किन

कवि
कवि

सीएम निरौला,
न्यू ह्याम्पशायर, अमेरिका

…भनेपछि आज पनि
एक छाक छाड्नै पर्ने रे;
अनि जनै पनि फेर्नैपर्ने रे !

कागका बथानमा बिचरा तिनी
अब यो कलिलै उमेरमा
बकुल्लो बन्नु पर्नेछ;
रहर कहाँ हो र ?

अब ढेडुहरु सल्बलाउने छन्
चितुवाहरूको गिद्दे नजर लाग्नेछ-
अनि अब उसो उनले पनि आफैँ जन्मेको,
आफू हुर्केको र आफैँले बनाएको त्यो समाजमा
सदादिन अग्नि परीक्षा दिनुपर्ने छ !

अब आफैँदेखि अनि आफ्नै छायाँदेखि
डराउनेछिन् उनी;
सहारा र न्यायको भिख माग्दा
कयौंपटक लुटिनेछिन् उनी !
अनि फेरि पनि हामी
ठुलो स्वरमा आफ्नै शैलीमा
सोधिरहने छौँ-“तेरो औकात?”
“ए नकचरी, लोग्ने टोकिस्”
भन्ने आरोपहरू लगाइरहने छौँ !

ए सबैको नजरकी ‘दोषी’
तिमी नै भनिदेऊ…….
यो पुरुषवादी समाजलाई-
तिमी पनि कसैकी छोरी उसकी जस्तै
कसैकी बहिनी र बुहारी-
किन यस्तो भेदभाव,
अनि किन बक्रदृष्टि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *