गजल-३०८
ईश्वर प्रवासी
अमेरिका
आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन्
रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् ।
खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न
फिर्ता ल्याऊँ कसो गरी खुशी मेरो, दुःख बाँडेर जान्छन् ।
लाखौँ छन् देख्नलाई दुनियाँमा, नजर दिएर जाने
सुम्पिदिऊँ कसरी मनको बगैँचा, फूलै माडेर जान्छन् ।
बेग चल्दछ मनमा बेस्सरी, भोगेर जीवनको यो दुर्गति
स्वार्थ सिद्ध गरेर आखिर आफ्ना, पसिना काडेर जान्छन् ।
चित्त बुझ्दैन कसै गरी मनमा, आशा पाल्दछु चन्द्र छुने
जो जो आउँछन् हसाउँन यहाँ, सम्बन्ध भाँडेर जान्छन् ।