उठौँ स्वतन्त्रता लिन

कुबिर शर्मा भुवानेटारे
मासाचुसेट्स, अमेरिका

निशब्द मौन देशका प्रजा रए थुना भरी
घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी
लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो
निसान भाष्य भेषको सखाप गर्न खट्छ त्यो

दिवाल त्रासको खडा गरेर हर्ष बेच्दछन्
डरेर देशका प्रजा मरेर कष्ट खेप्दछन्
विपक्ष बोल्न देशको सिमा भरी निषेध छ
स्वराज देश भक्तिको सुशब्द बोल्न रोक छ

निसाफ नेत्र चिम्लने उ मृत्यु डन्ड तोक्द छ
विदेश मित्र राष्ट्रको इनाम धूर्त बोक्द छ
अबेर भो ल पापको विरोध गर्न भित्र त्यो
अमान्य हुन्छ मान्यता खुनी विशेष हात त्यो

छ त्रासदी र देशको मुहार अन्धकारमा
जदौ गरेर देशका प्रजा प्रकोप भोगमा
अपार कष्ट भोग्द छन् र त्रास खेप्न बाध्य छन्
स्वदेश जन्म भूमि नै विदेश भूमि ठान्दछन्

विशिष्टता छ ओहदा विषेश खानदान छन्
विभाग वंश रोज्दछन् प्रजा विभेद खेप्द छन्
खुसी खुनीहरू भए तमाम दु:ख दर्दमा
सवाल ज्यान मालको प्रजा निशब्द मर्ममा

सिमा दिशा र साँधमा छ आधिपत्य चीनको
स्वराज छैन देशमा विदेशनीति कैद भो
छ दक्षिणी छिमेकको विचार चक्षु भूमिमा
स्वदेश कष्टले रुदा नरेश मस्त नीदमा

परिश्रमी प्रजा निकै खटेर भाग्य रोप्दछन्
तिनै सिधा सिमान्तमा नरेश नीति लाद्दछन्
विदेश देख्छ राष्ट्रमा स्वतन्त्रता किताबको
जिमी भरी स्वतन्त्रता समाप्ति अख्तियार भो

बिहान हेर्न देशमा प्रजा ससक्त बन्नु छ
लडेर फाल्न दासता जुरुक्क देश उठ्नु छ
जुटेर बोल्नु अस्त्र हो जुटौँ दबाव त्यो दिन
सुतेर हुन्न वीर हो उठौँ स्वतन्त्रता लिन

छन्द -पञ्चचामर

Leave a Reply

Your email address will not be published. Required fields are marked *