आमा…

Albury, Australia

दुर्गा रिमाल
अस्ट्रेलिया

ती भिर पाखा र पखेराहरूमा
हरेक प्रहर गाई चराउँदै
हा… हा… तारे भन्दै कराउँदै
पिठ्युँमा दिदी च्यापेर
थाप्लोमा भारी राखेर
गर्वमा मलाई बोकेर
सन्तानको लागि बाँच्ने
यो स्वार्थी संसारमा हाँस्ने
यिनै हुन् ती महान आमा  ।

ढिकी र जाँतो गरेर
ज्यानलाई जोखिम पारेर
पहरा फोर्दै एक हातले
थामेर पेट अर्कोले
भोलिको खुसी हेर्नलाई
आफ्नो मुहार फेर्नलाई
गर्भमा मलाई बोकेर
सुन्दर संसार देखाउने
यिनै हुन् ती महान आमा ।

घाँसको भारी घिसार्दै
निधारमा पसिना चुहाउँदै
त्यो बर्खे झरीको याममा
सुनौलो एक बिहानमा
आफू कति रोएथिन्
आँसुले मुहार धोएथिन्
तर
ओठमा मुस्कान छरेर
पिडाले कति छटपटाई
मर्दै र बाच्दै बेहोस भई
झुप्रे घरको आँगनमा
त्यही आँगनको एक कुनामा
मलाई पहिलो पाइला टेकाउने
दुनियाँ सारा हँसाउने
यिनै हुन् ती महान आमा ।

धुलो र मैलो खाएर
दुःख र कष्ट पाएर
सन्तानको खुसीमा रमाउने
यिनै हुन् ती महान आमा
आमा नै छिन् सब भन्दा जाति
आमा नै छिन् सब भन्दा माथि ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *