ईश्वर हराएको छ
Ohio, America
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
सपना देख्न थालेको छु
मेरो कालो कपाल पनि फुल्न थालेको छ
अनि म ईश्वर पुज्दै छु।
भाग नभएका “वान” भगवान्
यस्तै कस्तै भन्न मन लाग्छ
तर फेरि सोच्छु, यति धेरै भाग किन त?
र त्यो पनि करोडौँमा!
म आजकाल यिनै भगवानको सपना देख्न थालेको छु
म ईश्वरलाई पुज्दै गरेको सपना
म आफूले गर्न हुने भए
एउटाको पूजा गर्न चाहन्छु,
तर के गर्नु
मलाई सपना देखाउनेले
हजारौँ, अझ भनौँ, करोडौँ, ईश्वरका तस्बिर देखाइदिए
र भने
पूजा गर्न चैँ नभुलेस् !
यी करोडौँको सङ्ख्यामा भएका मध्ये
कुन ईश्वरलाई “वर” राखौँ र कुनलाई पर?
कुन तस्बिरका “वीर” लाई मानौँ र कुनलाई नमानौँ?
मलाई सपना देखाउनेले
यसो भनिदिए कि
तिमी मात्र मन्त्रमुग्ध भएर बस
ईश्वर आफैँ आई वरदान दिनेछन्
तर,
म आफू भने असमञ्जसमा परेँ,
मलाई यसो भनिदिएनन् कि
ईश्वर धेरै आउनेछन्,
करोडौँमा आउनेछन्
धेरै भाग भएर आउँछन्
लालच लिएर आउनेछन्।
मलाई एकलकाँटे भन्छन् उनीहरू
अब उनीहरूसँग मिल्न मैले
कुन ईश्वरलाई “वर” राखौँ र कुनलाई पर?
मलाई परमात्मा देखाउनेले यसो भनिदिए कि
यी ईश्वरका तस्बिरमा फूलका माला ओढाउनु
अब म
यति बिघ्न तस्बिरमा
कुन तस्बिरको “वीर” लाई चैँ माला ओढाउनु?
उनीहरू भन्छन्
मन्दिर जानु पर्छ
भजन गाउनु पर्छ
अनि वरदान मिल्ने छ
तर
मन्दिरमा जाँदा तिनै ईश्वर ताना मार्छन्
भन्छन् – सधैँ माग्न मात्रै आउँछौ
कहिले काहीँ भेटघाटको लागि पनि आउने गर
अनि बाहिरै बस्छु
र देखिरहन्छु
मन्दिर भित्र वरदानको महँगाई बढेको
मन्दिर बाहिर घाटैमा सौदा भए पनि
मन चित्त चाहिँ हुँदोरहेछ।
यहाँ मानिसको जनसङ्ख्या अनुसारका ईश्वर छन्
आ-आफ्नै,
त्यसैले म अखबारको वान्टेड कलममा
म मेरो भाग नभएको
भगवानको पूरा भाग खोजिरहेछु
म आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु
मरो ईश्वर हराएको छ।
म देख्छु सपना
तिनै ईश्वरलाई पुजेको
शिलाका ईश्वर पुजेको
र बिपनामा देख्छु
मानिसको भिडले
तिनै शिलाका ईश्वरलाई खुसी राख्न
दूध, फल-फूल, मिठाई, पैसा, इत्यादि
हुत्त्याउने काम जारी राखेको,
तर यो कसैले देख्दैन
बाहिर सडकमा
रित्ता पेटहरूको घमासान युद्ध
नाङ्गा आँगहरूको अनसन।
त्यसैले
यिनीहरू र हामीबिचको अन्तर
झन्-झन् फराकिलो हुने क्रम जारिनै छ
ईश्वर त एक नभएको ठाउँमा
हामी एक हुन कहाँ सकिएला?
हामी यसरी नै
अलिकति चुडिदै
अलिकति भाँचिँदै
बिर्सेर फेरि सम्झँदै
आफू भित्र ननियालेर
यो जीवन हरेक दिन मर्छौँ हामी
हिजो, आज र भोलि क्रमशः।।।।।