गजल-२९०
ईश्वर प्रवासी
अमेरिका
मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु
चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु ।
वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई
टोलाएर एक्लै शून्यतामा, आफैँभित्र हराउँछु ।
बेचैन भो जिन्दगी आज, फिक्का लाग्छ सपना
बिहानी होला भोलि फेरि भन्दै, आशाको फूल लहराउँछु ।
नियती पनि किन यति कठोर, दशा खन्याउँछ मै माथि
दिएर कर्मदान सर्वस्व मेरो, अरूको झोली भराउँछु ।
घृणित छु तिम्रा लागि म, बनाइदेउ उपहासको पात्र
कसर छैन बाँकी गर्न तिमीले, अझ त्यही हेर्न मन पराउँछु ।