आन्दोलन

कवि
कवि

श्रीलाल सिवा
न्यूह्यामसाएर,अमेरिका

ए !
मलाई उठाई हेर
नडग्मगाउने गरी सम्हाली हेर
म तिम्रो आमाको
मलिन मुहारलाई
परिवर्तन गर्नेछु
विश्वको अघि
परिचित गराउनेछु
भूटानी समस्या सल्टाइदिनेछु।

ए सुन त
यसअघि पनि आए
धेरैले उठाई हेरे र भने
म भूटानी आमाको छोरो
आफ्नो मातृभूमिको रक्षक
राष्ट्रिय अखण्डताको पक्षधर
मानव अधिकारको संरक्षक।

तर खोइ ?
ती स्वार्थी मुटुहरूमा
जहाँ वलिदानी भावको खडेरी छ
प्रगतिशील कदमहरू कॉतर छन्
अनि समर्पणबिनाको
शून्य हृदयमा
फूलाउँछु भन्छन्
आन्दोलनका ती सुगन्धित फूलहरू।

बस !
यदि तिमी सच्चा पुत्र हौ भने
तिम्रो मुटुमा रगत सञ्चालित छ भने
तिमीमा बलिदानी भाव उर्लन्छ भने
त्यो शासकको दलित हौ भने
मलाई अंगाली मात्र हेर
तिम्रो निम्न अनावश्यकतासम्म
पूर्ति गरिदिने छ
विश्व भरी शान्तिको गीत
गुन्जाई दिने छु।

त्यसैले सुने त
यो कुरा निश्चित हो
समय धेरै टाढा छैन
अरू हृदयहरु स्वार्थी छन्
पलायनमूखि छन्
नागरिताको महत्वमा
अनजान छन्
त्यसैले मलाई अँगाली हेर
आन्दोलन सञ्चालन गरी हेर।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *