कहाँ छ यस्तो दिव्यता

गङ्गा रिजाल
टेनिसी,अमेरिका

धर्ती उर्वर शैल छन् चहकिला जो विश्वले जान्दछन् !
जस्को चिन्ह स्वयम् प्रकाशमय हो त्यो गौरवै ठान्दछन् !!
पाईन्छन् तटमा सुवर्णमयका काला सबै पत्थर !
राख्छौं खूब रमाई ल्याई घरमा मान्छौँ उनैका भर !

लाग्दा डम्म त्यहाँ ती शैल विचमा बाक्लो कुहीरो कति !
डाँफेले स्वर तानी तानी रहँदा आनन्द मन्मा अति !!
बोली त्यो शिशुको सुनिन्छ पहिलो आमा भनि जन्मिने !
यस्तै गौरवका अनेक कृति छन् प्रश्नै अरू के हुने ?

पाखा बारी छ घुम्ती खेत रसिला बाला झुलेका पर !
पाईन्छन् नि बुटी वनस्पति निकै छन् काननै सुन्दर !!
ढुङ्गाको रसिलो मुहान बनिंदै बग्ने सधैँ अमृत !
पर्दा बिन्दु मुखारविन्द जसमा राखीदिने जीवित !!

हेर्दा प्राकृत त्यो अलौकिक जहाँ सम्पन्नता देखिने !
नौला दृश्य अकल्पनीय कविका मन्मा यही लेखिने !!
डुब्दै भाव भरी भरी कन जसै सौन्दर्यको वर्णन !
लेखेँ हैँ दुई शब्द बन्छ कविता भन्दै बुझाएँ मन !!

यस्तो सुन्दर दिव्यता वरिपरी ढाकी रहेको छ है !
मान्नू पर्दछ भूमिको हृदयमा स्वर्गीयनै त्यो लहै !!
बुझ्नु है सबले त्यहाँ सु जनले त्यो देशको गौरव !
राख्नु है ममता भरी मिलिजुली बन्दै बिवेकी अब!!

लाग्नू है हित चित्तले सृजनमा गर्नू त्यहीँ उन्नत !
होला दु:ख हटेर शान्ति सबमा सौभाग्य पारङ्गत !!
राम्रो उन्नतभै समान सबको मौलाउँदै जान्छ है !
यस्तो दुर्लभ दिव्यता पृथिवीमा भेटिन्न अर्को ल है !!

सारा छन् रसिला जलाशय अनि छन् जङ्गलै सुन्दर !
पाईन्छन् नवरत्न औ मणिसरी खोजौं न भित्रै तर !
बन्ने हो जब धानको भुस झिकी मीठो त्यही चामल !
गर्नू उद्यम साहसी किसीमले फल्नेछ नौलो फल !!


पौवा पाटी पवित्र छन् हिमगिरी उचोपना झल्किने !
लाखौँ वृक्ष वनस्पति प्रकृतिका छन् सम्पदा टल्किने !!
गौरी शंकर हेर्दछन् हरघडी त्यो दु:खमा संझिनु !
लेखेँ आज बुझेर दिव्य जसको माग्छु क्षमा है दिनु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *