुन्ननि जीवनै छुटिगए मिल्दैन यो दुर्लभै !!
साटौँला दु:खका अनेक सुखका संयोगका हर्षमा !
हर्षोल्लास सँगै सबै मनभरी फिर्नेछ है वर्षमा !!
गर्दै ख्याल वनौषधी हरघडी खाई सुनौलो पना !
बन्दै ढुक्क सजाउनु मनभरी होला नयाँ चेतना !!
हाम्रो देह अमोल नै छ कसरी यो जीवनै पाउने !
मुस्कानै सँग साथमा शरद त्यो घुम्दै यहाँ आउने !!
श्रद्धासाथ मनाउने हृदयमा राखौँ यही भावना !
सारा कष्ट छुटी सबै सुखी बनून् गर्छु सधैँ कामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *