आफ्नै कुरा
रमेश गौतम
नर्वे
लामो परिश्रमपछि एउटा ब्लगले जन्म पाएको छ र नामाकरण भएको छ – जहाँ हामी छौँ र संसार हामीसँगै छ। भविष्यकाप्रति यो एउटा आशावादी सोचाइ हो। अब हामी कहाँ हुन्छौँ र कस्तो हुन्छौँ त्यो भविष्यको कुरा हो यद्यपि हामीसँगै बाँचेका ‘हामी’ हुनुका यथार्थहरू सधैँ बाँचिरहनेछन्। त्यो बँचाइभित्र हामी सधैँ आफैँलाई खोज्ने छौँ; आफैँलाई भेट्ने छौँ। यसरी नेपाली मन बाँचिरहनेछ अनन्त कालसम्म। आफ्नोपना प्रवासमा ज्यादै दुख्ने गर्छ। त्यो दुखाइभित्र अनेकौँ कुराहरू लुकेका हुन्छन् र तिनै लुकाइहरूको उद्वोधन आजको सत्यता हुनेछ।
यस ब्लगका लागि लामो समय र परिश्रम खर्च गरिएको छ। आज नेपाली साहित्य विश्वसाहित्यको धारमा आफ्नो उपस्थितिको खोजी गर्दै छ। अनेकन् प्रकारका नयाँ प्रयोगहरू हुँदै छन्। नेपाली साहित्य परिमार्जित हुँदै छ। विगत एक दशकमा नेपाली साहित्यले जुन उचाइ हासिल गरेको छ, त्यो गौरवमय छ। अबको पालो हाम्रो हो। भूटानी परिवेशको नेपाली साहित्यले मूलधार नेपाली साहित्यभित्र आफ्नो उपस्थितिको खोजी गर्ने समय भइसकेको छ। हामी आज एउटै भूगोलभित्र छैनौँ। संसारका विविध भागहरूमा छरिएका हामीहरूमा समयले आज विशेष जटिलता लादेको छ। हामीले विश्व मानव समुदायको बँसाइसराइको विगतको इतिहास पल्टाउनु पर्दछ। संसारको जुनसुकै भागमा रहेका मानिसहरूले आफ्नोपना जोगाएर राखेका हुन्छन्; त्यो हामीले पनि सिक्नु पर्दछ। यसका लागि आफ्नो भाषाको संरक्षण गर्नु ज्यादै महत्त्वपूर्ण छ। यो ब्लगको उद्देश्य यही हो।
भूटानीहरूकातर्फबाट नेपाली भाषा्कालागि बनाइएको यो पहिलो ब्लग हो। यसलाई साझा बनाउन सकौँ भन्ने चाहना छ। माथि भनिए जस्तै नेपाली साहित्यसागरको मूलधारमा मिसिँदै गरेको भूटानी नेपाली साहित्यको खहरेको आफ्नो अस्तित्व खोज्नु यस ब्लगको अर्को महत्त्वपूर्ण उद्देश्य हुनेछ। यसका लागि हामी सबैको उत्तिकै भूमिका हुनेछ।
यस ब्लगका सन्दर्भमा केही कुराहरू स्पष्ट पार्नुमहत्वपूर्ण ठानेको छु। यसका विविध क्याटेगोरिज ( कविता, कथा, गजल, समीक्षा/समालोचना आदि ) अन्तर्गत भूटानी रचनाकारहरूका रचनाहरू समावेश गरिनेछ र ‘अतिथि’ क्याटेगोरीअन्तर्गत मार्गदर्शनकालागि नेपाली लेखकहरूका रचनाहरू समावेश गरिनेछ भने ‘कमेन्टस्’मा तपाईँका सुझाव सल्लाहहरू समावेश गरिनेछ। यसरी यी सबै क्याटेगोरीहरुमा तपाईँको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुनेछ। रचना पठाउन तत्कालका लागि मेरो ई-मेल ठेगाना rashu_re96@yahoo.com वा rashu_re96@live.no प्रयोग गर्न सकिनेछ वा कमेन्ट बक्स पनि प्रयोग गर्न सकिनेछ। छिट्टै यसको व्योम फराकिलो बनाउने आशा गरेको छु। कतिपय लेखकलाई जानकारी नै नदिइकन सुटुक्क चोरेर राखिएका रचनाहरूका लागि रचनाकारहरूलाई र कमेन्टहरूका लागि कमेन्टकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद अर्पण गर्दछु।
www.bhutaneseliterature.comमा तपाईँलाई सधैँ स्वागत छ।
Man, I want something to be written like Nepali film DARPAN CHHAYA
Man, I want something to be written like Nepali film DARPAN CHHAYA also not to read but to see on screen. It would help to the people like me, shanta and sharda and others….. GREAT HOPE IN NEAR FUTURE…….