उज्यालो र एकाकीपन
यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया
एउटा बेला थियो
जब अँध्यारोसँग डर लाग्थ्यो बालकलाईझैं
उज्यालोसँग डर लाग्ने
अर्को बेला आएको छ अहिले
सायद म वयस्क भएँ
अँध्यारै अँध्यारो भएको बेला जिन्दगीमा
उज्यालोको प्रतीक्षा हुन्थ्यो
हाल उज्यालै उज्यालो छ हर ठाउँमा
र देखिँदै छ अँध्यारो
अँध्यारोको उज्यालो पक्ष
छोप्नु रहेछ अर्को अँध्यारोलाई
उज्यालोको अँध्यारो पक्ष
प्रत्येक पक्षलाई उदाङ्गो पार्नु रहेछ,
भित्री अन्धकारको आविष्कार गर्नु नै
उज्यालो रहेछ
बिजुली थिएन उहिले
एक अर्काको मनको
तार जोडेर
अँध्यारोमा सँगै हिँड्थ्यौँ हामी
उज्यालोको लागि हामीलाई अहिले
एक अर्काको आवश्यकता छैन
गल्लीहरूमा जताततै छन् आलोकस्तम्भहरू