आत्मघाती रात
टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया
अँध्यारो कालो अनि चिसो कुना
मेरो कोठाको नजिकै
मलाई रातदिन चिहाइरहन्छ
अनि कानेखुसी गर्दै बोलाइरहन्छ
आउँदैछु म तेरो निम्ति
भन्दै अचम्मको साइरेन बजाइरहन्छ।
एक अचेत अवसथामा
बन्द आँखा झिनो आशाको कामना गर्दै
लमपसार पल्टिरहेको बेला
सहनाई फुकेझैँ साइरेन सुनिरहन्छु
मेरै निम्ति साँझ परेको बेला।
एकदिन अवश्य पुरा हुनेछन्
ती मेरा झिना सपनाका उद्देश्यहरू
जब म आकाशका निला टुक्राहरू पल्टाउँदै
खोज्दै हुनेछु हावामा आफ्ना सहपाठीहरू।
कति अचम्मका ती साइरेनहरू
हरेक रात ती पन्चेहरू बजाइरहन्छन्
मेरै बारेमा कुरा गर्दै ती गजलकारहरु
मृत्युका सुमधुर गजल सुनाइरहन्छन्
मेरो अवस्था देखेर ती जिउँदा जन्तीहरू
रातभर स्वतनत्रता दिवस मनाइरहन्छन्।
जब त्यो चिसो कुना मेरो करिब आँउछ
पन्चे र गजलेहरू राइफल लिएर उभिन्छन्
मलाई हजारौँ ती राईफलेहरूले
हथकडी लाएर सेतो आसनमा बिराजमान गराउँछन्
अनि संगीतमय धुन सुनाँउदै……
मलाई अन्माएर लैजान्छन्
अगिपछि पन्चेहरू पन्चेबाजामा नाचिरहन्छन्।
बिस्तारै आत्मा उडेर हावामा विलीन हुन्छ
अस्थिपन्जरहरू जल्नथाल्छन्
लमतन्न नरकंकाल मात्र हुन्छ
पन्चे अनि गजलेहरू उत्सव मनाउन थाल्छन्
केवल धुलो मात्र रहन्छ
मेरो अस्तित्व समाप्त हुन्छ
बस !! अस्तित्व मट्टीमै विलीन हुन्छ!!